काठमाण्डौ सुन्धाराको पानी बिस्तारै घट्दै थियो । स्थानीयका अनुसार त्यतिबेला ठप्पै भयो जतिबेला छेवैमा काठमाण्डौ मल ठडियो । मलको जग खन्दा अत्याधिक भूमिगत पानी निस्किएको थियो । पाटनमा छ, लुहिटी–अर्थात् अर्को सुन्धारा, त्यहाँ भएका तिनै धारामा पित्तलका सुनौला टुँटी त छन् । तर एक थोपा पनि पानी छैन । राम्रो वर्षात् हुँदा असार–सावनदेखि दुई–तीन महिना पानी आउने स्थानीयले बताए । ४० साल अघि भने त्यहाँ बाह्रैमास पानी आउँथ्यो । जब दुई सय मिटर पर रहेको पाटन औधोगिक क्षेत्र भित्र डिप बोरिङ गरियो, तब लुहिटी मृत धारामा परिणत भयो ।
 
लुहिटीको छेवैमा दरवार स्क्वायर आउने बाटोमा छ, अर्को ‘सोग हिटी’ । दुई धारा भएको सोगहिटीको हालत पनि लुहिटीको जस्तै छ । पाटन दरवार स्क्वायर्स मै छ अर्कौ मंगलहिटी । कुनै समय गर्मीमा चिसो र जाडोमा तातो पानी आउने यो धारापनि ठप्प छ । दक्षिणी ललितपुर तिरबाट, ल्याइएका पाटनका पोखरीहरु भर्ने राजकुलोको अवशानसँगै यो धारा सुकेको आंशका छ । 

आशंका जेसुकै होस ! सत्य त यो हो कि जमिनमुिनको जल रित्तिएर वा नशारुपी भुमिगत जलमार्गमा अवरोध पैदा भएर नै उपत्यकाका ढुङ्गेधाराहरु सुकेका हुन् । जयबागेस्वरी, डिल्लीबजार, धोविधारा, नारायणहिटी सबैतिरका ढुङ्गेधाराहरु सुकिसकेका छन् । अर्थात् ‘लु’ हिटीमा अब लु ‘पित्तलका सुनौला टुँटी’ छन्, ‘हिटी’ धारा छ, अकल्पनिय लिच्छवी–मल्लकालिन वास्तुकला पनि छ । तर ‘ल मरु’ अर्थात् पानी भने छैन ।


  पाटनको लुहिटीअर्थात् सुन्धारा


जीवनको लागि जल प्रभाव गरिदिने हिटीहरुको कुन हदसम्मको बेवास्ता भयो भन्ने यसैले देखाउँछ । एक पटक सुन्धरातिर फर्कौं । सँगै ठडिदैछ तीन–तीन पटक भत्किएको धरहरा । धरहरा त मानिसले चाहेको ठाउँमा जुनसुकै समयमापनि ठड्याउन सक्छ । तर प्राकृतिक पानीको श्रोत हिटी मुलत प्रकृतिकै देन हो । मान्छेले चाहेको ठाँउ र बखतमा त्यसको निर्माण हुँदैन । तर पनि पटक–पटकका भुकम्पमा ढलिरहने आयातित मिनार शैलीको हाम्रो भूभाग प्रतिकुल धरहराको छाँयाभित्र सधंै हराइरह्यो सुन्धारा । यसको आसपास दुरसंचार, सिभिल मल लगायतका विशाल जगमा अडेका भिमकाय कंक्रिटका संरचनाहरु बनिसके । औपनिवेसिक शैलीको धरहरा अब आफैँ कङ्क्रिटको बन्दैछ, अझ विशाल क्षेत्रफल ओगट्दै र अरु  संरचनाहरु कोरल्दै सुन्धारालाई नै खर्लप्प निल्दै छ ।

पानी सुकेका मात्र होइन, भग्नावशेषमा परिणत भएका पनि धेरै ढुङ्गेधारा छन् हामी कहाँ । पानी झर्ने मकर आकृतिका शिलामा कुँदिएका मुख टुटेफुटेका छन्, पानी झर्ने चट्टान कुँदेर बनाइएका डुँडहरु यत्रतत्र लडेका छन्, छेवैमा फोहोर र कवाडीको थुप्रो छ । मानौं आधुनिक कवि टि एस इलियटको ‘वेस्ट ल्याण्ड’को एक दृष्य हो यो । यहाँ ‘सुख्खा ढुङ्गाका’ डुँडहरु यत्रतत्र पल्टिएका छन् । तर अँह ‘पानीको कलकल भने छैन ।’ इलियटले भनेजस्तो ‘यहाँ चट्टान मात्र छ, पानी छैन ।’ यस्तो लाग्छ, ‘वेस्ट ल्याण्ड’को एक हिस्सा हो यो उपत्यका र ‘खण्डहर बिम्बहरुको थुप्रो’ भनेको हाम्रै परित्याक्त ढुङ्गेधाराहरु हुन् ।
 
‘ढुङ्गेधाराको पानी खान नपाउनु हामी ! के ढुङ्गेधाराको पानी खानु भनेको ढुङ्गे युगमा फर्कनु हो ?’ नागरिक आन्दोलनका दौरान नारायण वाग्लेको आक्रोस थियो । प्रशङ्ग टुँडिखेल अतिक्रमणको थियो । कुनै दिन टुँडिखेल लैनचोर देखि भृकुटीमण्डप हुँदै थापथलीसम्मै लम्पसार परेको थियो । बस्तीबीचको यो खुल्ला फाँट आम नागरिकको खेल्ने र टहल्ने थलो मात्र थिएन, बर्षाको पानी पर्याप्त मात्रामा सोसेर जमिनमुनि पु¥याउँथ्यो । भूमिगत पानी रिर्चाज गर्ने सामरिक रिर्चाजर थियो यो । यसैले रिर्चाज गरेको पानी बर्षभरी ढुङ्गेधाराका माध्यमबाट बाहिर निस्कन्थ्यो र बस्तीलाई काकाकुल हुनबाट बचाउँथ्यो । 

उपत्यका भित्रका नर्कटघारी र सिमसारहरुको भूमिका पनि त्यतिकै थियो । अहिले सिमसार छैनन्, नर्कटघारी छैनन्, खुल्ला चौर छैनन् । मात्र कङ्क्रिटका संरचना छन् । ढलान, पिच र टायल छन् । घरायसी प्रयोजनबाट निस्किएको पानी पनि सिधै बागमतीमा गएर मिसिन्छ । त्यसैले अहिले ‘हिटी’हरु त छन्, युगौं देखि लिच्छवी–मल्लकालिन संवृद्धिलाई बोकेर जस्ताको त्यस्तै । तर, अहँ पानी बिनाका यो निर्जिव सहरमा हिटीहरु आफैँ मुर्छा परिसकेका छन् ।


ढुङ्गेधाराहरु: ‘खण्डहर बिम्बहरुको थुप्रो


त्यसो त हिटी सभ्यताको इतिहास लिच्छवीकालभन्दा पुरानो छ । ढुङ्गेधाराविद् प्राध्यापक सन्ध्या खनालका अनुसार, पाटन मंगलहिटी र हाँडीगाउँको एक ढुङ्गेधारा मानदेवका नाति (छोरीका छोरा) भारवीले निर्माण गरेका थिए । त्यस अघिको किराँतकालमानै छिटफुट रुपमा ढुङ्गेधाराको प्रचलन सुरु भइसकेको तर्क छ, खनालको । भला किराँतहरु विशेषत पोखरीकै पानीमा आश्रित थिए ।

पोखरी र नदीलाई अलग्याएर काठमाण्डौका परम्परागत हिटीहरुलाई बुझ्नु अर्को अन्याय हुन जान्छ । उपत्यकाका धेरै हिटीहरुको प्रमुख श्रोत भनेकै नदी र पोखरीहरु थिए । श्रोतका सम्बन्धमा प्राध्यापक खनाल भन्छिन् ‘नदि, पोखरी, राजकुलो, इनार र भूमिगत पानी सबै नै ढुङ्गेधाराका मुख्य श्रोत हुन् ।’ काठमाण्डौ, पाटन तथा भक्तपुर तीनै दरवारका ढुङ्गेधारामा राजकुलोद्धारा पानी आपुर्ति गरिन्थ्यो । बसन्तपुर दरवारमा बुढानिलकण्ठ, पाटन दरवारमा लुभु तथा भक्तपुरमा महादेवपोखरीको पानी राजकुलोबाट ल्याइन्थ्यो । 
त्यस्तै मैतिदेवि लगायत ठाउँका कतिपय ढुङ्गेधारामा नदिको पानी जमिनमुनिबाट सिधै ल्याईन्थ्यो । काठमाण्डौको जमिनको सतह कतै उच्चो र भिरालो हुँदै कतै निचो छ । प्राय ढुङ्गेधाराहरु गहिरो र भिरालो भागमा  हुने गरेको छ । माथिल्लो सतहमा वर्षातमा रिचार्ज भएको पानी नै यस्ता ढुङ्गेधारामा मुख्य श्रोत थिए । कतिपय ठाउँमा इनार बनाई त्यसैको पानीलाई ढुङ्गेधाराबाट प्रवाह गर्ने प्रावधान पनि थियो । 

