मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

२०७८ पुस १२ गते सोमबार फेदेन जाने पुरै तयारी अवस्थामा पौने दश बजे बिहान इलाम सोयाक् (सुर्यक्)का भदा किशोर येःक्तेनले एक्कासि फोन गर्छन् । मेरो लेख छक्कलीटार र यात्रा सम्बन्धी उनलाई पनि सेयर गरेकाले सायद खुसी भएर फोन गरेको होला भन्ने सोच थियो तर उल्टो रहेछ । दुःखको समाचार पो मलाई दिन्छन् र तुरुन्त सम्भव भए आउनु भन्ने खबरले विक्षिप्त मलाई बनाउँछ । अब भयो त ? ‘म ताक्छु मुँढोतिर, बञ्चरो ताक्छ घुँडोतिर’ भनेको यही हो जस्तो भो । फेदेन जानुपर्ने अब इलामको सोयाकतिर दगुर्नु पर्ने अवस्था बन्यो । सोयाक् (सुर्यक्)को याङ्नाम गाउँको येःक्तेन, मेरो अर्धाङ्गिनीको साक्खे कान्छी माइजूले हामीलाई छोड्नु भएछ, बिहानको साढे आठ बजे । सबै कुङ्बाहरूसँग फोनवार्ता पश्चात् हामी दुई मोटरसाइकलमा उत्तै हुइकिन्छौं ।

पुग्छौँ, सोयाक् अनि लास लिएर चिहानघारीमा लाग्छौँ । यहाँको लासका हरेक विधि संस्कारहरू मेरो गाउँसँग आकाशपातालै नमिल्ने पाएँ । यही त होला थिबोःङ् याक्थुङ्को थिबोःङ् (दश) रीत । लास दप्फन सकिएपछि बेलुका कुङ्बाहरू चन्द्र येःक्तेन्, लालबहादुर येःक्तेन, असल येःक्तेन, नरबहादुर येःक्तेन, रामबहादुर येःक्तेन लगायत थुप्रैसँग  विधि संस्कारहरूसँगै याङ्नाम गाउँ शिरको चुलीको नामबारे सोधनी गर्छु । बहस  हुन्छ । वहाँहरू सबैको एउटै अभिमत रहेको पाउँछु । वहाँहरू भन्नुहुन्छ ‘यो डाँडाको नाम त पहिले सिरी कोःक्मा भनिन्थ्यो रे । पछि तेहि सिरीलाई सिद्धीथुम्का बनाए ।’ वास्तवमा याक्थुङ् भाषामा सिरि भन्ने शब्द शक्ति वा शक्तिशाली (सिद्धी) प्राप्तिमा उपयोग हुने शब्द हुन् । कोःक्मा त डाँडा भइगयो । कसैले तिनलाई चुली पनि भन्दा रहेछन् । शक्ति प्राप्ति हुने डाँडा वा चुली वा थुम्का भएकोले नेपाली खसकरण हुँदा पनि तिनको रूपान्तरण सिद्धीथुम्का भएको देखिन्छ । यही सिद्धीथुम्का भनेर पञ्चायत, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र पुगुन्जेलसम्म पञ्चायत तथा गाविस नै रह्यो, हाल देउमाई नगरपालिकामा यो गाविस गाभिएको छ ।



लगभग पैँतालिस वर्ष पुगेजस्तो लाग्छ । कथा सुनाउने मानिसको नाम थाहा छैन । मेरो बुवा प्रधानपञ्च हुनुहुन्थ्यो र वहाँले बुवालाई खोज्दै आउनु भएको रहेछ केमा कुन्नि ? अनि घरमा केके गन्थन गर्दैगर्दा नाम्थाला डाँडाको कथाहरू चाखलाग्दो ढङ्गले सुनाए । म सानो तर कुनै पनि गफ चाख लिएर सुन्ने राम्रो श्रवणकर्ता भइसकेको थिएछु । त्यसबेला ती बुबाले  भन्नु भएको सूक्ष्म याद यस्तो छ । ‘नाम्थाला डाँडा, त्यो डाँडाबाट सूर्य उदाएको देखिने अनि अस्ताउने पनि देखिने । सूर्य उदाएदेखि अस्ताएसम्म घाम पाइरहने भएकोले त्यो डाँडालाई नाम्थाला भनेका हुन् ।’ मेरो मनमा त्यसबेला च्वास्स पस्यो । कस्तो डाँडो रहेछ, सूर्य उदाएको र अस्ताएका दुवै देखिने अनि दिनैभरी घाम एकोहोरो परिरहने साँच्चै अग्लो डाँडो होला, भन्ने बचपन बुझाई थियो । वास्तवमा वहाँले सुनाएकै आधारमा पनि त सूर्य उदाएको र अस्ताएको देख्न सकिने साँच्चै अनौठो प्रकृतिको महान् सम्पत्ति प्राप्त रहेछ । नाम्धाङ् र लाःत् भएर नाम्धाला वा नाम्थाला रहन गएको हुनसक्छ, ती डाँडाको नाम । अथवा नाम्थाधा र कुलाःलाःत्सम्म देखिने भएकाले नाम्थाला वा नाम्धाला भएको हुनसक्छ । यसै नाम गरेको गाउँ तिनै डाँडाको दखिनपश्चिम भेग मुन्तिर छ ।



याङ्नामका कुङ्बाहरुको भनाई अनुसार सिरि (डाँडा) कोःक्मा र मलाई कथा सुनाउने बुबाका कथा अनुसार नाम्थाला (डाँडा) कोःक्माभन्दा पृथक् नाम वंशावली लेखक तथा प्राध्यापक प्रेमप्रसाद लिम्बूको ‘येःक्तेन् र मोरोहाङ्, इतिहास र वंशावली’ येःक्तेन् मोरोहाङ् वंश उत्थान सङ्घले २०७४ मा प्रकाशित वंशावलीको पेज नं. ७७ मा भने याङ्नाम् (डाँडा) कोःक्मा भनेर उल्लेख गर्नुभएको छ । ‘‘याङ्नाम् गाउँमा उहिले ठुलो मूलबाटो जान्थ्यो । यो भारतदेखि हिमालसम्म जानेहरूको मूल सडक थियो । तसर्थ मधेसदेखि पैसा बोक्दै माथि ल्याउँदा यस गाउँमा पुगेर पैसाको भारी बिसाएकाले यो ठाउँको नाम ‘पैसाको भारी बिसाएको’ अथवा याक्थुङ् भाषामा ‘याङ्नाम्’ नाम हुन गएको’’ याङ्नाम गाउँकै असल येःक्तेन बताउँछन् । जे भए पनि यो डाँडाको महत्ता भने त्यहाँका आदिम जाति रैथाने येःक्तेन् याक्थुङ्हरुको नामे बुझाइबाटै अघि बढ्न सक्नुपर्दछ । आफ्नै वंशावलीमा याङ्नाम डाँडा रहेता पनि याङ्नाम गाउँकै येःक्तेनहरूले सिरि डाँडा, हामी जस्तो टाढाकाहरूले नाम्थाला डाँडा अनि यसको सट्टा चुली वा थुम्का इत्यादि नाम आत्मरसित भएर बस्नु त्यत्ति राम्रो भने होइन, मुक्कुम्लुङ् डाँडा झैँ । सम्भवतः हरेक विचारले कुन इतिहास, आख्यान र उक्तिहरूसँग मेल खान्छ । त्यसलाई प्रायः पछ्याउन राम्रो देखिन्छ ।



मैले जानेको नाम्थाला डाँडामा, यो पटकसँग तिनखेप पुगेँ । पहिले डाँडाको टुप्पीमा ठुलो ढुङ्गो, ढँड्यानहरूलाई अहिले मिलाएर सूर्योदयलाई हेर्न तलेचौघुरी वरिपरि बनाएको रहेछ । वंशावली अनुसार महागुरु फाल्गुनन्दले यज्ञ गरेको र पानी निकालेका भनेर लेखिएझैँ जल चढाएर पानी सिञ्चित र वनफेदीमा खस आर्यहरूको हिन्दु मन्दिर बनाएको रहेछ । डाँडाको पोरोःक्(मी) लुङ् (ढुङ्गा) याक्थुङ् मुन्धुमसँग तुलना गर्न सकिने चाक्कालुङ् (अग्नीढुङ्गा) रहेको छ । याङ्नामका असल येःक्तेन् भन्नु हुन्छ ‘सूर्योदय, ठ्याक्क हुने समयमा भमराहरू उड्छन् । ती भमराहरूले हामीलाई छोएमा साँच्चै सिरिशक्ति प्राप्त हुन्छ । तर मरेकाटे ती भमराहरूले छुँदैनन् ।’ वास्तवमा यो अनौठो किम्बदन्ती र यथार्थ अनुभव पनि होला । यत्ति मात्र होइन रे, लालबहादुर येःक्तेन् भन्नुहुन्छ ‘यो डाँडामा कुनै कसै अपवित्र सोचमा पुगेमा वा दुःख जुठो भएका मान्छेहरू पुगेमा अहिलेको अहिले बादल लागेर पानी फुसफुसिन्छ । पितोल हुन्छ ।’ यस्तो सामाजिक, सांस्कृतिक र वातावरणीय लोक विश्वास र परम्परा बोकेको नाम्थाला डाँडा वा सिरि डाँडा वा याङ्नाम डाँडा वा सिद्धिथुम्का डाँडाको पर्यटकीय आकर्षण हुन् भने पुरै बाँकी रहेछ ।

यो डाँडासँगै येःक्तेनहरूको किपट र भूमिसम्बन्धी अधिकारहरू खोसिएका देखिन्छन् । यो डाँडाको अधिकार येःक्तेनहरूकै थियो र हो । किनभने वरिपरि सबै जग्गाहरू येःक्तेनहरूको पुरानै सुभाङ्गिप्रथा पूर्व देखिनै भोगचलन गर्दै आएका हुन् । त्यसैले नाम्थाला वा सिरि वा याङ्नाम वा सिद्धिथुम्का डाँडाको भूमीअधिकार र किपट येःक्तेनहरूकै हो भन्ने याङ्नाम गाउँका रामबहादुर येःक्तेन, चन्द्र येःक्तेन, असल येःक्तेन, लालबहादुर येःक्तेन् स्विकार्छन् । 



समुद्री सतहदेखि लगभग पाँच हजार फिट उचाइमा रहेको यो डाँडामा अचेल सिद्धिथुम्का पर्यटकीय विकास समिति रहेछन्, देउमाई नगरपालिकाको मातहतमा । सायद, यहाँको रैथाने आदिवासी जनजातिहरूलाई अधिकारमा किनारीकरण गरेर उन्नति र प्रगतिपथमा पुग्न निक्कै गारो हुन्छ । रैथानेहरूलाई किनारीकरण वा विस्थापित गर्ने कार्यहरू थुप्रै ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक स्थान वा क्षेत्रहरूमा गरिसकेका छन्, राज्य र विशिष्ट जातियवर्गबाट तथापि यहाँ नहोस् । कामना छ । यसका लागि देउमाई नगरपालिका र इलाम नगरपालिकाको सङ्गम डाँडाको उन्नतिका लागि दुवै नगरपालिकाहरूको साझा सोचमा रैथाने आदिवासीहरूको अधिकार सहित विकासका पूर्वाधारहरू सञ्चालन गर्नुपर्छ । सर्वव्यापक प्रचार–प्रचारका विद्युतीय र छापाका माध्यमहरू अपनाएर यसको फाइदा देउमाई र इलाम नगरपालिकाहरू, यहाँका रैथाने आदिवासीहरू र सँगसँगै यहाँका आम नागरिकले पाउने नै छ । छोटो दिनको समयमा बिहान पाँचबजे उपस्थित रही सूर्योदय र बेलुका पनि साढेचार बजे उपस्थित रही सूर्यास्त अति सुन्दर तरिकाले दृष्यपान गर्न सकिन्छ । अन्तुलाई भुलाउने किसिमले रोमाञ्चक सूर्योदय र सूर्यास्त देखिने नाम्थाला वा सिरि वा याङ्नाम वा सिद्धिथुम्का डाँडालाई सबैले एकपटक चुम्न अनुरोध पनि छ ।

स्मरण रहोस्, यस डाँडाको उन्नति र प्रगतिका लागि तिनको मुन्धुम (इतिहास)लाई भुल्न हुँदैन । अठारौँ शताब्दी पछि आएका नेपाली खस भाषाको इतिहासभन्दा पहिले याक्थुङ् (लिम्बू) वा इमे (लेप्चा) भाषाका इतिहासलाई मान्यता हुन्छ, यसक्षेत्रमा । यी कुराहरूमा खुल्ला मनले स्विकारेर चाहे नाम्थाला (मैले सुनेको इतिहास) वा सिरि (याङ्नाम निवासीहरूको आख्यान) वा याङ्नाम् (येःक्तेन् वंशावलीमा उल्लेख) वा सिद्धिथुम्का (पछिल्लो नेपाली खसकरण) बारे बहस गरी स्थान नामलाई पुरानै इतिहासमा फर्काएर एकरूपता ल्याउँदा यो देशमा कुनै गृहयुद्ध आउँदैन । भारतमा पनि बम्बईलाई मुम्बई र कलकत्तालाई कलकत्ता बनाए भने बर्मा देशलाई म्यानमार बनाए, सम्भव भयो । अब पाथीभरालाई मुक्कुमलुङ् बनाउने जस्तै सिद्धिथुम्का डाँडा नामलाई पनि इतिहासमा फर्काउन यस क्षेत्रका सबै नागरिकहरू माथि अनुरोध छ । 

यहाँ पुग्नका लागि बिर्तामोडको मुक्ति चोकबाट शनिश्चरे भएर खुदुनाबारी, जेमोद्वार, शुक्रबारे गरुवा हुँदै चियाकमान, लोधीया खोला पार गरी सोमबारेबाट देब्रे साइडको मोटरबाटो भई माइखोला पुल नाघेर सोयाक् काटेर खान्द्रोङ् पञ्चमी बजार पुग्न सकिन्छ भने मेची राजमार्गको इलामको गोलाखर्क भञ्ज्याङ्बाट पुवाखोला तर्दै सोयाक् मोटरबाटो भएर खान्द्रोङ् पञ्चमी बजार पुग्न सकिन्छ तर बर्खा समय पुवाखोलामा पुल नभएकोले सम्भव छैन । अर्को मेची राजमार्गको नेपालटारदेखि मङ्गलवारे बजारको पक्की सडक पछ्याएर गाग्रेभञ्याङ हुँदै जितपुर भएर खान्द्रोङ् पञ्चमी बजार पुगिन्छ । खान्द्रोङ् पञ्चमी बजारमा सामान्य सुविधाका खान बस्नका लागि होटेलहरू पर्याप्त मात्रामा पाइन्छन् । यही बजारबाट डाँडामा जानुपर्छ । वर्तमान टेक्सि तथा कारसम्म लान सकिने कच्ची मोटरबाटो छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...