काठमाडौँ - सुनिता थेगिम र सेमिहाङ सिंगकको आवाजमा रहेको ‘साम्याङ्फूङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बु भाषाको सो गीत ललितपुरस्थित युङछाहिम सेकुवा कर्नरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गायक राजेशपायल राई, प्रथम नेपाली तारा दिपक लिम्बु, गायक कुसल थलङ, ब्रबिम सेर्मा, गंगा फियाक, निर्देशक हाङ चेम्जोङ, गीतकार मिना सिंगक, गायिका जसोदा सुब्बा, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, निर्माता तथा निर्देशक सागर केरुङ लगायत थुप्रै कलाकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा कार्यक्रमका प्रमुख अतिथि राजेशपायल राईले ‘साम्याङ्फूङ’ मुटुमा छुने किसिमको गीत रहेको बताए । उनले आफूले लिम्बु भाषाको गीत गाउन शुरू गरेको समयमा धेरै लिम्बू कलाकारहरू आफूहरूलाई लिम्बु भाषा गाउन आउँदैन भन्ने गरेको, लिम्बु भाषाका गीतहरू गाउनुपर्दा लजाउने गरेको बताउँदै अहिले भने यसरी लिम्बु गीतसंगीत गर्व गर्न लायक भएको बताए ।
कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले राजेश पायल राई, दिपक लिम्बु, सुनिता थेगिमहरूले सांगीतिक क्षेत्रको राष्ट्रिय स्तरमै आदिवासीकोहरूको प्रतिनिधित्व गरेका कारण सम्मान गर्न चाहेको बताइन् । उनले यस्तो अवस्थामा पनि लिम्बु भाषााको म्युजिक भिडियोहरू एकपछि अर्को गर्दै आइरहनु अति नै गर्वको कुरा रहेको पनि बताइन् ।
अर्का अतिथि ब्रमिम सेर्माले ‘साम्याङ्फूङ’ माथि कुनै प्रश्नै नरहेको, अत्यन्तै राम्रो भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै, निर्देशक हाङ चेम्जोङले लिम्बु गीतसंगीतमा अझै कसरी फरक र राम्रो काम गर्न सकिन्छ, जसले गर्दा लिम्बु गीतसंगीतले अझैँ उचाइ प्राप्त गर्छ भन्नेबारेमा सोच्नुपर्ने बताए । त्यस्तै यस्ता कार्यक्रमहरूले एकआपसमा आत्मियता बढेको पनि बताए ।
शुभकामना दिने क्रममा अर्का अतिथि सागर केरुङले लिम्बु भाषा बोल्नुपर्छ मात्रै भन्ने तर आफूले नबोल्ने गरेको पाइएको बताउँदै सुरुवात आफूबाटै हुनुपर्ने बताए । उनले लिम्बु भाषाको गीत धेरै बनेको तर लिम्बु गीत ५/१० प्रतिशत मात्रै बनेको बताए । ‘यहाँ आउने, गाउने, नाच्ने, थुक्पा खाने, हात समातेर धान नाचेर फेसबुकमा लाइभ गरेर समापन गर्ने किसिमको कार्यक्रम गर्नेभन्दा पनि लिम्बु चलचित्रकर्मी, गीतकार, संगीतकारहरूले ज्ञान मिमांशाको बारेमा बहस गुर्नुपर्छ, सत्ताको बारेमा बहस गर्नुपर्छ’, उनले भने । लिम्बु गीत र लिम्बु भाषाको गीतमा भिन्नता रहेको केरुङ बताउछन् । लिम्बु गीत बन्नलाई लिम्बु जीवनदर्शन झल्किनुपर्ने, मौलिक वाद्यवादन र मौलिक मेलोडी हुनुपर्ने बताए ।
गायक स्वयंकै शब्द र संगीत रहेको ‘साम्याङ्फूङ’को म्युजिक भिडियोमा रेखा फागो भिडियोका, मौसम इम्बुङ (फुरुलेन्देको बाउ), प्रेम सुब्बा, दिनेश माङ्मुको अभिनय रहेको छ भने छायाङ्कनमा भुपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मुको कोरियोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।
भिडियो सेमिहाङ क्रिएशन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...