यात्रा मलाई जीवन जस्तै लाग्छ र जीवन पनि अनेकौँ यात्राहरुको एक संगालो मात्रै हो  । जीवनमा यात्रा र यात्रामा जीवन  एक समानान्तर प्रकृया हो । त्यही यात्रामा जीवन खोजाइको क्रमसँगै  म हरेक नयाँ ठाउँहरु पुगिरहन रुचाउँछु । नयाँ ठाउँ, त्यहाँको परिवेश र संस्कृतिले  कतै न कतै जीवनमा नौलो अनुभूति तथा आयामहरू सिकाइरहेको  पाउँछु र त्यो मेरो लागि एक राम्रो उर्जा पनि हो । यात्राको क्रममा नहत्तारिनु  र आफुलाई त्यहाँ पाउनु मेरो व्यक्तिगत स्वभाव हो । त्यसैले यात्रामा मलाई गन्तव्यले कहिल्यै हतास बनाएन, तर गन्तव्य पुग्नुअघिसम्मको प्रक्रिया मेरो लागि सधैँ महत्वपूर्ण रहन्छ । यात्रा जसमा सुख, दु:ख, कठिनाइ, संयोग, थकान, भोक, तिर्खा, उत्साह, उमंग जस्ता जीवनका हरेक तत्वहरु जीवन्त रहने र गन्तव्यको उत्साहले पनि जिस्क्याईरहने भएकोले म आफुलाई आफु भएको अनुभूत गर्दछु ।


 यही अनुभूतिहरूको संगालो गोसाइकुण्ड यात्रामा पर्ने 'लौरीबिना' भन्ने ठाउँसँग पनि जोडिन पुगेको छ । 'लौरीबिना'  गोसाइकुण्ड  यात्रामा  पर्ने  एकदमै महत्वपुर्ण ठाउँ हो । किनभने यहाँ पुगिसकेपछि गोसाइकुण्ड यात्राको अन्तिम खड्गो नै पार भएको अनुभूत हुन्छ । समुन्द्री सतहबाट लगभग चार हजार मिटरको उचाईमा रहेको 'लौरीबिना' काठमाण्डौँबाट धुन्चेसम्मको एकदिने गाडीको यात्रा गरि भोलिपल्ट बिहानै पैदल यात्रासँगै  आउने ठाउँहरु  क्रमशः देउराली , धिम्सा , चन्दनबारी (सांगोपा ) , चोलांगपाटी  हुँदै यात्राको तेस्रो दिन पुग्न सकिन्छ  । आदिमकालमा भगवान शिवजीले गोसाइकुण्ड जाने क्रममा यस ठाउँमा लौरो छोडेर गएकोले यस ठाउँको नाम 'लौरीबिना' रहन गएको हो, भन्ने किम्बदन्ती रहेको छ| त्यसैकारण  यहाँ प्रत्येक बर्ष जनैपुर्णिमाको दिनमा मानिसहरु आउने  लौरोसँग नाचेर लौरो पर्व मनाउने र अन्तिममा लौरो चढाएर जाने गर्दछन  । गोसाइकुण्ड पुगेर फर्किँदा आफुले लगेको लौरो 'लौरीबिना' मै छोड्नुपर्ने नत्र यात्रासिद्धि नहुने भन्ने विस्वाससँगै कैयौं यात्रीहरु अझै पनि त्यहीँ लौरो छोडेर आउने गर्दछन् । किम्बदन्तीको सत्यता  आफ्नो ठाउँमा छ, तर यात्राको भौगोलिक बनावट हेर्ने हो भने 'लौरीबिना'  पुगेपछि ठाडो उकालो सकिने र तेर्सो यात्रा सुरु हुने हुँदा लौरोको सहायता खासै नपर्ने अथवा लौरो बिना नै यात्रा गर्न सकिने हुनाले पनि त्यहाँ लौरो छोडेर जाने चलन भएको र त्यसैबाट  अपभ्रंश भई 'लौरीबिना' नाम रहन गएको पनि हुनसक्छ। सदियौंदेखि अटल रहेका चट्टानले भरिएका पहाडहरु हेर्दा अहिल्यै झरिहाल्ने जस्तो देखिए पनि अहिलेसम्म कुनै पनि दैविक प्रकोप अथवा विनाशकारी भूकम्पले केहि असर नगरेको त्यहाँका होटल व्यवसायी बताउँछन् । लौरीबिनाको अर्को महत्व भनेको त्यहाँ रहेको बौद्ध मन्दिर पनि हो , त्यहाँका मानिसहरु त्यहीँ बौद्ध मन्दिरमा पुजा गर्छन र अहिलेसम्म कुनै प्रलय नहुनुको श्रेय यिनैलाई दिन्छन । यात्रामा लौरीबिनाको  आगमन सँगै पारीबाट गणेश हिमाल, लाङटाङ हिमाल र  लोरूंग हिमाल यात्रीहरुको स्वागतको निम्ति तल्लिन देखिन्छन् । बिहानीपख  यिनै हिमशृंखलामा ठोक्कीएका  सुर्यका  किरण यात्रीका लागि एक नविन उर्जा बन्न पुग्छ र त्यसै उर्जाका साथ यात्रीहरु गोसाइकुण्डतर्फको यात्रा तय गर्छन् | हामी पनि चौरीको बाक्लो चियाको चुस्की लिईसकेपछी  बिहानीको सुर्यको किरणसँगै  आफुलाई पारीबाट हिमालहरुमा प्रतिबिम्बित गर्दै त्यहाँबाट गन्तव्यतिर पाइला बढाउन थाल्यौँ | यही यात्राको क्रममा लिइएका केहि तस्बिरहरु तल प्रस्तुत छन् ।





















यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...