प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

बुढा सुब्बाको मन्दिरमा
त्यहीँ बाँसको घारीमा 
उनको मेरो नाम खोपदा
उनी लजाएर हेरिरहन्थिन् ।

गायक दाजु प्रताप सुब्बालाई सम्झिरहेछु माथिका हरफसहित । प्रताप सुब्बा भूटानबाट पहिलो नेपाली गीति एल्बम निकाल्ने र रेडियो नेपालमा गीत गाउने स्रष्टा । उहाँले दुई दशकभन्दा बढी समय पूर्वी नेपालको शरणार्थी शिविरमा जीवन व्यतीत गर्नु भो । आज तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिकामा हुनुहुन्छ । उहाँ अमेरिका जानुअघि हामी दमक, पथरी आसपास विभिन्न बहानमा, विभिन्न स्थानमा भेटने गर्थ्याैं । भेट्यो कि सानोतिनो गोष्ठी चलिहाल्थ्यो । हामी गजल, कविता आदि सुनाउँथ्यौँ । दाजु गीत गाएर सुनाउनुहुन्थ्यो । आफूखुसी गाउँदा आफैँले सङ्गीत भरेको उल्लिखित शब्दहरू गाउनुहुन्थ्यो । यो गीत न त रेकर्ड भयो, न त कतै जमातमा सार्वजनिक भयो । तर जब हामी भेला हुन्थ्यौँ, हार्माेनियमको सुरसँगै यसले हाम्रो हृदयको अज्ञात सुरुङसम्म तरङ्गित पार्थ्याे । कहिले नेपाल, भारत, भूटानका रमाइला, दुःखान्त किस्साहरू निस्कन्थे । यही गीत बेलाबेला गायक किशोर सिवाकोटीले गुन्गुनाएको पनि सुनेको हुँ । नेपालबाट छुटिएपछि प्रताप दाजुसँग भौतिक भेट हुन पाएको छैन । यतिबेला म भने दाजुलाई नर्बेको दक्षिणपूर्वी शहर सियानको सानो पुलबाट सम्झिरहेछु । 



यो पुल जहाँ युवाहरूले प्रेमका नाममा लुकिछिपी किसिमकिसिमका ताल्चाहरू झुन्ड्याउने गर्छन् । बुढासुब्बा धरानको बासमा भने डोरोहरू बाँध्ने चलन छ । बाँसमा प्रेमी–प्रेमिकाको नाम खोप्ने चलन छ । चाहे डोरो होस्, चाहे ताल्चा वा बाँस सारमा त उही न हो । प्रेम सफल होस, कहिले नछुटियोस् भन्ने कामनाका प्रतीक न हुन् ती सबै । युरोपमा के छ कुन्नी, नेपालमा भने सात जन्म सँगै हुनु परोसकाे कामना पनि चल्छ । सातौँ जन्म त कुन्नी यही जन्ममा पनि सम्बन्ध लामो रहिरहोसकाे कामना भाक्छन् सायद । यसरी दुई दिने जिन्दगीमा, वर्षौंवर्षसम्मको सम्बन्धको स्थायित्वको माग पनि हुन् यी प्रतीक ।



मैले युरोपमा पहिलोपटक आधा दशकअघि पेरिसको एक पुलमा यसरी प्रेमको प्रतीक ताल्चा देखेको हुँ । सायद त्यसलाई लभलक ब्रिजको नामले चिनिन्छ । त्यसपछि देखेको हुँ दक्षिण कोरियाको सिउल टावरमा । लभलक ब्रिजमा  अलिलि होइन, सम्भवतः पुलको बजनभन्दा बढी ताल्चाहरू झुण्ड्याइन्थ्याे । पछि समाचार पढेँ, प्रत्येक वर्ष त्यस पुलमा सातहजार पाँचसय किलोभन्दा बढी ताल्चाहरू झुन्ड्याइन्थ्यो । ऐतिहासिक पुल ताल्चाहरूको बजनले भत्कन सक्ने खतराका कारण सरकारले त्यहाँबाट ताल्चाहरू हटाएछ । त्यसपछि एकदम कडा नियम लागू गरियो पुलमा । यद्यपि जति नै सुरक्षा गरे पनि, कडाई गरे पनि प्रत्येक दिन कसै न कसैले अझै पनि पुलमा ताल्चा झुन्ड्याउने गर्छन् । आस्था, विश्वास कत्ति भयङकर, खतरनाक, प्रेमिल, घाती छ है । 



यसरी ताल्चा मार्ने चलन कसरी सुरुवात भयो मलाई यसको इतिहास थाहा छैन । तर ताल्चा युरोपमा मात्र होइन, संसारका सबै महादेशहरूका केही देशहरूमा धेरथोर लगाउने चलन छ । थाहा छैन यसरी ताल्चा जस्तै बलियो सम्बन्ध भाकेर गएका प्रेमी-प्रेमिकाहरू के अझै सँगै होलान् ? कि ताल्चाभन्दा अघि नै सम्बन्धबाट फुस्किसके ? यो पुल वारपार गर्दा यस्तो सोँचहरूले कहिलेकाहीँ मष्तिष्कमा छिर्के हान्ने गर्छन् । भनिन्छ, जिन्दगीपछि सबैभन्दा बढी परिभाषित/अपरिभाषित विषय नै प्रेम हो ।



यो अनन्तः विषयमाथि मलाई धेर भन्नु छैन । मात्र आफ्नो एक ‘रुबाई’ राख्न चाहन्छुः 

पर्खाएर जानेले नै सम्झिएनन्
पूरै आयू खानेले नै सम्झिएनन्
बाचा गर्नेले सम्झिएन भनेर दुख्छौ
आफ्नो त मुटु लानेले नै सम्झिएनन् ।



अन्तमा, प्रेम सम्बन्धी विश्वप्रशिद्ध केही उद्गारहरू छाडेर बाहिरिन्छुः   

म उनलाई प्रेम गर्छु र यो हरेक कुराको शुरुवात हो । – एफ. स्कट

कसैले मापन गरेको छैन । कविले पनि, कि हृदयले कति समाउन सक्छ । – जेल्दा फिजराल्ड

प्रायः प्रेममा पागलपन हुन्छ तर पागलपन हुनुमा कारण हुन्छ । –फ्रेडरिक नित्से  

कसैद्वारा गहिराईबाट प्रेम पाइन्छ भने त्यसले प्रेरणा र ऊर्जा मिल्छ । लाओत्जु    





 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...