प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

पहिलोपटक कुनै नामले कोमलताका साथ छोयो । त्यही बिरुवा जसले हुर्कनलाई राम्रो मलजल, वातावरण पायो भने रूख बन्छ । मान्छेको जीवन पनि त एउटा बिरुवा न हो । म पनि एउटा बिरुवा न हुँ ।  

भक्तपुर बिरुवा ।

जहाँबाट उपत्यका सबैभन्दा मिलेको देखिन्छ । उसो त उपत्यकाको 'ल्यान्डस्केप' वास्तवमा मिलेको छैन । कहीँ अग्लो, कहीँ होचो छ । यद्यपि बिरुवाबाट मिलेको देखिन्छ । सुन्दर देखिन्छ ।  



७० सालको कुरा हो । बासस्थान निर्माणको लागि न्यूनतम बजेटको, जग्गा खोज्ने क्रममा म पहिलोपटक यो स्थानमा पुगेको हुँ । कलाकार हेमन्त बुढाथोकी दाइको साथमा म र कलाकार देउकुमार राई त्यहाँ पुगेका थियौँ । त्यो समय म कपनस्थित, एकताबस्ती देउकुमारको डेरामा बस्ने गर्थें । देउकुमार केयुमा फाइन आर्टस् पढिरहेको थियो । देउकुमार भूटानी शरणार्थी शिविरवाट पढ्नलाई आएको थियो । उसलाई सहयोग गर्नुपर्ने, उल्टो म उसको शरणमा बसेको थिएँ । उसो त देउकुमार लगायत उनी जस्ता केही मेरा अनुजहरू/आफन्तहरू छन् । जसले आजसम्म पनि मेरो हरेक कदममा सहयोग पुर्‍याइरहेका छन् । उनीहरूको मप्रतिको प्रेमलाई आभार बाहेक आजसम्म मैले केही दिन सकेको छैन । जे होस् म उसको शरणमा थिएँ ।



शनिवारका दिन थियो । दिनको साढे तीन बजे । जतिबेला हामी पहिलो पटक बिरुवा पुगेका थियौँ । विष्णु चौलागाई दाजुको ट्याक्सीमा साँघुरो, कच्ची बाटो भएर घुम्दै जाँदा निक्कै टाढा महशुस भयो । नयाँ ठाउँ भएकोले केही नवीन ऊर्जा भने साथमा थियो । हेमन्त दाइको सम्पर्कमा स्थानीय अर्जुन घिमिरे दाजुसँग भेट भयो । म जस्तै सानो कदको मान्छे तर ट्रयाक्टरले बोक्ने झैँ विशाल घाँसको भारी बोकेर जंगलवाट उहाँ निस्किरहनु भएको थियो । बोली अत्यन्तै तिखो/तीतो । मनको सफा । आजसम्म मैले भेटेका मानिसहरूमा सबैभन्दा बढी नेपाली उखान, तुक्का प्रयोग गर्ने व्यक्ति । यसोभन्दा तपाईंहरूलाई उखाने राजनेता भनाउँदाहरूको याद आयो होला । वास्तवमा मानिसहरूलाई केहीबेर उचाल्न, हावादारी उखान प्रयोग गर्ने होइन उहाँ । पारम्परिक नेपाली उखान, तुक्कालाई नियमित बोलीचालीमा सामान्य तवरले प्रयोग गर्नुहुन्छ उहाँ । मैले कहिले नसुनेको, नपढेको उखान तुक्का उहाँको संगतले थाहा पाएँ । उहाँले घाँसको भारी बिसाएर हामीलाई केही घडेरीहरू देखाउनु भयो । एउटा घर जहाँ हामीले सिकुवामा बसेर मोही र भूटेको मकै खाएका थियौँ । दोस्रो पल्ट जाँदा त्यो घर भत्किसकेको थियो । घर भत्किए पनि, मानिसहरू अन्तै बसाइँ सरे पनि मिठो सम्झना सधै हाम्रो मनमा छ । जो कहिले भत्किने छैन ।



भदौ महिना । खुलेको दिन । आकाश जम्मै निलो । बादल ध्यान गर्न गुफामा थियो सायद । उत्तर तर्फ हिमालहरू लहरै खुलेका थिए । फर्पिङदेखि, नगरकोटसम्म । सुन्दरीजल, नारायानथान, ककनी, स्वयम्भु, ह्वाइटगुम्बादेखि नागढुंगासम्मको सबै भू-भागहरू यहाँबाट छर्लङ देखिएको थियो । कवि मन यसै उसै बहकियो । बसपार्कको चिया पसलमा चिया खाँदै, सामान्य गफिँदै दृश्यवलोकन गरिरह्यौँ । चिया पसल्नी दिदी झिलझिले झापाबाट विवाह गरेर आउनु भएको रहेछ । बुवाआमाहरूसँग चिनजानका । झापाली–झापाली भेटिएपछि अझ केहीबेर गफियौँ । उहाँलाई साइली दिदी भन्छु आजकल ।  



त्यही गाउँमा मन अडियो । उपत्यकामा पनि पहिलोपटक बस्न सकिन्छ भन्ने अपनत्व बोध भयो । निकै पटकको प्रयासमा हामीले सरसापट, रिनपान गरेर भएनि बास बस्ने घर त्यही बनायौँ । अर्जुन दाइका अलावा रामहरी बा, दामोदर चौलागाई, अभिमन्यु न्यौपाने, गोविन्द चौलागाई, आत्माराम चौलागाई, बासुदेव चौलागाई, प्रल्हाद घिमिरे, केदार जी, श्याम भाइ आदिलाई सम्झन चाहान्छु । अन्य स्थानीय छरछिमेकीहरूको प्रेमिल सम्बन्ध पनि सधैँ ताजा भएर उभिएको छ म मा ।



यो क्षेत्रमा स्थानीय ताजा कृषि उत्पादनहरू प्रयोग गर्नको अलावा लिच्छविकालीन अनन्त लिंगेश्वर मन्दिर, विन्ध्यावासिनी मन्दिर, गणेशमान स्मृतिपार्कहरू घुम्न सकिन्छ । यही बाटो भएर फुलचोकी, लाकुरी हाइकिङ, ट्रेकिङ पनि जान सकिन्छ । भक्तपुरको मुख्य राजमार्ग कौशलटारबाट, बालकोट, शिरुटार हुँदै बिरुवा पुगिन्छ । ललितपुर ग्वार्काेबाट लुभु, लामाटार हुँदै पनि पुगिन्छ । अहिले सूर्यविनायक नगरपालिका –१ भक्तपुर । पहिला दधिकोट गाविस । 



जहाँ हामी बस्ने घर छ, त्यो गाउँको नाम कालिटार हो । घरको आँगन, झ्याल, वरपर, बिहान–दिन–साँझ–रात, सबैतिरवाट काठमाडौँ आसपासको दृश्यहरू गज्जबले देखिन्छ । यहाँबाट देखिने सुन्दर दृश्यको अम्मली भएको छु म । जुन अम्मल पहिलो पटक यहाँको माटोमा टेक्दा शुरू भएको थियो । डिएसएलआर होस या मोबाइल । यहाँबाट देखिने दृश्यलाई प्राय कैद गरिरहन्छु । सायद आदत भएछ क्यार । लेखसँगै तपाईंले नियाली रहनु भएका फोटोहरू यिनै आदतका अपज हुन् । काठमाडौँ आसपास हुनुहुन्छ र समय छ भने ‘बिरुवा’ घुम्नलाई जान सक्नुहुन्छ । हाम्रो जिन्दगी पनि त एउटा ‘बिरुवा’ न हो । के थाहा यहाँ घुम्दा भेटिएको ऊर्जाले कतै अस्तित्वको ठूलै रूख बन्ने वातावरण पो निर्माण गर्छ कि ? 



 

प्रकाश आङदेम्बे

लेखकबाट थप...