‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला - ४

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि नवराज कार्कीको कविता– ‘कालीगण्डकीः चार टुक्रा’

()
ओरालो छ यात्रा जीवनको, नदीजस्तै 
अविरल बहन्छ नदी पनि, दिनजस्तै 
नदी उही हो, दिन उही हो, तर हैन
नयाँ लाग्छ हरेक दिन, त्यो नदीजस्तै ।

()
थाहै छ, के हुन्छ यदि, नदी बहुलायो भने 
नदी पनि बहुलाउँछ नि, मान्छे बहुलायो भने 
आफ्नै सुरमा बग्न देऊ, पवित्र गंगालाई 
नदी रिसाउँछ थुन्यो भने, कतै कोट्यायो भने ।

()
गाईलाई पूजा गर्नेकै गाईहरू कुपोषित छन् 
नदीलाई पूजा गर्नेकै नदीहरू प्रदूषित छन् 
केही भएन खै ? पूजा र प्रवचनले 
जहाँ रामहरू उपेक्षित छन्  र रावणहरू विभूषित छन् ।

()
माया हो छेपाराले चाटीचाटी, दर्शन ढुंगालाई चम्काउँछ 
माया हो  छालले काटीकाटी, कालीले शालिग्राम बनाउँछ 
चोटहरू तिखो छिनाकै भए पनि, मायैमायामा दिनाले
ढुंगो पनि मूर्ति बनेर मुस्कुराउँछ। 

० ० ०

© नवराज कार्की
(म्याग्दी, हाल अमेरिका)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार