प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

हामी अन्नपूर्ण बेसक्याम्प यात्राको पाँचौँ दिनमा थियौं । बिहानै उठेर देउरालीबाट दुई घण्टा उत्तर लागेपछि हामी पुग्यौँ - ग्लेसियर भएको ठाउँमा । जुन सयौँ बर्सअघिदेखि यथावत् थियो । अनुभवीहरू भन्थे, 'यो कहिलेदेखि छ थाहा छैन तर सुरुमा जसले देख्यो यस्तै थियो रे ।' झन्डै अरिङ्गालको गोला जस्तो । गुफा जस्तो । के के जस्तो । कुनै निश्चित दूरीबाट हेर्दा फणा फुलाएको गोमन सर्प जस्तो । विश्वास/अन्धविश्वास । आस्था न हो, स्थानीयहरूले नागको रूपमा पनि पूजा गर्ने रहेछन् ।



हामी पनि रहस्यमय त्यो स्थानको नजिक पुग्यौँ । छेउमा पुग्दा केही फाटेको वा पड्केको सानो सानो आवाज आएको महसुस हुन्थ्यो । लाग्यो गर्मीले आइस पग्लिँदै छ वा चर्किँदै छ । केहीले फोटो खिचे । केहीले भ्लग बनाए । केहीले मज्जाले छामे । यही ग्लेसियरभित्र ठुलो गुफा पनि थियो । स्थानीयहरू भन्थे “यो भित्र पस्नु हुन्न । आजसम्म कोही पनि पसेका छैनन् । खतरा हुन्छ ।” उसो त हाम्रो समाजले साह्रो, गाह्रो आफूले नबुझ्ने, पत्ता लगाउन नसक्ने धेरै कुराहरूलाई खोज्नुको सट्टा कि त देवताको, कि त भूतको ठाउँ भनेर छोडेका धेरै यर्थातताहरू छन् । त्यतातिर अहिले नजाऔँ । त्यहाँ सयौँको हाराहारीमा यात्रीहरू थिए तर साँच्चै कोही पनि भित्र पस्न मानेनन् । 

हरेक व्यक्तिको आस्था, विश्वासप्रति उच्च सम्मान एवम् सद्भाव छ मेरो । यद्यपि मलाई 'त्यो गुफाभित्र पस्नु हुँदै'न भन्ने कुराले 'पस्नै पर्छ' भन्ने उत्प्रेरणा मिल्यो । सायद ग्लेसियर जतिबेला पनि झर्न सक्छ, भत्किन सक्छ र कुनै अप्रिय घटना घट्न सक्छ भनेर हुनसक्छ स्थानीयले यो विश्वास स्थापित गरेका । ग्लेसियर केही क्षण नियालेपछि बेसक्याम्प पुग्ने चटारोले साथीहरू बाटो लागे । म पनि पचास मिटर जति हिँडे तर मन भने गुफाभित्रको पस्न पाए हुन्थ्यो भन्ने कुरामा अल्झिरह्यो । भित्र पुग्दा कस्तो होला ? त्यो भित्रबाट बाहिरको तस्बिर लिन पाए कस्तो हुन्थ्यो । फेरि सोचे साँच्चै ग्लेसियरको कुनै भाग झर्यो भने ? 

अन्तिममा निर्णय गरेँ । लेखान्त यहीसम्मको छ भने ठिकै छ । ‘नत्र त्योभित्र पसेको भए’ भन्ने अतृप्त जिज्ञासाले जीवनभर रेटिरहनेछ । बरु जे पर्ला पर्ला ठानेर साथीहरूलाई छोडेर पछाडि फर्किएँ । पसेँ गुफाभित्र । मनको डरलाई रहरले जित्यो ।



पहाडी चेपमा चारैतिरबाट आएका सबैप्रकारका आवाजहरू गुफामा एकमुस्ट प्रतिध्वनित भएर गुन्जिदा अनौठो, रहस्यमय, त्रासदी सबै प्रकारको ध्वनि सुनिँदो रहेछ । सायद ब्रह्माण्डको आवाज पनि यस्तै हुँदो हो । अस्तित्वको स्वरपनि यस्तै हुँदो हो, सम्झेँ । तीस मिटर जति लामो हुनुपर्छ गुफाको लम्बाई । म अन्तिम भित्तासम्म पुगेँ । यो मेरो दम्भ, साहस, रहर सबैको परिणाम थियो । केही तस्बिरहरू खिचेँ । सोचे ‘ग्लेसियर झरेर थिच्यो र मरेछु नै भने पनि लास पक्कै खोज्लान्, आइस हटाउलान् र भेट्लान् आफूसँगै यो क्यामराको चिप्स । अनि हेर्लान् र देख्लान् गुफाभित्रबाट बाहिरको दृश्य यस्तो देखिन्थ्यो भनेर’ । हुन त त्यसवेला मनमा चलेको भावना मात्र थियो यो । फोटोग्राफीको लतीहरूमा यस्ता सानोतिनो पागलपन, सन्कीपन सायद धेरैमा हुन्छ होला । तस्बिर लिएर गुफाबाहिर निस्किएपछि मन खुसीले ढक्क फुल्यो । अतृप्त रहर बाँकी रहेन । 

लामो श्वास फेरेँ । लागेँ, माछापुच्छ्रे बेसक्याम्पतिर । दशमिनेट जति मास्तिर उक्लिएको के थिएँ । मुखमा सिटी र हातमा झ्याम्पल, कोदालो बोकेर ४, ५ जना स्थानीयहरू तेज गतिमा ओरालो झरिरहेका थिए । के भयो बुझ्न गाह्रो भयो । साथीहरू भेट्न पर्ने भएकोले म अलि जोडले अगाडि बढेँ । माछापुच्छ्रे बेसक्याम्प पुगेपछि थाहा भयो । ग्लेसिययरको अगाडिको मुख्य भाग नै झरेछ । त्यसमा पोखराको दुई युवक परेछन् । एक तत्काल बितेछन् । अर्को एकको ढुकढुकी मात्र रहेछ । उसलाई चाही तत्काल हेलिकप्टर मार्फत उद्धार गरेर पोखरा लगे । संयोग पनि कस्तो । म त्यहाँबाट हिँडेको पाँच मिनेटमा यो घटना भएको रहेछ । हामी सँगसँगै गुफा नियाल्ने पाँचजना ग्रुपको भाइहरू मध्ये दुई जना परेछन् । अब भने मेरो होसले केही बेरलाई मलाई छोड्यो । म शून्य भए । रित्तो भए । होस ठाउँमा आएपछि सम्झिएँ मृत्युले मलाई नजरअन्दाज गर्यो कि, जिन्दगीले जिउने अवसर दियो ?



ग्लेसियरको अनुहार भत्कियो जुन उसले जन्मिँदा पाएको थियो । अब देखिने अनुहार भत्किएपछिको हो । प्रारम्भदेखि बाँचेको ग्लेसियरको रूप अब सायदै देखिनेछ फेरि । संयोगले, सन्कीपनले यत्ति चाही ठिकै गर्यो कि तस्बीरमै सही कैद गर्न पाइयो । अझ बाहिरबाट देखिने दृश्यभन्दा गुफाभित्रबाट देखिने दृश्य कैद गर्न पाइयो । सत्य कुरा गुफाभित्रबाट बाहिर नआइन्जेल भय यतिविघ्न थियो कि ममा, सायद मृत्यु पनि केही क्षण सँगै हिँडिरहेथ्यो मसँग । भयभन्दा अझ भयानक रहर थियो ममा,  सायद जिन्दगीसँगै हिँडिरहेथ्यो थियो मसँग । यसरी जिन्दगी र मृत्यु सँगै भएको महसुस त्यो वेला साक्षीभावले बोध गर्न पाएँ । जो मनभरी आँधीझैँ छ तर शब्दमा व्यक्त गर्न असमर्थ छु ।  

साहित्यकार एडगर एलन पो भन्छन्  “जीवनलाई मृत्युसँग छुट्टाउने रेखा सबैभन्दा अस्पष्ट छ । कसले भन्न सक्छ कि एउटाको कहाँ अन्त्य हुन्छ र अर्को कहाँ सुरु हुन्छ ?” 

हो, त्यही अस्पष्ट रेखामा उभिएर खिचेका केही तस्बिरहरू तपाईँलाई छाडेर अलिलेलाई म आफ्नो जिन्दगीमा फर्किन्छु ।  




यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...