काठमाडाैँ - मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो ।

महोत्सव प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा हुनेछ । महाेत्सवमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । राजवंशी चलचित्रकर्मी समाज समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । 

समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए ।

महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसकालागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सव उद्घाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने बिभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ । सोही दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीबाट महोत्सव समापन हुनेछ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार