प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

लाग्छ घुम्नु सौख र आदतभन्दा बढी स्वभाव हो मेरो लागि । 

नदीनाला, हिमाल, पहाड, झरना, समुन्द्र, बगरजस्ता प्राकृतिक स्थानहरूमा कहिले योजनाले, कहिले विना योजना यसै रहलिन्छु । आफू जन्मेको देश होस् या पराई मानेको देश । राजनैतिक, मानवीय सिस्टमभन्दा माथि उठेर हेर्दा लाग्छ यो ठाउँ, यो धर्ती मेरो आफ्नै हो । जेद्वारा हाम्रो शरीर बनियो, आत्मा र ऊर्जा बनियो, ती सारा पञ्चतत्व निःशुल्क प्राप्त छन् हामीलाई । हामी सीमित शक्ति, स्वामित्व र मेरोको भ्रममा क्षणिक समय बाँच्नेहरूले अस्तित्वलाई बसमा राख्न खोज्छौँ । यो त्यही हावा हो । जसले संसारलाई मुठ्ठीमा राख्छु भन्ने भ्रममा आएका करौडौँलाई बिदाइ गर्याे । यही माटो, पानी, आकाश र घाम साक्षी छन्, आफूलाई खोज्न बिर्सिएर अरूको पछि लाग्दालाग्दै जीवन रित्याइ, दुःखद मृत्युवरण गर्नेहरूकाे । अहिले म करौडौँ वर्षअघिको चट्टानको बाटो भएर क्षणिक जिन्दगी हिँडिरहेछु । हामीलाई जिउँदोको सीमित भ्रममा लाग्छ कि, ढुंगाले कुरा बुझ्दैन । उदाहरण दिँदा पनि ढुंगा झैँ कठोर, निर्जीव, नबोल्ने भनेर भन्छौँ । संसारको गतिविधिको बारेमा वैज्ञानिकहरू पनि यो निष्कर्षमा पुगेका छन् कि, कि त पानीमा, कि त चट्टानमा मात्र सबैभन्दा पूरानो समयका अवशेषहरू फेला पर्छन् ।

अहिले म करौडौँ वर्षअघिको चट्टानको बाटो भएर क्षणिक जिन्दगी हिँडिरहेछु । हामीलाई जिउँदोको सीमित भ्रममा लाग्छ कि, ढुंगाले कुरा बुझ्दैन ।

समयको सबैभन्दा लामो सत्य कसैलाई थाहा छ भने यी पञ्चतत्वलाई थाहा छ । यी चट्टान, नदीनाला, बनजंगललाई थाहा छ । तीनै अमर ऊर्जाहरूको सत्संगको धारमा ठोक्किएर कतै म नामको अन्योल ऊर्जाले आफ्नो धार भेटछ कि, अनुहार भेटछ कि भन्ने भित्री मोह नै मेरो यात्राको कारण होला सायद ।

प्रसंग अलिकति मोडौँ;
स्कन्डेभीय देश नर्वे सामाजिक सुरक्षा, मानवअधिकार आदिका लागि अनुपम देश । प्राकृतिक रूपमा अत्यन्तै मनमोहक, सुन्दर देश । हिमाल, पहाड, नदीनाला, जंगल र समुन्द्रको मिलन देश । (सामाजिक, राजनैतिक, भाषा, साहित्य, संस्कार र विकासक्रम आदिका बारेमा कुनै लेखमा उल्लेख गरौँला ।) एउटा फिरन्तेको लागि यो भन्दा बढी घुम्नलाई अरू के नै चाहियो र । यतिबेला अध्ययन र पारिवारिक सिलसिलामा म इस्वी सन् तेह्रौ शताब्दीभन्दा पूरानो नर्वेको दक्षिणी सानो सहर सियनमा छु । यो सहर सु-प्रसिद्ध नाटककार, कवि हेन्रिक इब्सेन जन्मेको शहर हो । (इब्सेन, नाटक र सियनको प्रसंग पनि अर्को कुनै लेखमा उल्लेख गर्ने छु ।) सियनको गुल्सेट भन्ने स्थानमा हामी बस्छौँ । त्यहाँदेखि मास्तिर जंगल, पहाडहरू र फ्रेसवाटरका सुन्दर तालहरू छन् । फन्तेसेरिङ, खोपेर डाँडा होस् या अलेर्सन, सोन्द्रे, लिमिसेन तालहरू मोहक छन् । म यी पहाड र तालहरूको बारेमा पनि उल्लेख गर्न गइरहेको छैन तर यो यात्रामा भेटेका एउटा अनौठो सौन्दर्यको बारेमा भने उल्लेख गर्न लागिरहेको छु ।

हाम्रो देशमा विशेष हिमाल, पहाड र चुरेक्षेत्रमा देउराली डाँडालाई पुज्ने चलन छ । प्रारम्भिक समयमा सम्भवतः कोही बटुवाले एउटा डाँडा उक्लेपछि बाटो नर्बिसियोस् भनेर ढुंगा चिह्न राख्यो होला । कालान्तरमा त्यसैलाई मानिसहरूले पुज्न र थप ढुंगाहरू राख्दै जान थाले होलान् । 

हाम्रो देशमा विशेष हिमाल, पहाड र चुरेक्षेत्रमा देउराली डाँडालाई पुज्ने चलन छ । प्रारम्भिक समयमा सम्भवतः कोही बटुवाले एउटा डाँडा उक्लेपछि बाटो नर्बिसियोस् भनेर ढुंगा चिह्न राख्यो होला । कालान्तरमा त्यसैलाई मानिसहरूले पुज्न र थप ढुंगाहरू राख्दै जान थाले होलान् । पछि विश्वास, आस्था जोडियो होला । क्रमशः त्यहाँदेखि शुरू हुने (नयाँ क्षितिज) ओरालो र अर्को उकालोसम्मको लागि बल मागे होलान् । अहिले त मानिसहरू ढुंगा चढाउछन् । फूलपाती चढाउँछन् । हाम्रो सामाजिक, साँस्कृतिक, आस्थासँग सिधै सरोकार राख्छ देउरालीले । 

प्रसंगमा भित्रिन्छु;
म नर्वेको जतिवटा जंगल, पहाडमा ट्रेकिङ गएको छु । त्यहाँ देउराली भेटेको छु । शुरूमा त ट्रेकिङ रुटका लागि चिह्न लगाएको होला भन्ने सम्झिएँ । फेरि सोचेँ, चिह्न लाए पनि किन डाँडामा मात्रै ? कहीँ ढुंगाको धेरै थुप्रो, कहीँ किन थोरै ? चिह्न लाए त समान हुनुपर्ने । खोँचमा पनि हुनुपर्ने । दिशानिर्देश कामका लागि उनीहरूले पक्कै देउराली उभ्याएका हैनन् । यतिसम्म कि कहीँ त रातो रंग समेत दलिएको थियो । सायद उनीहरूको पनि सामाजिक, सांस्कृतिक केही मान्यता पो जोडिएको छ कि । पछि महसुस गरेँ । यहाँ हरके बाटोघाटो व्यवस्थित छन् । प्रत्येक पाँचसय मिटरमा लोकेसन र दिशानिर्देश चिह्नहरू छन् । प्रत्येक २०-५० मिटरमा रङले पनि रुट जाने चिह्न लगाएका हुन्छन् । यहाँ पनि आदिवासीहरू छन् । प्रकृतिपुजकहरू छन् । सायद उनीहरूको आस्थासँग पो जोडिएको छ कि ? केही समयअघि म अस्टेलिया जाँदा, तास्मानिया स्टेटको लङचेष्टन सहरमा थिएँ । मेरा अनुज कलाकार ओबेत साम्पाङले मलाई त्यसतर्फ लगेका थिएँ । हामीले त्यहाँ अनौठो दृश्य देख्यौँ । खोलाको खोँचमा आगो बालेर दुई स्थानीय व्यक्ति बसिरहेका थिएँ । उनीहरूको साथमा घण्टी, माला, हातमा ढ्याङग्रो थियो । उनीहरू पूजामा मस्त थिएँ । यता युरोपमा पनि मानिसहरू प्रकृतिपुजक भेटिन्छ । यीबारे पनि कुनै लेखमा उल्लेख गरौँला । 

जुनै भुगोलमा पुगे पनि । जे देखे पनि देश त तुलनात्मक रूपमा अगाडि आइहाल्दो रहेछ । आफूमात्रै कतै नगइँदो रहेछ । देश पनि आफूसँगै कुनै न कुनै रूपमा हिँड्दोरहेछ । आफू भन्नु नै पो देश रहेछौँ ।

यसको कारण बुझ्न स्थानीय कवि, कलाकार, लेखक आदिलाई पनि यस बारे सोधेँ । धेरैले उत्तर दिन सकेनन् । नर्वेका जंगल, डाँडाहरूमा भेटिएको देउराली जुनै प्रयोजनमा स्थापित भए पनि मेरो लागि यो दूरदराजबाट नेपालका डाडाँकाडाँ, बाटो, पार्टी पौवा, चौतारो, देउराली (जो क्रमशः हराउँदैछ) सम्झने र त्योबारे घोत्लिने अवसर बन्यो । यसअर्थमा खुसी छु । आखिर जहाँ गए पनि । जुनै भुगोलमा पुगे पनि । जे देखे पनि देश त तुलनात्मक रूपमा अगाडि आइहाल्दो रहेछ । आफूमात्रै कतै नगइँदो रहेछ । देश पनि आफूसँगै कुनै न कुनै रूपमा हिँड्दोरहेछ । आफू भन्नु नै पो देश रहेछौँ । आफैँ हराए त देश नै पो हराउने रहेछ या देश हराए व्यक्ति । 

अन्तमा बाटोमा भेटिएका देउराली र यात्राका केही तस्वीर राखेर बिदा हुन्छु ।











तस्वीरः प्रकाश आङदेम्बे

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...