रसुवाली कवि

म आँधी स्वरहरूमा 
स्वर मिलाइरहेको बतासको एक झोक्का हुँ 
म अग्लो विभेदकारी पर्खाल भत्काउन 
उदत्त एक मुक्ति पथिक हुँ
म एकाइसौ शताब्दीको सिङ्गो मान्छे हुँ 
म भीम विश्वकर्मा हुँ

मैले चाहेको हुँ 
तिम्रो विभेदकारी मन्दिर भित्र छिर्न 
तिम्रो नरकभित्र कैद देउतालाई 
चाहेकै हुँ ,
एक्काइसौँ सदीको मान्छेको आक्रोश देखाउन 

म देउतालाई उसको बाउ चिनाउन चाहन्छु 
म देउतालाई उसको इतिहास बताउन चाहन्छु 
म देउताको बाउ हुँ 
म भीम विश्वकर्मा हुँ 

म अब झरीले कुटिएको सयपत्री बन्न सक्दिन 
म अब रगत लत्पिएको पैताला बन्न सक्दिन 
म अब तिम्रो आँगनमा उभिने कामी बन्न सक्दिन 
मनु स्मृतिका पानाहरूमा खुलेआम पिसाब फेर्दै 
म आएको छु चौडा सडकमा 
म आन्दोलन हुन आएको हुँ 
म युद्ध बन्न आएको हुँ 
वर्ण व्यवस्थाको छाती म हिर्काउन आएको हुँ
एक्काइसौँ शताब्दीको सुदर्शन चक्रले 

म मरे 
मेरो बलिदानको सम्मानमा  उठेछन् 
हजारौँहजार मुठ्ठीहरू 
मेरो बलिदानले 
तिम्रो हत्यारो मस्तिष्कमा 
रगतका टाटाहरू टास्नेछ 
तिमी अर्धमुर्छित भएर 
युगौँयुग रोगी सभ्यता बाच्नेछौँ 
तिमी घाउ भएर हजारौँ वर्ष दुख्नेछौ 
तिमी शोक हजारौँ वर्ष रुनेछौ 
म मल्हम हुनेछ 
पोलिरहेका घाउमा टासिनेछु 

म सुन्दर कविताका हरफहरूमा ज्यूँदो रहनेछु 
म जनताको इतिहासमा म स्वर्ण अक्षरमा कुदिनेछु 
म सदासदा युग चराले गाइरहने अजर गीत हुनेछ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार