सुमन लिङदेन

फोटोग्राफी गर्न रुचाउने ईलामका सुमन लेखक हुन् ।

हिमालले आफ्नो वक्षस्थलमा सजाएको पोखरीको यो सौन्दर्यले यादहरुको घुम्तिमा यस्तो ठाउँ बनाईदियो, त्यहाँको अनौठो संयोग र घटनाले म घरिघरी तानिईरहन्छु। हिमाली पदयात्रा यसै रोमाञ्चक हुँदो हो, औँ जोखिम र साहसपुर्ण पनि। तपाईं जब हिमाली यात्राको प्रेममोहमा बाँधिनु हुन्छ नि, तपाईंमा एक्लै एक्लै पदयात्राको रुमानी सफरमा निस्कन रुचाउनुहुन्छ। आफैँमा हराउनु हुन्छ। संवाद आफैसँग गर्नुहुन्छ। पोखरीको यहि सौन्दर्यले गर्दा दुई पटक यहाँ तानिए। धित अझै मरेको छैन। 

संसारको पाँचौ अग्लो हिमाल। स्थानिय नामले कान्छि हिमाल पनि भनिदो हो। संखुवासभा जिल्लामा पर्ने मकालु हिमालको आधार शिविरको पदमार्गमा पर्छ यो पोखरी। करिब चार हजार मिटरको उचाइमा अवस्थित यो पोखरीलाई स्थानियले बडो श्रद्दाले नामकरण गरिदिएका रहेछन् "सानो पोखरी"। उकालोको निक्कै लामो यात्रापछि त्यो ठाउँ उक्लिएँ। छिनभरमै अघिको थकान बिर्सेजस्तो भो। प्रकृतिको यस्तो मोहक सौन्दर्य थियो त्यहाँ । जसको लागि तपाईं हिमाली यात्रामा भौतारिनु हुन्छ। 

बादलको फेरो हिमालको छातिसम्म थियो। त्यहाँभन्दा मुनिका ठाउँहरु सबै छोपिएका थिए। पर... देखिन्थ्यो हिमालको अर्को चुचुरो। बादलको तलाउ यस्तो बाक्लो थियो कि, बादल माथिमाथि हिँडेरै पुगौँ अर्को हिमाल। सौन्दर्यमा अल्झिएँ त यात्रा अधुरो रहन्छ। यथार्थलाई फेरि याद बनाएँ मैले।

यात्राको केही बेरपछि सानो पोखरी निस्किएँ। दिन ढल्किएको कारण सुर्यको किरण पोखरीमा परेको थियो। पोखरीमाथि इन्द्रेणी रंगहरु खेलिरहेका थिए। यति अग्लो ठाउँमा हिमालले आफ्नो छातिमा सजाउँछ पोखरी। हिमाली जीवजनवार तथा पंक्षीहरुले त्यहिँबाट प्यास मेटाउँछ। लाग्यो, प्रकृति अजिव छ। अद्भुत छ। केहिछिनको बिश्रामपछि बाँकी यात्राको तयारीमा थिएँ। कतैबाट केही आवाज आएजस्तो भो। कुनै चराको हुनुपर्छ भनेर खासै वास्ता लागेन। आवाज धेरैपल्ट दोहोरिएकोले ध्यान खिच्यो। मानिसकै रहेछ, पोखराको अर्को कुनामा टेण्ड गाडिएको थियो। उनी जापनिज चित्रकार रहेछन्। यात्रा गर्न मन पराउने, मनपरेको सौन्दर्यलाई चित्रमा उतार्ने। यादहरुलाई बचाउने उनीसँग गज्जबको कला थियो। 

तीन दिन यता उनी त्यहिँ रहेछन्। साँझमा देखिने पोखरीको सौन्दर्य चित्रमा उतार्न उद्दत देखिन्थे। आधा बन्दै गरेको चित्र उनले नहेर्नु नै भने । बडो कर गरेपछि उनले भने 'हाम्रै अघि छ गज्जबको चित्र, खुल्ला आँखाले हेर्नुहोस्'। पोखरी देखाए उनले।

चित्रकला सम्बन्धि केही कुरा भयो। बाँकी त यात्रा बारे नै। जापनिज मित्रले कफि तयार गरे। अहौ, हिमालमा कफि? बडो गज्जप भो। कुराकानीको लम्ब्याईले मित्रको एक दिन अझै लम्बिने डर थियो। त्यसैले केहिबेरको बसाईपछि हामी छुट्टियौँ, फिर्दा भेटने बाचासहित। यसो गम्छु, अहिले, कहाँ सजिएको होला त्यो सानो पोखरीको चित्र।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सुमन लिङदेन

लेखकबाट थप...