मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

प्रत्येक महिना
प्रत्येक महिलाको महिमा
लाल सागरबाट बग्ने पवित्र जल
यस धर्तीमा बग्छ, पीडा दिएर
केही दिन रङ्गगाउँछ
संसारलाई भुलाउँछ
यो पृथ्वी सजाउँछ
थुप्रै रहर र कहर सहित ।

लाल सागरभित्रको रजस्वला
प्राकृतिक लालज्वाला
वसन्त ऋतुको गर्भको गर्व हो
जननी स्वच्छता प्रतीक हो
रजस्वलाको बन्दको छन्दले
यो पृथ्वीलाई नवीन उपहार दिन्छ
उत्साह दिन्छ, ऊर्जा दिन्छ 
एउटा अमूल्य सम्भावना दिन्छ ।

छाउको लाल सागरभित्र
छाउको आलो घाउभित्र
नौ महिना नबसेको
पैडिएर जीवन दर्शन नगरेको
रजस्वलाका लाल टीका नलगाएको
त्यो लाल जल रसास्वाधन नगरेको
मानव को होला र ?

तर पापी मान्छे
नदी पहाडलाई पुज्ने मान्छे
मुसा भ्यागुतालाई मान्ने मान्छे
अक्सर तिमीलाई सार्न खोज्छ
पर छाउगोठमा, भान्सा मन्दिरमा
नचल्ने नमिल्ने कहलाउँछ
झुक्न लुक्न चुपचाप बस्न
केही रात चिसो चखाउँछ
भन्छ कुल रिसाउँछ, अबुझ मान्छे  ।

ए पापी दुष्ट हो !
तिम्रो पहिलो जीवनजल
तिम्रो पहिलो प्रवेशद्वार
त्यहीँ रगत बगेको बाटो हो
तिम्रो जन्म त्यहीँ रगतका थोपा
एक भएर मिलेर भएको हो
हामी मानव बनेको त्यसबाट हो
अब के गर्छौं ?
कति बार्छौ/सार्छौ ।

कति ढोंग देखाउँछौ ?
कतिको मृत्यु हेर्छौ ?
कति बालकलाई अनाथ बनाउँछौ ?
गोठका सर्प र घरका कुल सर्प
कति पाल्छौ ?
निर्दोषको लास कति फाल्छौ ?
तिम्रो नशानशामा त्यहीँ रगत बगेको छ
सारा संसारले देखेको छ ।

कति लुकाउन खोज्छौ
कति झुकाउन खोज्छौ
आफ्नै आमा दिदीबहिनी र छोरी
अब देखाउ, दियोले सजाउ
अकालबाट आमा चेली जगाउ बचाउ ।

रजस्वलाका आला घाउका टाटा
हाम्रा टाटा, सृष्टिका टाटा
सृजना र सभ्यताका राता टाटा
लाल सागरका टाटा
छाउलाई पर होइन पूजा गर
छाउगोठमा होइन मस्तिष्कमा राख
मनमा राख, मन्दिरमा राख
पर होइन पवित्र मान !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार