अष्ट्रेलियन उपन्यासकार डोरिस पिलिङटोनद्वारा सन् १९९६ मा प्रकाशित कृति छ, ‘फलो द र्याबिट प्रुफ फेन्स’ । जसलाई आधार बनाएर सन् २००२ मा ‘र्याबिट प्रुफ फेन्स’ नामक चलचित्र बनाइयो । जसलाई फिल्ममेकर फिलिप नायसले निर्माण निर्देशन गरेका थिए । प्रस्तुत चलचित्रले सन् १९०५–१९६७ को बिचमा अष्ट्रेलियमा भएको बाल निष्कासन/अपहरण नीति को समयलाई दर्शाउँछ । उक्त समयमा आदिवासी एबोरजिनहरूबाट बच्चालाई सानैमा खोसेर क्रिश्चियन मिसनरी स्कुलमा लगि जर्बजस्ती पश्चिमा नियम, संस्कृति, धर्म आदि लादने, बुझाउने काम गरिन्थ्यो ।
अपहरणकारी चाहन्थे कि, उनीहरूलाई सांस्कृतिक पहिचानको हिसाबले तहसनहस पारियोस् । त्यो समयको पिँढीलाई अहिले पनि चोरीको पिँढी भनेर चिनिन्छ । प्रस्तुत कृति उपन्यासकारको आफ्नै आमा र उनका साथीहरू डेजी र ग्रेसीले भोगेको वास्तविक कथा हो । उनीहरू सबै दश वर्षभन्दा मुनिका थिए । अपहरित भएको ठाउँबाट आफ्नो गाउँ जिगलोंगसम्म पुग्न उनीहरूले 'र्याबिट प्रुफ फेन्स'लाई आधार मानेर, गोराहरूबाट बच्दैबच्दै नौ हप्ताको निरन्तर हिँडाई (भोकै, तिर्खै) पश्चात लगभग २४०० किलोमिटरको यात्रा पार गर्छन् । म चलचित्रको समग्रता तर्फ जान चाहन्न । चलचित्रको सृजनशील मूल्याङ्कनको पाटो आफ्नै ठाउँमा छ । यसलाई छोडौँ ।
अहिले म अष्ट्रेलियाको क्विन्सेल राज्यको सानो सहर केन्समा छु । यहाँ आफन्तहरूको निम्तो मान्न आएको हुँ । शमसेर दाइ, भिममाया दिदी, छोरीहरू बिर्ता, बिनिता र बिजुता र ज्वाइँ मिलनको निम्तो मान्न यसपटक यहाँ आएका हौँ । छोरी–ज्वाइँ बिनिता र मिलनको शुभ लगन मान्नका लागि । उता नर्बेबाट जीवनसाथी सानु पनि आएकी थिइन् । बिदाको दिन कम्ती भएकोले फर्किन् । मलाई भने बिहेको दिन बाहेक अन्य दिन पनि उहाँहरूले कुरुन्डा, पोर्ट डगलस, ग्रेटबेरियर रिफ, ग्रिनआइल्यान्ड आदि घुमाउनु भयो । जहाँ गए पनि मलाई सबैभन्दा बढी चासो चाहिँ आदिवासीमाथिको अतिक्रमण, वर्तमान आदिवासीको अवस्थामाथि नै थियो । डुल्ने क्रममा कुनै जंगल बीचको एउटा पार्कमा पुग्यौँ । सायद एकजोडी आदिवासीको बिहे भइरहेको थियो । खुसीले नजिक गएँ । पोसाक मात्र आदिवासीको थियो । संस्कार संस्कृति, अर्कै धर्मले हडपी सकेको रहेछ । मन खिन्न भयो ।
मेरो रुचि अनुसार छोरीहरूले आदिवासी सौन्दर्य झल्किने स्थानहरू घुमाउन लगे । सबैभन्दा ठूला प्रजातिका रूख र केही आदिवासीको पहिचान झल्कने दुर्लभ पेन्टिङ पनि हेरियो । केही पार्क, नदीनाला, तालतलैया, झर्ना आदि पनि घुमियो । जहाँ सुविधा सम्पन्न भौतिक निर्माणहरू सम्पन्न भएका छन् ।
धेरै जसो आदिवासीहरू आयातिक संस्कृति र आस्थामा निर्लिप्त भइसकेको छन् । कतिपय भने अझै आफ्नो पहिचानका लागि अडिग छन् । अष्ट्रेलियन सरकारले दिएका सुविधा र अपार्टमेन्टहरू सबैलाई वास्त गर्दैनन् । कतिपयले अझै पनि गोरा जातिलाई देख्दा मुख छाड्ने आदि गर्दा रहेछन् । कोही भने सरकारको पैसा थाप्ने औ चौबिसै घण्टा मातेर हिँड्ने गर्दा रहेछन् । बजार, बाटो जताततै हल्ला गर्दै ‘यो देश हाम्रो हो, हाम्रो खुसी’ भन्दै बाँच्दा रहेछन् । यी अपवादका घटनालाई छाडौँ । यद्यपि केही नयाँ पुस्ता भने आफ्नो पहिचान खोज्न र त्यसलाई संरक्षण गर्न/ब्युताउन लागि परिरहेका छन् । यो चाहिँ सुखद कुरा हो । यो अभियानमा अष्ट्रेलियाका नयाँ पुस्ता पनि सकरात्मक हुँदै आएका छन् । बुझ्दै आएका छन् । एबोरजिनहरू माथि अत्यन्तै अमानवीय र क्रुर अपराध भएको थियो त्यसलाई अब क्षमायाचना गरेर अघि बढ्नु पर्छ । करेक्सन भएर जानुपर्छ भन्नेमा सचेत भएका छन् ।
तीनै गोराहरूले भौतिक हिसाबले समृद्ध बनाएको बर्तमान अष्ट्रेलियामा टेकेर म भने उही भूमिपुत्र एबोरजिनहरूको कथा, व्यथा खोजिरहेछु । मैले बाँचेको मेरो जीवन पनि एकदम विरोधाभाष लाग्छ म स्वयंलाई । गजलकार भाइ दुर्गा प्रसाद रिमालले एकपटक भनेका थिए, “दाइ, यहाँका शासकले भन्छन्, यो देश मेरो हो तर यहाँका एबोरजिनले भन्छ । यो देश म हुँ ।” साँच्चै ‘देश मेरो हुनु र देश म हुनुमा’ कत्ति अन्तर हुँदोरहेछ । आदिवासी संम्वेदना, विश्वास, आस्थाको आधारमा यतिबेला म आफ्नो देश नेपाललाई सम्झी रहेछु । धर्म निरपेक्षताको नाममा जसरी एकल धर्म, नश्लीय आस्थालाई बढावा दिँदै लगिँदै छ; जसरी अन्य आस्थावानमाथि जर्बजस्ती अतिक्रमण गरिँदैछ; जनावर, पशुभन्दा पनि मान्छेको मूल्य मान्यतालाई सामान्य आँकलन गरिँदैछ; बिल्कुल यो दुखद छ । खेदजनक छ । कसैलाई असर नपारी आफ्नो संस्कार, संस्कृति सबैले मान्न पाउनु पर्छ ।
एकल नश्ल, एकल धर्म, एकल आस्था, एकल विश्वासले प्रेरित गलत एकल सत्ताको नाङ्गो रबैयाको पर्खाल मलाई भने ‘र्याबिट प्रुफ फेन्स’ भन्दा पनि हजार गुणा खतरनाक लागिरहेछ ।
(यो स्तम्भ एक घुमन्तेको औपचारिक/अनौपचारिक यात्रा आलेख पनि भएकोले गर्दा केही तस्वीरहरू राखेर बाहिरिन्छु ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...