उत्कृष्ट सङ्गीत संयोजकको नामावलीमा अटाउने नाम भएकै कारण पछिल्लो समय निकै व्यस्त देखिन्छन् उनी । नेपाली तारा सिजन ३ मा उपविजेतामात्रै बने पनि साङ्गीतिक क्षेत्रमा भने असफल पक्कै बनेनन् । उनको साङ्गीतिक सफरले निकै लामो बाटो छिचोलिसकेको छ । नेपाली ताराले उनको साङ्गीतिक कदको उचाई एक कदम माथि उठाए पनि समयले भने उति राम्रो साथ नदिएको देवेश राई बताउँछन् । नेपाली तारा सिजन ३ सकिएलगत्तै २/३ वटा सो गर्दागर्दै भूकम्पका कारण तत्काल बाँकी सो गर्न नपाएको खल्लो अनुभव देवेश सुनाउँछन् । भन्छन्, "सोहरुको अफर आइरहेको थियो । विडम्बना भनौँ या के भनौँ अचानक भूकम्प आयो र सायद बाँकी कन्सर्टहरुको योजना तालिकाहरु पनि भूकम्पले पुरिदियो । माहोल साम्य भएपछि जाउँला भन्दाभन्दै अडियन्सले बिर्सिसकेछ ।" यतिबेलासम्म हँसिलो मुद्रामै देखिन्छन् उनी ।
सायद, २०७२ साल बैशाख १२ को भूकम्प नजाँदो हो त देवेश आजसम्म पनि विभिन्न देशहरुमा 'माया ढल्किजाने पापी जोवन,' 'रिबन फरर घर हाम्रो बैनी दिक्तेल बजार' लगायतका गीतहरुमा हजारौँ दर्शकरश्रोता नचाइरहेका हुने थिए वा उनीसँग हुने थिए गीतहरुमा आफ्नो स्वर दिने भ्याइनभ्याइ सेड्युलहरु । नेपाली तारा सिजन ३ को उपाधि उचाल्न नसकेता पनि दर्शकरश्रोताले निकै रुचाएका प्रतिस्पर्धी थिए देवेश राई । राजधानी छिर्दा जो कोही पनि सपनाको बस चढेर आएका हुन्छन् । तर देवेश गायक बन्ने सपना बोकेर भने पक्कै छिरेका थिएनन् । काठमाडौँ घुम्नमात्रै आएका उनलाई दाजुभाइले नेपाली ताराको फर्म भरेर पठाइदिएका हुन् । परिवारको मन राख्न नेपाली तारामा सहभागी हुन गएका उनलाई सो मञ्चले सङ्गीतको उकालो सिँढीमा एक कदम माथि उठाएको कुरा देवेश स्वीकार्छन् । अधिकांशको सफलताको पछाडी परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ नै, देवेशको साङ्गीतिक करियरमा पनि परिवारको विशेष भूमिका छ भन्ने कुरामा दुईमत नहोला ।
एउटी आमा आफ्नो पहिलो सन्तानको जन्ममा जति खुशी हुन्छिन्, सायद जीवनमा एउटा गायक पनि आफ्नो पहिलो सोलो एल्बम सार्वजनिक हुँदा त्यति नै खुशी हुन्छ तर देवेशको हकमा भने ठिक विपरित भयो, भन्छन्, "मेरो पहिलो एल्बम सार्वजनिक हुँदा म एकदमै दु:खी र निराश थिएँ । एल्बम सार्वजनिक त भयो तर बजार थिएन । किनकि देश भूकम्पका कारण विषम परिस्थितिमा थियोे । देश दुखेको स्थितिमा थियोे ।" यति भन्दै गर्दा देवेश दु:खी मूडमा देखिन्थे ।
यामहाको रातो गिटार बोकेर काठमाडौँ छिरेका देवेशले समाजले देखिदिएको एउटा भरिलो स्टारको खोक्रो जीवनशैलीको बारेमा खुलेर कुरा गरे । देवेश भन्छन्, "स्टार कलाकारहरु आफ्नो अडियन्सलाई आफ्नो जीवनशैली सुन्दर, सुखी र लक्जरियस छ भन्ने देखाउने बहानामा आफू भित्रभित्रै ढाँटिएको पत्तै पाउँदैनौँ । आफू भित्रभित्रै भ्रममा बाँचेको थाहै नपाउने रहेछौँ," यसैमा फेरि उनी कुरा थप्छन्, "समाजले देखेको आवरण र कलाकारको भित्री पृष्ठको जीवनशैली सधैँ एउटै हुँदैन ।"
त्यो समयमा आफूसँग बुलेट बाइक भएको तर गोजीमा एक रुपैयाँ पैसा नभएको अनुभव सुनाउँदै भन्छन्, "अभावको बेला दिमाग पनि शून्य हुने रहेछ । थाहा छैन, सायद मैले पनि आफ्नो जीवनको आवरण सुन्दर देखाउने भ्रममा वा भोलिको दिन झन् दर्दनाक र पीडादायी हुन्छ भन्ने लागेर हो त्यो बेला बाइक बेच्ने हिम्मतचाहिँ गरिनँ ।"
कुनैकुनै कार्यक्रममा त ५ सय रुपैयाँ थमाइदिएको र आफैँले पैसा थपेर गाडीभाडा तिरेर आएको अनुभव सुनाउँछन् र भन्छन्, "यस्ता अभावहरु त कति भोगियो कति तर सुनाइरहनु आवश्यक लाग्दैन किनकि भोगाइले नै अभावसँग लड्न सिकायो ।"
पूर्वमा मङ्गोल परिवारका छोराछोरीहरु प्राय: लाहुरे हुने चलन छ । यो चलनले देवेशलाई पनि अछुतो राख्न पक्कै सकेन । लाहुरे परिवारमा हुर्किएका उनलाई लाहुरे हुने सोच नआएको पनि होइन, एकपटक उनी इण्डिया लाहुरेमा भर्तीसमेत हुन पुगेका तर सङ्गीतप्रतिको मोहले उसलाई साङ्गीतिक क्षेत्रमा तानिछाड्यो । यसैको फलस्वरुप देवेश अहिले स्थापित म्युजिक एरेन्जर मात्र नभएर नेपालकै चर्चित फ्रेन्चाइज सो 'द भ्वाइस अफ नेपाल २-३'को ध्वनि सम्पादकको रुपमा समेत व्यस्त छन् । देवेशलाई याद छ, आफूले एरेन्ज गरेको पहिलो गीतको पारिश्रमिक कति थियो, भन्छन्, "मैले रु. १५ सयबाट एरेन्जिङको काम सुरु गरेको हो ।"
अन्तिममा, देवेशले आफ्नो साङ्गीतिक जीवनमा पूर्वाञ्चल सङ्गीत विद्यालय इटहरीका गुरु गणेश रिजाल र कुन्दन राईको विशेष सहयोगलाई स्मरण गरे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...