घाम डुबिसकेको थियो । पाटन ढोकाको 'ढोकाइमा क्याफे'भित्रको यलमाया केन्द्रको प्राङ्गणमा एउटा मञ्च सजाइ सकिएको थियो । मञ्चको पछिल्तिर कर्णालीका रङहरु लेखिएको ब्यानर टाँगिएको थियो । मञ्चमा तयार थिए केही रैथाने बाजाहरु ।
क्रमशःकवि,कलाकार,गायक/गायिका अभिनेतादेखि लिएर बौध्दिक सर्कलका व्यक्तिहरु आउने शिलशिला जारी थियो । खास कार्यक्रम कर्णालीको सहयोगार्थको निम्ति तार तौम्य मिलाएका थिए कर्णाली आर्ट सेन्टरका रंगकर्मी हिरा बिजुली लगायत वहाँका टिमले ।  यलमाया केन्द्रको हलमा आर्ट एक्जिभिसन चलिरहेको थियोे । कवि,कलाकार लगायत अधिकांश व्यक्तिहरु आर्ट नियाल्न तल्लीन थिए । 

कार्यक्रम सञ्चालिका कवि सकुन्तला जोशीले कार्यक्रमको पर्दा खोलिसकेपछि डोल्फु भाकामा फुर्वा शेर्पाले प्रस्तुति दिन थाल्दा माहोल कार्यक्रमतिर केन्द्रित हुन थालेको थियो । कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्वेश्य र कर्णाली आर्ट सेन्टरको यात्राको बारेमा हिरा बिजुलीले छोटकरीमा व्याख्या गरेपछि मञ्चमा निम्त्याएको थियो रैथाने संगीतको संरक्षणमा बर्षौँदेखि अहोरात्र तल्लीन चर्चित गायिका झुमा लिम्बुलाई । वहाँको नाम जब कार्यक्रम सञ्चालिकाले उद्घोष गरिन् माहोलबाट तालीको गड्गडाहड सुरु भयो । झुमा मञ्चमा उत्रिनसाथ 'डाँफे हिमालै'बोलको देउडा गीतले माहोललाई  आफुतिर तानिन् ।  यसैगरी क्रमश:लिम्बूले पुर्वदेखि पश्चिमसम्मको रैथाने गीतहरु देउडा,हाक्पारे र लोक फ्युजनको गीतहरु गाएर दर्शकहरुलाई झुमाए । 

मञ्चबाट झुमा ओर्लिएपछि मञ्चमा उभिए गायक तथा संगीतकार डा.लोचन रिजाल । डा.रिजालले आफ्नै पृथक फ्लेवरमा सारङ्गी र टुङ्नाको धुनमा गीत गाएर माहोल तताए । 

साँझ निकै अबेर भइसकेको थियो । कार्यक्रममा उपस्थित दर्शकहरु साँझको ठिहि सहन गाह्रो मान्दै थिए । कोहि घर फर्किने तरखरमा थिए । तर जब मञ्चमा कवि/लेखक बुध्दि सागरलाई बोलाइयो तब घर जान तम्सिएका एकाध दर्शकहरु पनि नरोकिइकन धरै पाएनन् । सागरले 'बुढो कालिकोट'सहित आधा दर्जन कविता प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार