फागु पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व (होली) आज हर्षोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व हिमाली एवं पहाडी जिल्लामा एकआपसमा रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पर्व मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । यस पर्वका अवसरमा आज काठमाण्डौको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधि उपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनि चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भएर मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमवार फागु मनाइँदै छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड(रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा गाडी समेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स(परिवार भेला भएर तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भएर मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देश इटली, अमेरिका, श्रीलङ्का,म्यानमार, थाइल्याण्डमा पनि मौलिक तरिकाले फरकफरक नाममा मनाउने गरेको पाइन्छ ।








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार