भुटानमा जन्मे । वाल्यकालमै नेपाल आएँ । बेल्डाँगी शरणार्थी शिविरमा हुर्केँ  । जीवनको सबैभन्दा स्वर्णकाल त्यहीँ विताएँ । मान्छेको जीवनमा सिक्ने, बुझ्ने समय हुन्छ नि, त्यो मेरो लागि शिविर नै थियो । धेरैले शरणार्थी शिविरको बारेमा दुःखका कुराहरु गरेको पाउँथे । मलाई भने किन किन त्यही नै मेरो सुन्दर संसार जस्तो लाग्थ्यो । दुःख, अभाव भएता पनि त्यहाँ सबैमा मेलमिलाप थियो । साथीहरु थिए । दुःखसुखमा मिल्न सक्ने छरमिमेकीहरु थिए । कला, साहित्य, नाटक आदिका सबै गतिविधिमा हामी संलग्न हुन्थ्यौँ  । मैले पनि दर्जनौ नाटकहरुमा अभिनय, निर्देशन गर्ने मौका पाएको थिएँ । युथ फ्रेन्डली सेन्टर मार्फत सातैवटा शिविरहरुमा हामी जनचेतना मुलक नाटकहरु गर्थ्याैँ । काम नहुँदा यसै घुम्ने, खोलामा गएर पौडी खेल्ने, जंगल चहार्ने काम गर्थ्याैँ । अभाव त थियो नै, तर खुशी पनि थियो त्यहाँ । अहिले म एक दशकदेखि संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकामा छु । यहाँ भौतिक हिसाबले सबै पूर्ण छन् । मेरो मन भने अझै पनि त्यही शरणार्थी शिविर आसपासमा दगुरी रहन्छ । धेरै साथीभाई  विदामा विकसित देश भ्रमण गर्ने योजना बनाउँछन् । म भने किन किन नेपाल जान मन पराउँछु ।  नेपालको पनि बिशेष दमक जहाँ मेरो सपनाहरु हर्किए । शरणार्थी शिविर आसपास । जहाँ मेरो स्मृतिहरू जिउँदा छन् । पोहोर साल यसरी नै शिविर घुम्न आएँ । हामी बसेको बेल्डाँगी १ शिविर त जङगल भइसकेछ । गोल्धाप, टिमाई, खुदुनाबारीजस्तै । बेल्डाँगी २, ३ र शनिश्चरे शिविर मात्र अलिलि बाँकी रहेछ । ती ठाउँमा घुमे । केही तस्वीरहरु कैद गरेँ । सदा सदाका लागि छुटेका साथीहरु, आफन्तहरुलाई सम्झेँ । मन अमिलो भएर आयो । त्यतिबेला लिएको केही तस्वीरहरु तँपाईहरु माझ राख्दै विदा लिन्छु । 









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दिलन समाल

लेखकबाट थप...