'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २३

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, मनोज विश्वकर्मकाे कविता – 'तिमी सँगसँगै रहेर’


तिमी सँगसँगै रहेर।।।
म रूखहरू उभिएँ/म बीजहरू उम्रिएँ
म फूलहरू फूलेँ/म बतासहरू फैलिएँ

बगेको छु म 
र 
बाँचेका छौ तिमी ।

थोपा भएर तिमीसम्म
रहेको तिम्रो प्रत्येक थोपा अस्तित्व मै हुँ !

लहर भएर तिमीसम्म
बगिरहेको तिम्रो अविछिन्न प्रवाह मै हुँ !

नदी भएर तिमीसम्म
बाँचिरहेको जीवनको पहिलो प्यास
हिँडिरहेको सभ्यताको एकेक पदचाप

हुँ एकमात्र साक्षी
धरतीमा पहिलो पटक गाइएको गीतको
लेखिएको प्रथम प्याराग्राफको !

तिमी सँगसँगै रहेर।।।
चुच्चो चोपलेर चिरबिराइरहेका चरा भएँ
'सेता जिराफ'को अन्तिम सास अंकित शालिग्राम भएँ

तिमी सँगसँगै रहेर
बगेँ/जमेँ/पग्लिएँ

तिमी सँगसँगै रहेर
दुबो भएँ/स्मृति भएँ/स्मारक भएँ

तिमी सँगसँगै रहेर......
यी जल्दै गरेको नदीर यी फैलिँदै गएको बगर
यो तातिँदै गएको धरतीर ती डुब्दै गएका माल्दिभ्स
तिमीद्वारा लेखिएको सब से उदास कथा भएँ....

हाम्रो प्रेम(कथामा
यति बीभत्स ट्राजेडी लेख्ने तिमी नै हैनौ ?

चपुर, रौतहट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार