–म स्थानीय नर्वेजीय लेखक एरिकसँग एकदिन हाइकिङ गएको थिएँ । केही घण्टा जङ्गल हिँडेपछि सानो ताल आयो । एरिकले केहीक्षण पौडी खेले । म भने पानी साह्रै चिसो लागेर खेलिन । पौडी खेलेर उनी बाहिर निस्किएपछि हामी अघि बढ्यौँ । म एक कान्ला मास्तिर उक्लिएँ, हेर्छु एरिक छैन । फेरि फर्केर उसलाई हेरें । उनी त त्यहीँ आसपास कसैले छाडेका प्लास्टिक र कागजका मसिना दुईचार टुक्राहरू सफा गरिरहेका रहेछन् ।
–म श्रीमती सानुसँग हिँडिरहेको थिएँ । गाडी सानो ट्राफिकमा पर्यो । हामीभन्दा ठिक अगाडि पुलिसको गाडी पनि थियो । थाहा भयो, एमरजेन्सी बाहेक अरू समयमा सबै व्यक्तित्व र साधनले पनि सामान्य नियम नै पालना गर्ने रहेछन्।
–अष्ट्रेलियाको क्विन्सल्यान्ड अन्तर्गत केन्स सिटीको सानो ताल एकदिन घुम्न गएका थियौँ । त्यहाँ विभिन्न प्रजातिका हाँसहरू थिए । मानिसहरू आएपछि चारो पाइने आशले हाँसहरू नजिक-नजिक आउने रहेछन् । हामीले हातको खानेकुरा दिनै लागेका थियौँ, एकजना बृद्धले हामीलाई अनुरोध गर्दै भने, “यिनीहरूलाई खानेकुरा नदिनुस्, असर गर्नसक्छ । मुख्य कुरा हामीले खानेकुरा दिने बानी गर्याैं भने यिनीहरू आफैँ चाराे खोजेर खान बिर्सिन्छन् । यिनीहरूले तालका किराफट्यङ्ग्रा र माछाहरू खोजेर खाएनन् भने प्राकृतिक सन्तुलमा असर पर्छ ।”
–केही समयअघि बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा भाग लिन साउथ कोरियामा थियौँ । एक मेट्रो स्टेशनमा पुगेपछि म र साथी अलमल पर्यौं । स्टेशनमा अलमल परेको देखेपछि कोरियन बृद्ध (प्राय रिटायर्ड जीवन बाँचेकाहरू स्वतःस्फूर्त स्वयमसेवा गर्न खटिरहेका हुन्छन् ।) ले हाम्रो समस्या बुझेर होटलसम्म नै पुर्याए । हामी नतमस्तक भयौँ ।
प्रसङ्ग देशको हो । देश भन्ने बित्तिकै हामीजस्ता उग्र ढोंगी राष्ट्रवादीहरू फगत राजनैतिक सीमाना र भूगोल मात्र सम्झन्छौँ । भूगोल त प्राणीहरूको सृष्टिअघि पनि थियो । मान्छे बनिनु अघि पनि थियो । तर, भौतिक देशको कुरा गरिरहँदा, समृद्धिकाे कुरा गरिरहँदा सह–अस्तित्व, आचरण, इमान्दारिता, संस्कार र चेतनालाई नजरअन्दाज गरिनु हुँदैन । बिग व्याङग थ्यौरी झैँ हरेक विचार, अस्तित्व र क्रियामा लागू हुने सत्य भुल्नु हुँदैन ।
घोषित त हैन तर म एक घुमन्ते हुँ । सुनाउनलाई घुमन्तेका मूल्य मान्यता मसँग छैनन् तर म आफ्नै पाराले घुमिरहन्छु । मैले घुम्ने स्थानहरूमध्ये दिवंगतहरूको चिहानघारी पनि हो । घाटले मलाई त्यति तान्दैन जति चिहानघारीले तान्छ । सायद सानोमा बाजेबोजुले चिहानघारी र घाटको बारेमा सुनाएको प्रसङ्गको प्रभाव पनि हुनसक्छ । बोजु भन्नुहुन्थ्यो, “हिँड्दाहिँड्दै राति कतै अभर परियो र बास बस्नु पर्ने भयो भने चिहानघारीमा जानु, पुरानो, ठूलो चिहान हेरेर बस्नु । भन्नु, आज म बास बस्दैछु । मलाई रक्षा गर । यदि राति अरू चिहानबाट तर्साउनलाई आए भने पनि ती चिहानको आत्माले जोगाउँछ । अरूलाई सम्झाउँछ ।” हुन त यो सामान्य बनाइएको कथ्य थियो । बालापनको मेरो दिमागमा यो कुराले चिहानप्रति जहिल्यै प्रेम जन्मायो । एकजना दिदी हुनुहुन्थ्यो, उहाँले जहिले सुत्ने बेलामा डरलाग्दो भूतको कुरा सुनाउनुहुन्थ्यो । ती भूतहरूको स्थान जहिले गड्तिरका घाटहरू हुन्थे । सायद बचपनमा त्यही कुराले असर पारेर हुनसक्छ मलाई घाटले विकर्षण गर्छ । त्यसो त घाट नै नजाने, घिनाउने, घृणा गर्ने भन्ने त होइन । चिहानघारी जस्तो घाट प्रिय लाग्दैन ।
हामीले कुरा गर्ने केही विकसित देशहरू बारबार घुम्ने अवसर पाएको छु । त्यहाँका पर्यटकीय, ऐतिहासिक, साँस्कृतिक, कला–साहित्यका स्थान अलावा म देखेभेटेसम्म स्थानीय चिहानघारी पनि घुम्ने गर्छु । मलाई लाग्छ, यो संसारमा म जहाँ आफू छु/हुँ को गर्व गरिरहेछु यो समय अगाडि जति पनि मानिसहरू/प्राणीहरू आएर गए उनीहरूको ऊर्जाको पनि योगदान छ/अर्थ छ । जो भविष्यमा आउँछन्/अज्ञात छन्, उनीहरूको पनि योगदान छ/अर्थ छ । ती ज्ञातअज्ञात व्यक्तित्वहरू जसलाई भौतिक देहमा भेट्न सकिएन । जसको योगदानका कारण यो स्थानमा म टेक्न आइपुगेको छु । अन्तरआत्माबाटै उनीहरूलाई धन्यवाद दिन पनि मलाई चिहानघारी जान मन लाग्छ । यो मेरो नितान्त व्यक्तिगत लत हो ।
चिहानघारी मात्र मृतकको समाधिस्थल होइन । पितापुर्खा, आफन्तप्रतिको श्रद्धास्थल पनि हो । जसको भौतिक योगदान, आत्मिक ऊर्जाहरूको योगदानले वर्तमान समय उभिएको सत्य हो ।
शब्दमा, चर्को स्वरमा भन्नै पर्दैन देश विकासको नारा । कामले देखाइ हाल्छ । अधिकांश विकसित देशहरूमा जसरी सहर, बजार, पार्क, बाटो, चर्च आदिलाई सुन्दर/सम्मान साथ सजाउँछन् । उसैगरी चिहानघारीलाई सम्मान गर्छन् । अत्यन्तै प्रेमिल, शान्त, सफाचट तबरले । आखिर बनाउनेले त सबै नै सुन्दर बनाउने हो नि, सम्मान गर्नेले त सबैलाई गर्ने हो नि ।
कथित राज्यको/विकासको नाममा एकल नश्लीय मनोरोगले ग्रसित नेपालका शासकले अन्य आस्थाधरहरूको पवित्र चिहानघारी मासेर/वेवास्था गरेर उनीहरूको स्वार्थ अनुकुल रङगशाला, भवन निर्माण गर्नुलाई मात्र देशको समृद्धि सोच्छन् भने त्यो दरिद्र कुन्ठा सिवाय केही होइन । नेपाल जस्तो बहुभाषी, बहुजाति, बहुसंस्कृति र विविधता भएको मुलुकमा समान सह–अस्तित्व विना केही कुरा कल्पना गर्न सकिन्न ।
बोर्डर आउट पोस्टको नाममा काकरभिट्टामा आदिवासीको समाधिस्थल मास्ने षड्यन्त्र होस् या रङ्गशालाको नाममा कमल गाउँपालिका, पाडाजुंगीको आदिवासीको समाधिस्थल मास्ने षडयन्त्र होस् किमार्थ सही होइन, हुनै सक्तैन ।
शक्ति, सत्ता, पुँजी आफू अनुकुल छ भन्दैमा अन्य जाति, पहिचान, संस्कृतिमाथिको आक्रमणले दीर्घकालीन युद्ध शुरूवात गर्छ । युद्धको भाषा जो कोहीको लागि पनि जीवनपयोगी हुँदैन । म कवि विक्रम सुब्बाको कविता सम्झन चाहान्छु (शब्द तलमाथि भए क्षमा माग्छु) ।
तिमीले आफ्नो बन्दुकलाई
मान्छेको खुन खुवाएर पल्कायौ काजी,
यसले जान्दैन कि तिम्रो खुन खानु हुँदैन भनेर
युद्धले जहिले पनि हिंसा रोज्छ । वर्तमान नेपालका कथित राजा रजौटे शासकहरूले यो कुरा मनन् गरेनन् भने, सत्ताको उन्मादले बहुलाइ रहे भने ओछ्यानबाट झर्ने बित्तिकै रछ्यानमा मिल्किने छन् र कवि सुब्बाको कविताले भने जस्तै उसले शुरूवात गराएको हिंसाको सिकार आफैँ हुनेछन् । त्यसैले कसैको आस्थामाथि खेलवाड नगरियोस् । म देश शीर्षकको आफ्नै एउटा कविता राख्न चाहन्छु ।
म भन्छु,
यो देश मेरो हो
यो सत्य तिमीलाई पच्दैन
तिमी भन्छौ,
यो देश मेरो हो
मलाई पनि यो सत्य पच्दैन
तिम्रो हुँदैन भने
मेरो हुँदैन भने
यो देश कसरी हाम्रो हुन्छ ?
हाम्रो नभए
देश, कसरी देश हुन्छ ?
त्यसैले देशलाई आफ्नो बाउको बिर्ता जस्तो सम्झनु हुँदैन । देश सबैको साझा हो भन्ने पुरानो नारा हटाएर व्यवहारमा उतार्नु पर्छ । एउटा देश समृद्ध हुनका लागि बाटो, सहर, भवन, पार्कहरू मात्र होइन नेतृत्वदेखि नागरिकसम्म सबै इमान्दार हुनुपर्छ । जति नै मै हुँ भने सबैको मृत्यु निश्चित छ । जत्रो दरबारमा बसेर हाक लगाए पनि घाट/समाधी स्थलहरू निश्चित छन् । अन्त्यमा संसारकै उत्कृष्ठ देशमध्ये एक स्कन्डेभियन देश नर्बेका केही स्थानको समाधिस्थलको तस्वीरहरू राखेर बिदा हुन्छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...