अर्को ढुङ्गेधाराको पानीको प्रमुख श्रोत भनेको पोखरीहरु थिए । पोखरीको पानीलाई विशिष्ट परम्परागत प्रविधिमार्फत ढुङ्गेधारामा प्रवाह गरिन्थ्यो । राजकुलो, पोखरी र ढुङ्गेधाराको सम्बन्ध अटुट थियो । उदाहरणको लागि पाटन लगनखेलमा सप्तपाताल (ठुला–ठुला पोखरी) थिए । तिनमा लुभुबाट आउने राजकुलोको पानी भरिन्थ्यो । त्यही पोखरीबाट फेरी अन्डरग्राउण्ड मार्गद्वारा हिटीमा जल प्रवाह गरिन्थ्यो । लगनखेल नेपाल भाषाको ‘लःख्य’बाट अपभ्रंशित भएको हो । ‘ल’को अर्थ पानी हुन्छ ‘ख्य’ भन्लाले क्षेत्र, ठाउँ या फाँट हुन्छ ।
 
उपत्यकाको पानीको अर्को प्रमुख श्रोत भनेको भूमिगत जलश्रोत हो । त्यसमा पनि उपत्यकाको अधिकांश ढुङ्गेधारा जहाँ मुल त्यही नै निर्माण गरिएका थिएनन् । ति मुलभन्दा केही वरपर थिए । अलिक सहज र निचो ठाँउमा ढुङ्गेधारा बनाइएको पाइन्छ । मुलबाट ढुङ्गेधारासम्म पानी पुर्याउने पनि उपत्यकाबासीसँग बिशिष्ट रैथाने प्रविधि थियो । 

उपत्यकाको हिटीमा अधिकांश पानी झर्ने टुँटीमा मकरको मुख हुन्छ । मकर गंगाको वहान हो भने पानीका सबै श्रोतहरुलाई गंगाकै रुपमा लिने गरिन्छ । गंगा शिवजीको शिखरबाट बहने मान्यताका कारण हिटीमा शिवको मूर्तिपनि राखिएको हुन्छ, जल अर्पण गर्नको लागि विष्णु, सूर्य र गणेशका मुर्तिहरु पनि हुन्छन् ।

लिच्छवीहरु भारतको वैशालीबाट आए, मल्लहरु पावा र कुसिनराबाट । कहिँ कुनैपनि ठाँउमा यस्ता ढुङ्गेधाराहरु छैनन् । यस अर्थमा ढुङ्गेधारा अर्थात् ‘ल्होहिटी’ विशुद्ध काठमाण्डौ उपत्यकाको मौलिक आविश्कार हो, सभ्यता हो, अनुपम वास्तुकला हो, प्रविधि हो । प्राध्यापक खनाल भन्छिन, ‘मैले यस्तो ढुङ्गेधारा संसारमा अन्त कहीँ भेटेको छैन, एउटा इन्डोनेसियाको बालीमा छ । त्यो पनि यहीँबाट गएकोले बनाएको हुनुपर्छ ।’

हिटी सभ्यता यहाँको संस्कृतिसँग पनि अभुतपूर्ण रुपमा जोडिएको छ । पाटनको कार्तिक नाच समापनको लागि मंगलहिटी कै पानी चाहिन्छ, चावहिल गणेशस्थानको भैरव जात्राको खट विसर्जन गर्दा नजिकको गंगाहिटीकै पानी चाहिन्छ । उपत्यकाको सभ्यतालाई हिटी सभ्यता भन्नु सायद अनुपयुक्त नहोला । हिटी सभ्यता, संवृद्वी, धर्म र संस्कृतिको बिम्व मात्र थिएन, ल्हुहिटी आफैँमा एउटा ‘पब्लिक स्फेयर्स’ पनि थियो । प्लेटफर्म थियो । सबैको पहुँचकोे स्थल र सम्पर्क क्षेत्र पनि भएकाले राज्यका सार्वजनिक सुचना, शिलालेख इत्यादी पनि हिटी मै सार्वजनिक गरिन्थ्यो । हिटीमा सार्वजनिक भएको कुरा सर्वत्र छिटो फैलन्थ्यो ।

त्यसो त उपत्यकाको हिटी सभ्यताको गहनता त यहाँका भोटाहिटी, कोहिटी, भँहिटी, नारायणहिटी, थँहिटीजस्ता अनेकौँ ठाउँको नामाकरणले पनि देखाउँछ ।

लिच्छवी–मल्लकालिन ढुङ्गेधारा निर्माण राज्यको वास्तुकला, शिल्पकला, प्रविधि लगायत संवृद्धीको मानक पनि थियो । यसको निर्माण ठूलो शान र सौकतको विषय थियो । ‘जलदान महादान’ भन्ने हेतुले पनि शासक तथा ठूलाबडा ढुङ्गेधारा निर्माणमा अभिप्रेरित हुने गर्थे ।

हामीले अहिले देखिरहेका ढुङ्गेधाराहरू मुर्छित छन् तर धेरै धाराहरु मृत अर्थात् लोप नै भइसकेका छन् । अंशुवर्माले निर्माण गरेको भोटाहिटी आज हामीसँग छैन । तीन पुस्ता अघिसम्म स्थानीय भोटाहिटीको पानी पिउँथे । जब वीर अस्पतालको भवन बनियो भोटाहिटी पुरियो । २०४५ सालमा जब रत्नपार्कको अन्डरग्राउण्ड सबवे लागि जमिन खनिएको थियो, सातओटा डुँड र मुख भएको भोेटाहिटी निस्किएको थियो । प्राध्यापक खनालका अनुसार त्यतिबेला पनि धारामा प्रशस्त पानी बगिरहेको थियो । विरोधका बावजुत भोटाहिटीको संरक्षण गरिएन । त्यही ठाउँमा सबवे बनाइ छोडियो ।

भोटाहिटी रानीपोखरीको ठिक पश्चिम–दक्षिण कुनामा थियो ।  पोखरीको उत्तर–पश्चिम कुनो (हाल आरसिटी क्लवको भवन रहेको स्थल)मा अर्को ‘भङ्गल ठक्कुहिटी’ भएको अनुसन्धानले देखाउँछ । त्यसो त रानीपोखरीकै पूर्व–उत्तर तर्फ तिनधारा छ । जसलाई फेरि पुरातत्व विभागले पुनस्र्थापित गर्दैछ । त्यति मात्र होइन, रानीपोखरीको दक्षिण–पूर्व (अहिलेको भक्तपुर बसपार्क–विद्युत् प्राधिकरण) आसपास पनि अर्को ढुङ्गेधारा भएको आशंका गरिन्छ । यद्यपि, उत्तर–पश्चिमको भंङ्गलठक्कु हिटी र दक्षिण–पूर्वको यो ढुङ्गेधारा अझै भेटिएको छैन । जे होस् यी चार ढुङ्गेधाराको पानीको निकास भनेको रानीपोखरी नै थियो । यिनै चार हिटीले रानीपोखरीलाई जीवन्त राखेका थिए ।

हिटीको सबैभन्दा सशक्त पक्ष भनेको त्यसको मौलिक र अनुपम प्रविधि नै हो । हिटीको बाहिर देखिने वास्तु जत्तिको सुन्दर छ, जमिनमुनिको पानी प्रवाह गर्ने, नाली, डुँड, आगा (आक्युफायर वा अन्डरग्राउण्ड ट्याङ्क)तथा अटल (पानी छान्ने ठूला घ्याम्पा)को ब्यवस्थापन आफैंमा कम रहस्यपूर्ण भने छैन ।

पुर्खाहरुले कसरी निर्माण गरेका थिए त यो प्रविधि ? धेरै हिटीहरु पुनर्निमाण गरिसकेका ढुङ्गेधाराविद् तथा ढुङ्गेधारा बचाउ अभियन्ता सुशिल श्रेष्ठ भन्छन् – उपत्यकाको जमिनभित्र कतिपय ठाउँमा ३–४ फिट मुनिबाट असंख्य भूमिगत स–सना खोला जस्तो जलप्रवाह हुन्थ्यो । अहिले पनि कतैकतै छ । पुर्खाहरुले खनेरै त्यो पत्ता लगाउँथे । त्यसपछि पानीको मात्रा र आवश्यकता अनुसार आगा बनाउँथे । त्यसपछि धारा कहाँ आवश्यक छ त्यहाँ त्यो आगाको पानी बगेर आउने गरि गहिरो ठाउँमा पानीको निकास सहितको ठूलो खाल्डो वा भूभागमा ढुङ्गेधारा बनाइन्थ्यो । आगाबाट ढुङ्गेधारासम्म नाली खनिन्थ्यो । नालीमा माटोबाट बनार्ईएका २ देखि ४ फिटका डुँडहरु क्रमस ग्रिप मिलाएर बिच्छ्याइन्थ्यो । डुँडबाट पानी नचुहियोस् भनेर फेरि त्यसमा गँथिचा (एकदमै लिसाइलो माटोबाट बनाइएको वाटरप्रुफ लेप) दलिन्थ्यो । पुटिन जसरि लगाइएको गथिचाको लेप पानीको वहावले पनि बिगार्दैन थियो । 


माटोबाट बनार्ईएका देखि फिटका डुँडहरु


यति मात्र होइन, पानी शुद्धिकरण गर्न आवश्यकता अनुसार नालीको ठाउँ ठाउँमा अटल पनि राखिन्थ्यो । कुनै–कुनै मानव निर्मित यस्ता भूमिगत नाली (च्यानल ) यति लामो हुन्थ्यो कि पाटन नागवहालको एउटा हिटीको मुहान पुलचोकमा छ ।

पाटन क्षेत्रमा मात्र ६२, भक्तपुरमा ८० र काठमाण्डौंमा ४०० जति ढुङ्गेधारा छन् । काठमाण्डौं र भक्तपुरमा पुरिएका नयाँ धाराहरु भेटिने क्रम जारी छ । तर सबै हिटीको हालत उस्तै छ । त्यसो त पाटनका ढुङ्गेधारा सुक्न थालेको धेरै पनि भएको छैन । श्रेष्ठका अनुसार, मंगलहिटी ६५ सालबाट र आलोक हिटी ६९ सालबाट सुक्न थालेका हुन् । ६० साल सम्म आलोक हिटीमा सुख्खा मौसममा प्रतिदिन २५,००० र वर्षा याममा ५०,००० लिटर पानी आउँथ्यो ।
 
श्रेष्ठले आलोकहिटीको आगा (अन्डरग्राउण्ड रिजर्भ)को २ इन्च तलबाट पानीलाई निकास दिँदै आलोक हिटीलाइ पुनर्जीवित बनाएका थिए । तर यो दिर्घकालिन समाधान भने थिएन । एकातिर घरघरको बोरिङ्गका कारण हिउँदमा पानीको सतह हिटीको मुहान भन्दा तल पुग्थ्यो । अर्कातिर बर्षामा पानीको सतह बढ्दा आगाबाट दुईइन्च घटाएर पानीको निकास दिँदा धारामा पानीको फोर्स यति बढ्यो कि पानी थाप्न नै सकस प¥र्यो । यसबाट सजिलै अनुमान गर्न सकिन्छ, आगा, डुँड, अटल र नाली व्यवस्थापनमा हाम्रा पुर्खाहरुले प्राविधिक कुशलताको स्तर ।

श्रेष्ठ हिटि सुक्नुको मुख्य दोष डिप–बोरिङलाई दिन्छन् ।  उनका अनुसार, जब जलाधार क्षेत्रमै पाटन औद्योगीक क्षेत्र बनाइयो र डिप बोरिङ्ग गरियो, यसकै कारण सिंचाहिटी, नुगुहिटी, कन्बा हिटी, थपाहिटी र ट्यागहिटी ठप्पसँग सुकेका थिए । सुन्धारा सुक्नुको कारण पनि श्रोतभन्दा तल पानीको सतह पुग्नु नै हो । तर श्रेष्ठ एकदमै आशावादी र उत्साहित छन् । मुर्झीएका धाराहरु कुनै पनि बखत बहुराउनेमा उनी ढुक्क छन् । तर यसको लागि पानीको वाह्य आपूर्ति सहज पार्नुपर्छ र बोरिङ्गलाई भने पूर्ण निषेध गर्नुपर्छ । 

‘काठमाण्डौं मलले सुकाएको सुन्धारालाई पनि म सजिलै ब्युँझाउन सक्छु’ श्रेष्ठ उत्साहित थिए । टुँडिखेल आफैँमा एउटा जलाधार हो । त्यहाँ ४–६ फिट खनेर भूमिगत पानी पत्ता लगाइ, आगा राखेर नयाँश्रोतबाट सुन्धारा जगाउन सकिन्छ । उनको तर्क थियो । तर हिटीमात्र भएर हुन्न त्यसको निकास पनि चाहिन्छ । सुन्धाराको निकास विष्णुमती हो र त्यो निकास मेटिइसकेको छ । ‘त्यसैले नयाँ श्रोतबाट पानी ल्याएर धारा थोरै उठाउँदै निकास सहज बनाउनुपर्ने हुन्छ,’ श्रेष्ठले बताए । श्रेष्ठ अहिले पुरातत्व विभागको सहकार्यमा तिनधारालाई पुनर्जीवन दिदैँछन् । श्रेष्ठजस्ता जागरुक शिल्पीको शाहसले भन्छ, ‘यो निर्जीव सहरमा हिटीहरु मृत भने भैसकेका छैनन्, मात्र मुर्झाएका हुन्, जसलाई जुनसुकै समय ब्यूँझाउन सकिन्छ ।’


मंगलहिटी, पाटन


अनुभवले भन्छ, जमिनमा प्रशस्त मात्रामा भुमिगत पानीको रिचार्ज हुन सके यिनले फेरि पुनर्जीवन पाउनेछन् । तमिलनाडुको भेलोर डिस्ट्रिकतिर फर्कौं । मोङ्ग्वेको ३३ फेब्रुअरीमा प्रकाशित लेख ‘ह्वेन अन आर्मी अफ ओमेन केम टुगेदर टु रिभाइभ अ रिभर’का अनुसार, भेलोर जिल्लाका अधिकांश जलश्रोतहरु सुक्दै थिए नागा र पालार नदिमा पानीको सतह अस्वभाविकसँग घटेको थियो । पानीकै कारण स्थानीयहरु थातथलो छोड्दै थिए । भेलोरको नागा नदि किनारको गाउँ सलमानाथम पनि समस्याबाट अछुतो थिएन । 

तर भेलारकै १२०० महिलाहरुको एक स्वयंसेवी जमातले बर्षाको पानी रिचार्ज गर्न त्यस गाउँमा २०१४ देखि २०१७ सम्ममा ३६ वटा ठुलो रिचार्ज इनार र थुप्रै चेक ड्यामहरु बनाए । त्यसपछि पानीका श्रोतहरुले पुनर्जीवन मात्रै पाएन, सुक्दै गएको पालार र नागा नदीको पानीको सतहमा समेत बृद्धि भयो । अरु २० गाउँमा पनि त्यस्तै गर्दै कुल ३४९ रिचार्ज इनार २०७ चेक ड्याम बनाइयो । अहिले आएर त्यहाँको पानीको समस्या समाधान भएको छ । यो अभियानमा सहभागीमध्ये ९९ प्रतिशत महिला थिए । यसको अर्थ भुमिगत पानी रिचार्ज गर्ने हो भने हाम्रा हिटीहरुले पनि प्राकृतिक रुपमै पुनर्जीवन पाउनेछन्, लिच्छवी–मल्लकालिन लयमै फर्कनेछन् ।

(नोटः संस्कृति केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालयमा आवद्ध प्राध्यापक डा सन्ध्या खनालले उपत्यकाका ढुङ्गेधारामै विद्यावारिधी गरेकी छिन् । त्यस्तै पाटन निवासी सुशिल श्रेष्ठ धेरै हिटीहरुको पुनर्निमाण गरिसकेका ढुङ्गेधाराविद् तथा ढुङ्गेधारा बचाउ अभियन्ता हुन् । यस आलेखमा ढुङ्गेधाराका अधिकांश सांस्कृतिक र ऐतिहासिक पाटो खनालसँगको र प्राविधिक पाटो श्रेष्ठसँगको कुराकानीबाट लिइएको हो । द मार्जिन दुवै विज्ञप्रति हार्दिक आभार व्यक्त गर्दछ ।) 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

युवराज भट्टराई

लेखकबाट थप...

सम्बन्धित समाचार