इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १६ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
राष्ट्र झण्डा दिवस
२०१९ साल पुस १ गते नेपालले आफ्नो राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अंगीकृत गराएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान प्रतिष्ठानले ०७५ सालदेखि हरेक वर्षको पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाउँदै आएको छ । नेपालकाे झण्डा विश्वमै अलग पहिचान बनाउन सफल छ ।
काजकिस्तान स्वतन्त्र
सन् १९९१ मा आजकै दिन मध्यएशियाली देश काजकिस्तान स्वतन्त्र भएको थियो । सन् १९२० मा काजकिस्तान तत्कालिन सोभियत संघको स्वायत्त गणराज्य बनेको थियो ।
भारत पाकिस्तान युद्ध अन्त्य
सन् १९७१ मा भारत र पाकिस्तानबीचको युद्ध अन्त्य भएको थियो । बंगलादेशको स्वतन्त्रत युद्धलाई भारतले समर्थन गरेपछि भारत र पाकिस्तानबीच तेस्रो युद्ध भएको थियो । स्वतन्त्र वंगलादेशको स्थापनापछि १३ दिनमा भारत र पाकिस्तानको तेस्रो युद्ध अन्त्य भएको थियो ।
बोस्टन टि पार्टी
सन् १७७३ मा अमेरिकाको बोस्टनमा टि पार्टी आयोजना भएको थियो । बेलायतले नियन्त्रण गरेको बोस्टनबासीलाई बोस्टन बन्दरगाहको चियामा भारी कर लगाइएको थियो । बोस्टन टि पार्टीलाई अमेरिकी क्रान्तिको महत्वपूर्ण घटना मानिन्छ ।
माउन्ट फुजीमा लामो बिस्फोट
सन् १७०७ मा माउन्ट फुजीमा पछिल्लो पटक अहिलेसम्मकै लामो ज्वालामुखी बिस्फोट भएको थियो । होइ इरप्सन नाम दिइएको सो बिस्फोट १७ दिनसम्म भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...