राजन पराजुली

दुई वर्षदेखि कोरोना भाइरसको कारण घरमा नै बस्न बाध्य भएका छौँ हामी नेपालीहरू । कहिले देश कोरोनामुक्त होला र पूरानो जीवनशैलीमा फर्किइन पाइएला भनेर सोची बसेका छौँ । उही पूरानो जीवन, उही पूरानो जीवन शैली, उही पूरानो घुमघाम । कतिबेला कोरोना सकिएला र घरबार घुम्न बाहिर जाउला भन्ने सोच धेरैको छ यतिबेला । घर बस्दा बस्दै वाक्क भै सकेको अवस्थामा छौँ । घर बाहिर निस्किए कोरोनाको डर छ । घरभित्र बसी रहौँ दिमाखमा अनेकौ कुरा खेली रहन्छ । स्वास्थ हावा खाँदै साथीहरूसँग घुम्न निस्किने दिनको पर्खाइमा छौँ । काम परेर घरबाट निस्किनु परिहाले पनि मुखमा माक्स छोड्न पाइँदैन । साथीभाइसँग मिलेर पाटी, वनभोज, रमाइलो गर्ने कुरो त अब कोरोना सकिएपछि नै हुने छ ।

कोरोना सकिएपछि स्वास्थ्य हावा खाँदै घुम्ने रहर बनाउनु भएको छ भने त्यो रहर चितवनको गोलाघाट क्षेत्रले पूरा गर्ने छ । स्वास्थ्य हावा, स्वास्थ्य वातावरण र शान्त क्षेत्र हो गोलाघाट । तपाईंंलाई सूर्य अस्ताएको नजिकबाट हेर्ने रहर पनि गोलाघाट क्षेत्रले पूरा गरी दिने छ । राप्ती र नारायणीको पानी एकै ठाउँ मिसिएर बग्ने क्षेत्र हो गोलाघाट । एक क्षेत्रबाट राप्ती नदी सुसाउँदै बग्दै बग्दै आइपुग्छ अनि अर्को क्षेत्रबाट नारायणीको चिसो पानी सुसाउँदै आइपुग्छ र अन्तमा दुबै मिसिएर बग्ने छन् । यो रमाइलो दृश्य हेर्न केवल गोलाघाट क्षेत्रमा पाइन्छ । भरतपुर चौबिसकोठीबाट पश्चिम क्षेत्रमा पर्छ गोलाघाट । लगभग चौबिसकोठीदेखि २७-२८ किलोमिटर पश्चिम क्षेत्र अर्थात् चितवनको बसोबास भएको अन्तिम भू-भाग हो गोलाघाट क्षेत्र । भरतपुर महानगर पालिका २८ मा अवस्थित यो क्षेत्र पर्यटक नगरी नै हो । मन बेचैन भई रहेको छ भने, मन अशान्ति भै रहेको छ भने, दिमाखमा ठूलो बोज परेको छ भने यो क्षेत्रमा पाईला टेकेपछि शान्त हुन्छ । एक पट्टी राप्ती नदीको आवाज अनि नदी पछाडि जङ्गल अर्को पट्टी नारायणी नदी नदी पछाडि जङ्गल हेर्दा नै अति सुन्दर लाग्ने ठाउँ हो गोलाघाट । जब साँझ पर्न थाल्छ तब जङ्गलभित्र चराचुरुङ्गीको आवाज सुनिन थाल्छ । माथि आकाशमा सूर्य ठूलो ठूलो रातो हुँदै नजिकबाट नै अस्ताउन थालेको जस्तो महसुस हुन्छ । दुई नदीको आवाज एकै नदीमा मिसिएर वातावरण नै मिठास बनाई दिन्छन । अझ राप्ती नदीमा डुगा सफारी गर्दाको मज्जा नै बेग्लै हुन्छ ।
राप्ती नदीको किनारमा घाम तापि रहेका गोहीको अवलोकन गर्दा आनन्द महसुस गर्न सकिन्छ ।



चौबिसकोठीबाट यस क्षेत्र आउन यातायातको सुविधा पनि छ । आफ्नै निजी सवारी साधन लिएर पनि यस क्षेत्र आउन सकिन्छ । यस क्षेत्रमा कोरोना भाइरस आउनु भन्दा अगाडी हरेक दिन सयौँ स्वदेश तथा विदेशी पर्यटक दुई नदी मिसिएको क्षेत्र अनि सूर्य अस्ताएको दृश्य हेर्न आउथे । कयौँ प्रेमील जोडिहरू आफ्नो प्रेम समधुर पार्न आउथे भने कयौँ परिवार शान्त वातावरणमा भोज, पिकनिक खादै सूर्य अस्ताएको दृश्य हेर्न आउथे । कयौँ नदी क्षेउमा बनेका होटलमा ताजा नारायणीको माछा खादै सूर्य अस्ताएको दृश्य हेर्न लालायित हुन्थे । तामाङ, कुमाल, बाहुन, थारू हरेक जातजाति बसोबास गर्ने क्षेत्रमा गनिन्छ यो गोलाघाट क्षेत्र । तपाईं पनि कोरोनाको कहर सकिएपछि कतै घुम्ने योजना बनाउदै हुनु हुन्छ भने त्यो योजना मा पहिलो नम्बर गोलाघाट क्षेत्रलाई राख्नु होस् । लामो समयको अन्तरालमा तपाईं कतै सुन्दर नगरी घुम्न निस्किने सोचमा हुनु हुन्छ भने गोलाघाट क्षेत्र तपाईंलाई पर्खी रहेको छ । नजिकबाट सूर्यास्त भएको देख्न सकिने । दुई नदी राप्ती र नारायणीको मिस्रण भएको ठाउँ अवलोकन गर्न सकिन्छ । नदीमा डुङ्गा सवार गर्न सकिने र स्थानीय परिकार सेवन गर्न सकिने एक मात्र ठाउँ हो गोलाघाट ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।