भारतीय सिनेमा जगत् अर्थात् बलिउड, जहाँ पुरुषको दबदबा छ । त्यहीँ महिलाहरू पनि पुरुषहरूलाई बराबरीको टक्कर दिन प्रयासरत छन्, अभिनय, निर्देशन, स्क्रिप्ट राइटर, सम्पादन, निर्माण आदिका क्षेत्रमा । 

तर, कुनै समय बलिउडमा अभिनयबाहेक अन्य क्षेत्रमा महिलाहरूको उपस्थिति शून्यप्राय थियो । यस्तोमा बलिउडको यो एकांगी रेकर्ड तोडिन् पहिलो महिला डाइरेक्टर फातिमा बेगमले । जसले बलिउडमा आफ्नो अमूल्य निर्देशनीय योगदान दिइन् ।

बेगमले निर्देशनका अलावा अभिनय र लेखकका रूपमा समेत आफ्नो महत्वपूर्ण योगदान दिएकी थिइन् । सिनेमामा उनको यसप्रकारको हस्तक्षेपकारी भूमिकाले कालान्तरमा महिलाहरूका लागि यस क्षेत्रमा प्रवेश गर्न सहज भयो । 
फातिमा बेगमको जन्म १८९२ मा एक मुस्लिम परिवारमा भएको थियो । बेगम सानैदेखि बलिउडमा आफ्नो करियर बनाउन चाहन्थिन् । 

यद्यपि, उनको यो सपना सजिलो भने थिएन । किनकी त्यसबेला बलिउडमा पुरुषहरूको दवदवा थियो । महिलाहरूको भूमिका केवल अनिवार्ताको हिसाबले रहने रोलहरूमा मात्र थियो । तर, फातिमाले हिम्मत हारिनन् । उनले शुरूवात गरिन्, उर्दूका नाट्य थियटरहरूबाट । 

थियटरबाट करियर शुरू गरेकी फातिमाले कालान्तरमा निकै प्रसिद्धि पाइन् । जसले उनलाई बलिउडमा प्रवेश पाउन सहज गरायो । उनले सन् १९२२ मा ‘वीर अभिमन्यु’ नामक चलचित्रबाट बलिउड प्रवेश गरिन् । जसका निर्माता अर्देशिर इरानी थिए । यसका साथै उनले बलिउडकी पहिलो महिला निर्देशकका रूपमा इतिहास लेखिन् । 

‘बुलबुल-ए-पारिस्तान’बाट पाइन् सिद्धी

वीर अभिमन्युको निर्देशनपछि भने फातिमा केही समय अभिनयतिर लागिन् । उनले १९२४ मा सीमा सरदवा, पृथ्वी बल्लभ, काला नाग र गुल-ए-बकवालीजस्ता सिनेमाहरूमा अभिनय गरिन् । त्यस्तै, १९२५ मा आएको ‘मुम्बई नी मोहनी’मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिन् । 

निर्देशकीय भूमिकामा रमाउने फातिमाले सन् १९२६ मा आफ्नै फिल्म कम्पनी शुरू गरिन् । नाम राखिन्, ‘फातिमा फिल्म्स’ । २ वर्षपछि उनले सोही फिल्म कम्पनीको नाम बद्लेर ‘भिक्टोरिया फातिमा फिल्म्स’ राखिन् । 

कम्पनी बनेसँगै उनले तीन वर्षको अन्तरालमा ७ फिल्मको निर्देशन गरिन् । १९२६ मा बुलबुल-ए-पारिस्तान, देवी अफ लभ ९१९२७०, १९२८ मा हीर राँझा र चन्द्रवली तथा १९२९ मा शकुन्तला, मिलान, कनकटारा, भाग्य की देवीजस्ता फिल्मको निर्देशन गरिन् । 

बुलबुल-ए-पारिस्तान उनले निर्देशन गरेको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ । यहीँबाट उनले महिलाले पनि राम्रा सिनेमा निर्देशन गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । 

यस फिल्ममा हलिउडमा प्रयोग हुने ‘स्पेशल इफेक्ट’समेत प्रयोग गरी फिल्मलाई गुणात्मक रूपमा समेत उत्कृष्ट बनाउने प्रयास गरिएको थियो । जसले गर्दा फिल्म तुलनात्मक महँगो बनेको मानिन्छ । 

बलिउडमा दिइन् बहुमूल्य योगदान र...

फातिमा बेगम केवल निर्देशनमा मात्रै सीमित रहिनन् । यसका साथै उनले कयौँ फिल्ममा स्क्रिप्ट राइटरको भूमिका समेत निभाइन् । 

यस्तै उनले घरेलु भिक्टोरिया फातिमा फिल्म्सको ब्यानरका अलावा कोहिनूर र इन्पिरियल  स्टुडियोको ब्यानरमा समेत अनेकौँ फिल्म निर्देशन गरेकी छन् । 

फातिमा बेगमको अन्तिम फिल्म ‘दुनियाँ क्या कहेगी’ हो । यसपछि भने उनले बलिउडबाट बिदा लिइन् । बेगम आफ्नो १६ वर्षको करियरमा बलिउडमा ऐतिहासिक रूपमा पृथक पहिचान बनाउन सफल भइन् ।  

बलिउडकी पहिलो महिला निर्देशक फातिमा बेगमको देहान्त भने सन् १९८३ मा ९० वर्षको उमेरमा भयो । 

भारतीय सिनेमा जगतमा बेगमलाई आज पनि बडो स्नेहपूर्वक स्मरण गरिन्छ ।

एजेन्सीहरूकाे सहयाेगमा
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार