प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

न् २०१९ जुलाई २९ गते म अष्ट्रेलियाको मेलवर्नबाट नेपाल फर्किंदै थिएँ । मेरो ट्रान्जिट सिंगापुर थियो । डोमेस्टिक होस् या इन्टरनेसनल, जहाजमा मेरो रोजाई विन्डोज सिटमा हुन्छ । तास्मानिया निवासी मेरा अनुज कलाकारहरु भाइ ओवेत साम्पाङ र पवित्रा साम्बाले मलाई यसपटकको रिटर्न टिकटमा यो अनुकुलता उपलब्ध गराएका थिए । विन्डोज सिटमा बस्नको कारण धर्ति र आकाशको संगम नियाल्नु हो । कहिले आकाश , कहिले धर्ति नियाल्नु हो । लामो रुटको यात्रामा यो मेरो आदतजस्तै बनेको छ । जहाज मेलवर्नबाट, एडिलेड, एलिस स्प्रिंग(उलुरु), डर्बीको आकाश हुँदै अघि बढ्यो । उलुरु अष्ट्रेलियन भूमिपुत्र एबोरिजिनहरुको पवित्र आस्थाको प्रतीक हो । जानकारीअनुसार ५५० मिलियन वर्ष पहिलेबाट बनिन शुरु भएको संसारको सबैभन्दा ठूलो बलौटे पत्थर हो । पहिला पर्यटकहरु यस पत्थरमा चढेर तस्बिर लिने गर्थे रे । अहिले स्थानीय आदिवासीहरुको आस्थाको कारण त्यहाँ चढ्न भने दिइन्न । अष्ट्रेलियन सरकारले आदिवासीहरुको आस्थामाथि ठेस नपुगोस् भन्ने हेतुले त्यस पत्थरलाई मनपरी गर्नबाट रोक लगाएछन् । सुर्योदय र सुर्यास्त को समय घामको लालीकिरण जब यस पत्थरमा पर्छ, यसको सौन्दर्यले पर्यटकहरुलाई कायल बनाउँछ रे । यही सौन्दर्य नियाल्न लाखौँ आन्तरिक र वाह्य पर्यटक यहाँ आउने रहेछन् । म भने यसपटक त्यस सौन्दर्यबाट समय अभावका कारण विमुख भएको थिएँ । जहाजको सिटमा भएको नेभिगेटरले दिएको जानकारीसँगै म भने उलुरु नियालिरहेको थिएँ । उलुरु त ठम्याउन सकिनँ तर आसपासको भूगोल भने मज्जाले देखेँ ।

सम्झेँ, अष्ट्रेलियाजस्तो विकसित मुलुकले आदिवासीको सौन्दर्य र आस्थालाई कति प्रेमिल तरिकाले संरक्षण गरेर संसारको पर्यटक आउने थलोको रुपमा विकास गरेको छ ! यता आफ्नो देश नेपालमा भने सदीयौँ पहिलेदेखि आदिवासीहरुको संस्कृति, आस्था जोडिएको ‘खुवालुङ’लाई विकासको नाममा एक्सपायर भएको टुकुटके पानीजहाज बाह्यदेशबाट ल्याएर रमिताको लागि तोड्ने दुस्प्रयास भइरहेको छ । खुवालुङजस्ता लाखौँ सांस्कृतिक थलोहरुमाथि जानाजान प्रहार गरिँदैछ । विकासको नाममा कसैको आस्था, विश्वास र संस्कृतिमाथिको प्रहार हामीलाई सह्य छैन । 

केही समयपछि डर्बी हुँदै अष्ट्रेलियाको जमिन सकियो । सुरु भयो टिमोर सागर । जहाजको झ्यालबाट मात्र देखियो निलोको साम्राज्य । माथि निलो, तल निलो । आकाश र सागर को एउटै रंग । कहीँकहीँ फाटेका सेता बादलका कमजोर झुन्डहरु देखिन्थे । लगभग एकघण्टापछि फेरि देखा पर्यो धर्ति । अनन्त लाग्ने अष्ट्रेलियाको सुक्खा धर्ति छोडेर हरियाली पहाड सहितको भूभाग देखा पर्यो । नेभिगेटर हेरेँ । इन्डोनेसियाको आकाश प्रवेश गरिएछ । एन्टीलाइटले थोरै असहजता भयो । निरन्तर नियालिरहेँ । अचानक एक पहाडी टुप्पोमा सक्रिय ज्वालामुखीले बनाएको निलो ताल देखा पर्यो । इन्डोनेसियामा सक्रिय ज्वालामुखी भएको सुनेकै हो तर यसरी प्रत्यक्ष देख्ने मौका भने पाएको थिइनँ । जहाजको झ्यालबाट भए पनि देखियो । कुन ठाउँ, कुन ज्वालामुखी हो भनेर ठम्याउन भने सकिनँ । एयरहोस्टेसलाई सोधेँ, अनभिज्ञता प्रकट गरिन् । सिंगापुर एअरपोर्टमा केही घण्टा ट्रान्जिट रह्यो । त्यही समय लोकेसन ट्याग गरेर गूगल म्यापमा सर्च गरेँ । थाहा लाग्यो, त्यो इजेन ज्वालामुखी रहेछ । जो जावा क्षेत्र अन्तर्गतको एक सक्रिय ज्वालामुखी रहेछ । यसका बारेमा अनगिन्ती सन्दर्भ सामग्रीहरु गूगल, युट्युवभरी पाइन्छ नै । म त्यसतर्फ जाँदिनँ । मात्र, हिँड्दाहिँड्दै त्यसबेला मोबाइलको माध्यमबाट क्याच गरेका केही तस्बिरहरु यहाँ सेयर गर्न चाहन्छु ।




यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...