मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

कठै कर्नाली
तो हाँस्याको परका मान्ठले बुझ्याँनन्
तो बगेको, नाच्याँको, फक्रेको सत्ताले पत्तै पाएन
तर प्रकृतिले बुझेँको छ, सम्झेँको छ
र त सँगसँगै बाँचेको छ, नाँचेको छ
गाएको छ, उत्सवको जिन्दगी ।

गरिबीको गर्भबाट नेपाल नियाल्दै
चाउरी परेका छालाले सुकिलामुकिला हेर्दै
हिमालपहाड नदीले धन बोक्दै
जुग बित्यो, बग्यो, पछुताउँदै धिक्कार्दै
गरिबी भूगोल र दूरीको नाममा ।

अथाह सम्भावनाका बीच
राज्यको कर्के नजरलाई नजरअन्दाज गर्दै
अभाव दबाब प्रभावलाई ढाक्दै
शासकलाई चुनौती दिँदै हाँसेर बसेकी छिन्
कोमल हृदयमा सपना बुन्दै ,
आफ्नो समयको पर्खाइमा बसेकी छिन् ।

कर्नाली आफ्नै गतिमा बगेकी छिन्
वर्षाैंदेखि पीडा बोकी हाँसेर बसेकी छिन्
अमूल्य प्राकृतिक धन काखमा साँचेकी छन्
आशा भरोसा मनमा सँङ्गालेकी छन्
आफ्ना रहर ऊर्जालाई बचाएकी छिन्
बेलाबेला हिमा तिलालाई सोध्छिन्
शासक जिउँदै छ कि निन्द्रामा भनेर ?
कान्जिरोवा चिच्याउँछ, कता छस् भनेर ।

मान्ठले कस्तुरी कर्नालीलाई चिनेनन्
कति इसारा गरिन्, देखाइन्
राराको राग, से-फोक्सुन्डो साथ
कान्जिरोवाको काँध र विशाल हृदयबाट
उहीँ ऊर्जा लय र छन्दमा झक्झकाइ रहिन् ।

दोषी चस्मा लगाउने साशकले वास्तै गरेन !

कान्जिरोवा हाँसेको, रारा नाँचेको,
फोक्सुन्डोले गाएको, रङ्गीचङ्गी फूलले सुसेको
सत्ताले बुझ्दैन् शासकले सुन्दैन
काठमाडौँ तला गन्दै मख्ख छ
धरहरा, रानीपोखरी बनाउन व्यस्त छ
ऊ कर्नालीको विशाल प्राकृतिक देन देख्दैन,
उसलाई मतलब पनि छैन  ।

सत्ता साशकको आफ्नै चस्मा छ
कर्नालीको करङ, फुस्रो रङ्ग देख्ने
सुनबुकीको सुगन्ध, नदीको छन्द
जडीबुटीको समाचार, इतिहासको रैबार
हरिया भव्य लेकाली पाटनको पुकार 
शासकको कानमा पुग्दैन
आँखाले देख्दैन, चिन्दैन, बुझ्दैन
त्यो चस्माले असली कर्नाली देख्दैन ।

काठमाडौँलाई अचम्म लाग्ला,
कर्नाली हाँसेको देख्दा सुन्दा
एकछिन रन्थनिन्छ, अल्मलिन्छ चकित पर्छ
कर्नालीको असली रूप देख्दा
ए, यस्तो पनि हुन्छ भन्दै, छक्क पर्दै
अचम्म मान्दै हिन नजरले हेर्दै
आहा! यस्तो छ भन्दै ढोंग हाँसो हाँस्छ ।

वर्षौंदेखि उसले देख्ने
भोक रोग शोक थियो
अभाव दबाब प्रभाव थियोे
दुख पीडा चित्कार थियो ।

तुइन तुसारो तमासा देख्थ्यो 
शासन सत्ता इज्जत प्रतिष्ठामा भुल्थ्यो
खाल्डाका मान्ठ अनौठा छन्
यिनका चस्मा अनौठा छन्,
हाँसो देख्दैन, राम्रो देख्दैन
दुःख पीडामात्रै छानीछानी भेट्छ  ।

अक्सर उसले चिर्छु भन्दै
भयंकर गफ दिँदै सपना बाड्थ्यो
अर्बौंको स्रोतसाधनलाई लात हान्दै
झिंगा भन्केको तस्वीर विदेशीलाई देखाउँदै
रकम ल्याउँदै, खाँदै भोका पेटको रिपोर्ट बनाउँथ्यो
उसले चिने जानेको यहीँ थियो ।

त्यो देख्दा कर्नाली रुन्छिन्
तर शासक गद्गदी हाँस्छ
कर्नाली रुवाउन शासक पल्केको छ
पीडा बेच्न माहिर भएको छ
चन्दा बटुल्ने मज्जाले सिकेको छ ।

र त अथाह सम्भावनामाथि लात हान्दै
गरिबी देखाउँदै, भूगोलमाथि दोष थुपार्दै
अनमोल कर्नालाई हेप्दै गार्‍हो छ भन्दै लुकेको छ
ढाँटेको छ, छलेको छ, लुटेको छ, पन्छिएको छ ।

अब कर्नालीले सहन्न भनेकी छिन्
जालझेल छलकपटको हिसाब राख्छु भनेकी छिन्
सबैलाई सुनाउनु, बुझ्नु भनेकी छिन्
सुनामी , भूकम्प , बाढीको चित्र हेर्नू
मेरो तागत के छ बुझ भनेकी छन् ।

प्रिय साशक चित्र हेर्ने कि ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार