इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २० डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
संसद विघटन
नेपालको इतिहासमा आजकै दिन अर्थात् पौष ५ गते, गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे ।
५ गते आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक डाँकेर उनले संसद विघटन सिफारिस गरेका थिए ।
वर्तमान संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली गर्ने गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ (७) मा प्रावधान छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका थिए । अवैधानिक रूपमा गरिएको संसद विघटन विरुद्ध तत्कालै सर्वाेच्च अदालतमा मुद्दा पर्यो । त्यस्तै ओलीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध भएको थियो । पछि अदालतले संसद पुनःस्थानपना गरिदियो ।
बेलायतमा लामो समय शासन गर्ने महारानी
सन् २००७ मा बेलायतकी महारानी एलिजावेथ द्धितीय बेलायतको राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी बनेकी थिइन् । यसअघि महारानी भिक्टोरियाले सबैभन्दा लामो समय शासन गरेकी थिइन् । महारानी भिक्टोरियाको ८१ वर्ष सात महिना २९ दिनपछि सन् १९०१ को २२ जनवरीमा मृत्यु भएको थियो ।
चीनलाई पोर्चुगल हस्तान्तरण
सन् १९९९ मा मकाउमाथिको सार्वभौमसत्ता पोर्चुगलले चीनलाई हस्तान्तरण गरेको थियो । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई १६ औं शताब्दीको मध्यदेखि सन् १९९९ सम्म शासन गरेर पोर्चुगलले आजकै दिन अर्थात २० डिसेम्बरमा बेइजिङलाई हस्तान्तरण गरेको थियो । मकाउको आफ्नै न्याय प्रणाली र मौद्रिक तथा आप्रवासी नीति छ ।
पानामामाथि अमेरिकाको आक्रमण
सन् १९८९ मा अमेरिकाले पानामाथि अतिक्रमण सुरु गरेको थियो । अपरेसन जस्ट कज नाम दिइएको सो अतिक्रमण तत्कालिन राष्ट्रपति जर्ज एचडब्लू बुसको शासन कालमा भएको थियो । सन् १९९० को ३१ जनवरीमा अतिक्रमण समाप्त भएको थियो ।
स्पेनका प्रधानमन्त्रीको हत्या
सन् १९७३ मा स्पेनका प्रधानमन्त्री क्यारेरो ब्लान्कोको हत्या भएको थियो । ब्लान्कोलाई बिखन्डनकारी समूह इयुस्कादी ता अकस्तासुनाका कार्यकताले हत्या गरेका थिए ।
अमेरिकी सेनालाई अन्तरिक्षमा फौज स्थापना गर्ने ढोका खुल्यो
सन २०१९ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल डिफेन्स अथराइजेसन एक्टमा हस्ताक्षर गरेका थिए । सो कानुनमा हस्ताक्षर गरेसँगै अमेरिकाले अन्तरिक्षमा आफ्नो फौज गठन गर्ने ढोका खुलेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...