कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रूपमा २ सय ५० करोड बढी व्यापार गर्याे तर यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडसम्मको आँकडालाई छुन पाएनन् । एकपछि अर्को गर्दै लगातार ५ फिल्म फ्लप भए । जसमा अभिनेता सलमान खानको फिल्म ‘अन्तिम’ पनि परेको छ ।
फिल्म फ्लप हुनुको प्रमुख कारण थिएटरमा कम दर्शक आउनु र ओमिक्रोन भाइरसको डर पनि हो । बलिउडमा अहिले ओटीटी, हलिउड र दक्षिण भारतीय फिल्म प्रदर्शनको चाप बढ्दो छ । यस्तो अवस्थामा निर्माताले साना फिल्मको विषयगत रणनीति बद्ल्न सकेनन् ।
थिएटरले पनि सबै फिल्मको टिकटको मूल्य कम गरेनन् । यही अवस्था रहने हो भने बलिउडमा अझैँ संकटको बादल छाइरहने व्यापार विश्लेषकको बुझाई छ ।
फिल्म ‘सूर्यवंशी’को आक्रामक व्यापारले बलिउडको बक्सअफिसलाई पुनः जीवित बनायो । तर त्यसपछि आएका सलमान खान, सैफ अली खान र जोन अब्राहमजस्ता स्टारको फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’ जस्तो आक्रामक व्यापार गर्न सकेन । अर्थात् ‘सूर्यवंशी’बाहेकका फिल्मले केवल औषत व्यापार मात्र गरे । बलिउडमा ‘क्लासको होइन, मासको फिल्म चल्छ’ भन्ने भनाई छ । तर यसपटक ‘मास’लाई अपिल गरेर रिलिज गरिएको फिल्महरू नराम्रो पछारिएका छन् ।
फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जौहर आम दर्शक स्मार्ट बनेको स्वीकार्छन् । ‘सूर्यवंशी’पछि रिलिज भएका फिल्महरू पहिलो दुई, तीन दिनसम्म राम्रो चले पनि त्यसपछिको व्यापार खस्किएको छ । अहिलेका दर्शकहरू स्मार्ट प्रविधिमा फिल्म हेर्न चाहेकाले पनि रिलिज फिल्मले आफूलाई त्यस अनुकुल ढाल्न नसेको जौहरको बुझाई छ ।
जौहरले मध्यम बजेटको फिल्म असफल हुनु उद्योगका लागि ठूलो खतरा साबित भएको बताए । उनका अनुसार यही फिल्मले उद्योगको पाङ्ग्रा घुमाउछन् । एक वर्षमा ठूला बजेटका फिल्म बढीभन्दा बढी १० या १२ को संख्यामा आउन सक्छन् । तर मध्यम बजेटको फिल्मको संख्या वार्षिक रूपमा ३० देखि ३५ को हाराहारीमा रहन्छ । अधिकांश थिएटरको आर्थिक पूर्ती गर्ने काम यिनै कम बजेटका फिल्मले गरेका हुन्छन् ।
ठूला फिल्म तीनदेखि चार हजार स्क्रिनमा रिलिज हुन्छन् र बढीमा दुई सातासम्म थिएटर कब्जा गर्न सक्लान् । साना फिल्म कम संख्यामा स्क्रिनमा आउछन् र कैयौं सातासम्म थिएटरको व्यापारलाई जीवित राख्छन् । व्यापार विश्लेषकहरू विषयबस्तु र वितरण रणनीति, यी दुवै हिसाबले यी फिल्मलाई वेवास्ता गर्नु गलत रहेको बताउँछन् ।
गिरिशका अनुसार मध्यम बजेटको फिल्मको संकटलाई कम गर्ने एकमात्र उपाय भनेको टिकट दरमा कटौती नै हो । टिकट दर कटौतीमा मल्टीप्लेक्स चेन लचक हुनुपर्ने उनको भनाई छ । किनकी यिनीहरू फिल्म थिएटर बिजनेसको मेरुदण्ड हुन् । गिरिश अहिलेको तुलनामा टिकटको मूल्य अझ बढ्यो भने मानिसहरू थिएटर आउनुको साटो ओटीटी प्लेटफर्ममा फिल्म रिलिज पर्खिने दाबी गर्छन् । ‘मानिसहरूको मनोरञ्जनको शैली फेरिएको छ, यो कुरालाई उद्योगले भुल्नु हुँदैन’, गिरीश भन्छन् ।
फिल्म फाइनेन्स कन्सल्टेण्ट सञ्जय भण्डारी ओटीटीले विषयबस्तु र कलाकारको दुई मोर्चा खोलेको बताउछन् । उनका अनुसार आम दर्शकले डबिङ या सब टाइटलका माध्यमबाट तमिल र तेलुगु मात्र नभई दक्षिण कोरियाको राम्रा कथाबस्तु हेरिसकेका छन् । उद्योगले सानो सहर या बी र सी ग्रेड लक्षित दर्शकको बद्लिएको फिल्मी स्वादलाई नजर अन्दाज गर्न नसकेको सञ्जयको दाबी छ ।
सञ्जयका अनुसार अहिलेका दर्शक कास्ट सेन्सिटिभ छन् । एक फिल्म हेर्ने खर्चलाई उनीहरूले ओटीटीको एक वर्षको ग्राहक बन्न खर्च गर्छन् । परिवार र साथीभाईमाझ अलग–अलग ओटीटीको पासवर्ड दिन सकिन्छ । किनकी उनीहरूलाई थिएटरमा रिलिज भएको फिल्म पाँच सातामा ओटीटीमा आउछ भन्ने थाहा हुन्छ ।
बलिउडमा स्पोर्ट्स ड्रामा ‘८३’, दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘पृथ्वीराज’ जस्ता फिल्म रिलिजको पाइपलाइनमा छन् । यी फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने बुझाई छ । बलिउडको बक्सअफिसको सही मूल्यांकन यसै महिना ‘जर्सी’ र आगामी महिना ‘शाबास मीठु’, ‘बधाई दो’ र ‘अट्याक’ जस्ता मध्यम बजेटको फिल्मले गर्ने दाबी गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...