काठमाडौँ – शिल्पी थियटरकाे मुक्त रंगमञ्च अभियान अन्तर्गत अहिले उपत्यकाका सार्वजनिक स्थल, डबली र चोक-चौतारामा खुला नाटक मञ्चन भइरहेको छ । 

मुक्त रंगमञ्चअन्तर्गत अहिले ‘ठूला माछा साना माछा’ नाटक प्रदर्शन भइरहेकाे हाे । दसैँ र तिहारकाे बीचमा उपत्यका बाहिरका सुनसरी, झापा र माेरङका विभिन्न २० ठाउँमा प्रदर्शित भएकाे नाटक अहिले उपत्यकाका विभिन्न ठाउँहरूमा प्रदर्शित भइरहेकाे छ । 



घिमिरे युवराजको परिकल्पनामा तयार भएको नाटक अहिलेसम्म उपत्यकाका विभिन्न १३ ठाउँहरूमा प्रदर्शन गरिसकिएकाे छ । 

करिब एक दर्जन कलाकार रहेको नाटकमा कृष्णभक्त महर्जन, रेनुका कार्की ढोली, संगिता उराँव, पवित्रा खड्का, मञ्जु श्रेष्ठ, मानहाङ लावती, सविन कट्टेललगायत कलाकारले अभिनय गरेका छन् ।



खुला ठाउँमा सिर्जनात्मक रंगकर्म गर्ने अभ्यासका रूपमा ठूला माछा-साना माछा मञ्चन गरिएको नाटकका निर्देशक एवं परिकल्पनाकार घिमिरे युवराजले बताए । खुला ठाउँमा मञ्चन गरिए पनि याे सडक नाटक भने नरहेकाे उनले बताए । 

उपत्यकामा मंगलबारसम्म चल्ने नाटक देशव्यापी रूपमा लैजानेसमेत घिमिरेले बताएका छन् । उपत्यका बाहिर २ नम्बर प्रदेशमा छिट्टै नाटक प्रदर्शन हुने उनले बताए । 



हरेक ठाउँअनुसारकै स्थानीय भाषा, संस्कृतिसहित त्यहीँका मुद्दा उठाइने भएकाले यो नाटक परिमार्जन गरेर प्रस्तुत हुँदै आएको छ । घिमिरेले भने, 'जुन ठाउँमा जान्छाैँ, रिहर्सल गर्दै त्यहीँकाे नयाँ कलाकार र त्यहीँकाे भाषामा प्रस्तुत गर्ने गरेका छाैँ । यसले नाटकलाई स्थानीय परिवेशसम्बद्ध गराउन सकिन्छ ।'

उपत्यकामा प्रदर्शित नाटकमा नेपाल र नेपाली भाषा समावेश गरिएकाे छ भने उपत्यका बाहिर पूर्वमा नेपालीसँगै त्यहीँका मैथिली, उराँव, थारूलगायत भाषामा संवाद राखिने छ ।

निर्देशक घिमिरेका अनुसार नाटकका विषयवस्तुका रूपमा  राजधानीमा सम्पदा र संस्कृतिलाई प्राथमिकता दिइएकाे छ ।



नाटकलाई स्थानीयकरण गर्न कम्तीमा १० दिन लाग्ने गरेकाे निर्देशक घिमिरेले बताए । स्थानीय कलाकारलाई राजधानीमै बाेलाएर रिहर्सल गरी नाटकलाई स्थानीय स्वरूप दिने गरेकाे उनले बताए । घिमिरेका अनुसार २ नम्बरपछि सुदूरपश्चिममा पनि नाटक प्रदर्शनीकाे याेजना रहेकाे छ । 

स्थानीय भाषाका संवादहरूलाई समेत समावेश गर्दा नाटकप्रति स्थानीयकाे अपनत्व महसुस हुने र त्यसले नाटककाे सन्देशप्रवाहमा समेत भूमिका खेल्ने गरेकाे अनुभव उनकाे छ । त्यसका लागि उनले तीन देखि चार जना स्थानीय कलाकार समावेश गर्ने गरेकाे उनले बताए । 



नाटकमा स्थानीय विषयवस्तुका साथै राज्य संयन्त्र, राजनीतिक दल तथा दलालहरूको चंगुलमा परेर कसरी आम सर्वसाधारण पाइला पाइला सास्ती खेप्दै आएका छन् भन्ने कुरा देखाउन खाेजिएकाे छ । 








तस्वीरहरूः असिम खनाल

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार