प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

ओस्ट्रा । नर्वेको मध्यपश्चिम भूभागमा अवस्थित एक सानो र सुन्दर शहर । नर्वेको कुल ३५६ नगरपालिकामध्ये यो लोकप्रियताको आधारमा १०५ औँ नम्बरमा पर्दो रहेछ । दक्षिण पूर्वमा भोल्डा र उत्तरपश्चिममा ओलेसुनसँग सिमाना गाँसिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले अति नै सुन्दर छ । पहाडहरूको बीचमा मितेरी गाँस्न छिरेका साना–साना आकारका समुन्द्रहरू । मौसम सफा भएका बेला समुन्द्रमा प्रतिबिम्बित पहाडहरू । ती प्राकृतिक सौन्दर्यलाई जतन गर्दै निर्माण गरिएका आधुनिक, वातावरण, दृश्यमैत्री संरचनाहरू । यही शहर नामुद नर्वेजियन भाषा अन्वेषक, कवि, नाटककार इभार आसेनको जन्मस्थान पनि हो । 

विकसित देशहरूमा देखिएको एउटा महत्त्वपूर्ण कुरा के भने उनीहरू सुन्दर ल्यान्डस्केपलाई जस्ताको त्यस्तै सम्हालेर राख्छन् । बाँकी सामान्य, अलिक नराम्रो स्थानहरूलाई बस्नको लागि प्रयोग गर्छन् । हामी भने ठिक उल्टो यात्रामा छौँ । सुन्दर स्थानलाई आवासीय संरचनाले ढाकेर कुरूप स्थानहरू मात्र जोगाउने गर्छौँ । नदी, समुन्द्रमा पनि आवश्यकताभन्दा बढी स्थानमा पुलहरू टाँगेका छैनन् । पहाडहरूमा पनि विशेष, शारीरिक अपाङ्गता र ज्येष्ठ नागरिकहरूका लागि बाहेक अन्यका लागि बाटो, यातायात प्रयोग गर्न पाइँदैन । सबैले हिँडेरै पहाडहरू उक्लिनु पर्छ । यता हामीलाई भने प्रकृतिलाई दोहन गरेर कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैँ संसारकै अग्लो शिखरहरूमा भ्यु टावर बनाउने नाटक गर्नुपर्ने । ट्रेकिङका लागि महत्त्वपूर्ण पदमार्गहरू समेत नष्ट गरेर केबुलकार पुर्‍याउनुपर्ने । हामी दुःखीहरूलाई दुःखका अनेक कुयोजना आउँछन् ।

जुलाई पहिलो हप्ता म एक आफन्तको अन्त्येष्टि कार्यक्रममा भाग लिन पहिलो पटक त्यहाँ पुगेको थिएँ । हामी बसेको सियनवाट लगभग बसमा १५ घण्टाको निरन्तर बसयात्रा । सियनबाट बिहान ७ बजे हिँडेको ओस्लो, लिलेहम्मर, सित्रिन, भोल्डा हुँदै राती १० बजे पुग्यौँ । राती त भन्नु मात्रै पुरै उज्यालो थियो । घाम डुबेकै थिएन । समरमा रातको बाह्र बजे पनि उज्यालै हुन्छ यो स्थानमा । हामी भू-मध्यरेखाको आसपासको देशकाहरू ठिक्क दिन र ठिक्क रातसँग अभ्यस्त हुन्छौँ । यतिसम्म कि रात परेपछि निद्रा लाग्न सुरु गर्छ । यो बानी भएकाहरूलाई प्रारम्भमा गाह्रो हुन्छ । उज्यालो देख्यो निद्रा लाग्दैन रहेछ । चाहे मध्यरात नै किन नहोस् । विन्टरमा दिउँसै अँध्यारो हुन्छ र निद्रा लाग्न थाल्छ । यो बानी भन्ने कुरा पनि बडो अचम्मको र सापेक्षित हुने रहेछ । यसलाई त्याग्न र बदल्न त सकिन्छ तर समय लाग्ने रहेछ ।

आफन्तहरूले घरमा लगे । स्वादिष्ट भोजन गराए । आराम गर्नका लागि एउटा कोठा देखाए । मलाई भने निद्रा नै लागेन । किनभने बाहिर पुरै उज्यालो थियो । बानी लागेकाहरू कालो पर्दा टाँगेर कोठालाई अँध्यारो बनाएर निदाउँछन् यहाँ । मलाई भने रातको ११ बजेको उज्यालोमा घुम्ने रहर लाग्यो । त्यहाँबाट बाहिर निस्किएँ । ओस्ट्राको सेन्टु्रम (नर्वेजियन भाषामा सेन्टर) तिर घुम्न निस्किए । घामचाहिँ ओझेल परेको थियो तर उज्यालो भने प्रस्ट थियो । वरपरका पहाड, समुन्द्र बस्ती सबैसबै प्रस्ट । आधा घण्टाजति नौलो अनुभवका साथ घुमिरहेँ ।म पनि रातको एघार बजे आसपास खिचेका केही तस्बिरहरू राखेर अहिलेलाई बिदा हुन्छु । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...