‘‘मृत्यु उज्यालोको अन्त्य होइन, यो केबल दियो निभाउनु मात्र हो किनकी बिहान भएको छ ।”
“तथ्य अनेक छन्, सत्य एक छ ।”
-सन्त कवि रवीन्द्रनाथ ठाकुर
दार्जिर्लिङ जिल्लाको मध्यभागमा एउटा सुरम्य बजार छ ‘मङपु’ । जहाँबाट, दार्जिलिङ बजार, सिलगुडी र कालिम्पोङ बजार सबै समान दूरीमा झैँ छन् । न त गर्मी हुन्छ न त जाडो नै । हावापानीको हिसाबले, वातावरणको हिसाबले अति नै सन्तुलित स्थान । प्रिय साथी कलाकार/साहित्यकार पुष्कर सिंगरजीको निम्तोमा होस् वा पारिवारिक कामको सिलसिलमा होस म बारबार मङपु गएको छु । यो ठाउँ मलाई सधैँ भावनात्मक र ऊर्जाको हिसाबले प्रिय छ । नेपाली कला–साहित्यको कयौँ स्रष्टाहरू जन्माउने ठाउँ पनि हो यो । कारणवश या यसै फिरन्ते हिसाबले दार्जिलिङ गएँ कि म मङपु पुग्छु नै । मेरो आकर्षणको मुख्य कारण भने अर्कै छ ।
यही क्षेत्रमा एउटा भवन छ । जसको नाम हो रवीन्द्र सदन । जहाँ कयौँपटक सन्त कवि रवीन्द्रनाथ ठाकुर आएर बसेका थिए । एसियामा पहिलो पटक नोबेल पुरस्कार पाएका स्रष्टाको कारणले होइन । साहित्य–कला, जीवन र जगतलाई बोधको उच्चतम् बिन्दुवाट नियाल्ने उनको अद्वितीय क्षमताको म कायल हुँ । उनको सादगी र सन्त शैलीको एक शुभेच्छुक पनि । सायद यसैको प्रभावले पनि हुनसक्छ । म बारबार मङपु जानु र गइरहन मन पराइरहनु । उनलाई पनि यो स्थान अत्यन्तै प्रिय लाग्थ्यो रे । जीवनको उत्तरार्द्धमा शान्तसँग साधना, ध्यान गर्न उनी यस ठाउँमा आउने गर्थे रे । यो भवन ठाकुर कै एक शुभेच्छुकको थिएछ । उनीहरूको देहान्त पछि यही घरलाई स्थानीयहरूले ठाकुरको सम्मानमा पर्यटकीय आकर्षणको रूपमा प्रयोगमा ल्याएका रहेछन् ।
हिजोआज यो आवासमा ठाकुरले आउँदा प्रयोग गरेका महत्वपूर्ण सामाग्रीहरू देख्न सकिन्छ । यसका अलावा उनले पोतेका, सृजिएका केही पेन्टिङहरू देख्न सकिन्छ । ठाकुरले पेन्टिङ आफ्नो जीवनको साठी वर्षको उमेरदेखि शुरू गरेका थिए रे । दक्षिण एसियामा मोर्डन आर्ट भित्र्याउनमा उनको ठूलो श्रेय छ भनिन्छ । यो विधाबारे धेरै बोल्न चाहन्न । जे होस उनका केही प्रतिकपी पेन्टिङ, केही ओरिजिनल पेन्टिङ यहाँका भित्तामा देख्न पाइन्छ ।
मलाई हुरुक्कै पार्ने सौन्दर्य चाहिँ बेग्लै छ । भवनका भित्तामा उनले आफ्नै हातले लेखेका केही कापीका पन्नाहरू छन् । त्यो पन्नामा केही अक्षर र केही स्केच/चित्रहरू देख्न सकिन्छ । अक्षर र शब्दलाई उनी अत्यन्तै प्रेम र सम्मान गर्थे रे । उनी भन्थे रे, “अक्षर र शब्द केरमेट गर्नु भनेको पनि उनीहरूको हत्या गर्नु हो ।” उनी प्रायः कहिले पनि केरमेट नगरी अत्यन्तै होसपूर्वक अक्षर लेख्थे रे । यदि झुक्किएर अक्षर केरमेट गर्नु परे त्यसलाई कोरेर अर्कै आकारको चित्र बनाउँथे रे । केरमेट गरेर मरेका अक्षरहरूलाई चित्रको रूपमा स्वरूप दिए तिनीहरूले नयाँ जीवन पाउँछन् भन्ने उनको मान्यता थियो रे ।
जीवन र जगत त हाम्रो दृष्टिकोणको उपज न हो । यहाँ जे छ नियमित छ, चलेकै छ । तर एक साधक, चिन्तक, स्रष्टाले सामान्य अक्षर/शब्दलाई हेर्ने यी सुन्दर दृष्टिकोण जोकोहीमा कसरी पाउन सकिन्छ । शब्द, अक्षरप्रतिको यत्ति गहिरो सम्मान/प्रेम । अहो, सुन्दा पनि नतमस्तक !
हामी त यस्तो समय, समाजमा छौँ; जहाँ बौद्धिकता, विचार, आर्दश, आस्था र नश्लको नाममा ‘स्यालको हुइयाँ’ पछ्याउने दरिद्र हनुमानगिरीको झुण्डहरू छन् । सत्ता, शक्तिको नाममा सत्यलाई निर्मम बलात्कार गर्नेहरूको दैनिक महोत्सव छ । अक्षर/शब्दको सम्वेदनाको कुरा छाडौँ । दिनदहाडै मान्छे मार्दा पनि हामीलाई एकरत्ति दुख्दैन । हामी मुर्दा उत्पादक चेतनाको डंगुरमा बाँच्नेहरू हौँ । अरूको उदाहरण दिँदै/पछ्याउँदा–पछ्याउँदै स्वयम्लाई भुल्नेहरूको जमातमा सन्त कवि रवीन्द्रनाथ ठाकुरका यी सौन्दर्य चेतले उज्यालो छर्कियोस् ।
(ठाकुरका केही पेन्टिङ र हस्तलिखित पन्नाका तस्वीरहरू)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...