मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

पर क्षितिजबाट योद्धा
विजयको बिगुल फुक्दै
झुकेको शिर ठाडो पार्दै
च्यात्तिएको मन सम्हाल्दै
भाँडिएको एकता मिलाउँदै
ऊ उभिएको छ बोलिरहेको छ सुनाइरहेको छ ।

एउटा अन्तिम युद्ध लड्ने मन छ
हाँसीहाँसी सहिद हुने मन छ
यी असमानता हीनता चिर्ने मन छ
विभेद भयत्रास जित्ने मन छ
शिर ठाडो, छाती चौडा पारेर हिँड्न मन छ
हात साथ पाएर एक हुने मन छ
सँगसँगै विभेद, अहंकार, मार्ने मन छ
जलाउने बगाउने खाडलमा पुर्ने मन छ ।

मैले भागेको सहेको देखेको
जातको खेल, सम्बन्धको खेल
भित्र बाहिरको जालझेल 
कथित संरचनाको जालो
नक्कली सद्भावको मुकुट
संरचनात्मक अन्धताको कालो बादल
समानताको बारुदले ध्वस्त पार्ने मन छ।

यी असमानता विभेदलाई
अणु बमले  सिध्याउने मन छ
पूर्णतः विनाश होस्
ताकि कहिल्यै यो धर्तीमा नदेखियोस्
मैले जस्तै कलिला कोपिलाले भोग्न नपरोस्
पर बस्न नपरोस् , ढोका बन्द नहोस्
बहिष्कृत हुनु नपरोस्
जातकै कारण कहिल्यै रुन नपरोस्
प्रेमिल मन हत्या जातले नगरोस् ।

मित्रता भाईचारा एकताको टाकुरामा उभिएर
यी सामान्ति अतिवादीको शेष
छट्पटिएको, चिच्याएको ,माफी मागेको
तमाम अपराध स्विकार्दै धिकार्दै
पुकार्दै गल्ती गर्यौ लैजाउ भनेको
चीत्कार ग्लानी सुन्ने हेर्ने र सँगसँगै
अस्तित्व समाप्त भएको हेर्न मन छ ।

यो लडाइँ अन्तिम बनाउने मन छ
कालो इतिहास भएको पढ्ने मन छ
कुरीति कुसंस्कार कुविचार
अतिवाद जलाएर आगो ताप्ने मन छ
जातिवाद, नातावाद, कृपावादलाई
आरनमा सदाको लागि पगाल्ने मन छ
फाटिएका मनलाई एकताको धागोले सिलाउने मन छ।

हो एउटा यस्तो युद्व जित्ने मन छ
कालजयी युद्ध लड्ने मन छ
जहाँ गरिब मजदुरको जित होस्
समाजवादको जित होस्
मानवताको जित होस्
समानता समता सामाजिक स्वतन्त्रता जित होस्
देहत्याग गर्नै परे हाँसीहाँसी त्याग्ने मन छ
सबैका मुहारमा हाँसो छर्ने मन छ
मरेर पनि जित्न सकियोस्
बस् एउटा युद्ध लड्ने मन छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार