भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

विश्वभरि हिंसाका विभिन्न स्वरूपहरू छन् । शारीरिक, मानसिक, आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, वातावरणीय जस्ता थुप्रै पक्षका व्यापक क्षेत्रहरूमा हिंसाका विभिन्न स्वरूपहरू अस्तित्वमै छन् । हिंसाका कारण व्यक्तिहरूले विभिन्न प्रकारका शारिरिक, मानसिक, संवेगात्मक लगायत थुपै पक्षका समस्याहरू भोग्ने गर्छन् । नेपालमा जहाँ आयामिक रीतिरिवाज, संस्कृति, चालचलन, शैक्षिक स्थितिहरू छन् । उल्लिखित स्थितिहरूको आधारमा हिंसाका विभिन्न स्वरूप देखा परिरहन्छन् । यसरी देखा परिरहने विभिन्न हिंसाका स्वरूपमध्ये एक प्रमुख हिंसा हो लैङ्गिक हिंसा । लैङ्गिक हिंसा भनेको के हो बुझ्नुपूर्व बुझ्न जरुरी छ के हो हिंसा ? 

के हो त हिंसा ?

हिंसा भन्नाले कुनै पनि व्यक्ति/समुदायको इच्छा विपरीत वा प्रचलित कानुन विपरीत उक्त व्यक्ति वा समुदायमाथि गरिने/हुने नकारात्मक असर पार्ने कार्य हो । अर्काे शब्दमा भन्दा, कुनै पनि व्यक्ति वा समुदायले अर्को व्यक्ति वा समुदायलाई पीडा दिने, हानी पुर्याउने, असर पुर्याउने, अपकार गर्ने, ज्यानलिने/काटमार गर्ने, हत्या गर्ने, बलजफती गर्ने, धम्की तथा डर देखाउने कार्य हो हिंसा । सामान्य अर्थमा बुझ्नु पर्दा कुनै पनि व्यक्तिको इच्छा विपरीत दाेस्राे व्यक्तिले पहिलो व्यक्तिलाई मन नपर्ने, उसलाई असर पार्ने काम गर्ने, इज्जत प्रतिष्ठामा आँच वा दाग लगाउने प्रयास गरीनु वा कार्य गरीनु हिंसा हो ।

अब के हो त लैङ्गिक हिंसा ?

लैङ्गिक हिंसा भन्नाले लिङ्गको आधारमा गरिने हिंसा हो । अझ भनौँ सार्वजानिक तथा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, मानसिक, आर्थिक, राजनैतिक, यौनजन्य रूपमा असर पुर्याउने वा पीडा दिने काम गर्नु नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा र Lgbtiq को सन्दर्भमा यसअघि नै यसै अनलाइनमा लेख प्रकाशन गरीएको छ ।

लिंकः लैङ्गिकता र LGBTIQ 

अब कुरा गरौँ लैङ्गिक हिंसाका प्रकारहरूका बारेमा

लैङ्गिक हिंसाका प्रकार  के-के हुन् ?

लैङ्गिक हिंसाका प्रकारलाई विभिन्न तरिकाले वर्गीकरण गरी हेर्न सकिन्छ । हिंसाका सन्दर्भमा विभिन्न विद्वान तथा अध्ययनका आधारमा विभिन्न स्वरूप देखिने गरेका छन् । हिंसा हुने ठाउँ, हिंसा भोग्ने उमेर समूह, हिंसा भोग्ने लिङ्ग, हिंसा भोग्ने समुदाय अनुसार यसका आयाम फरक हुनु स्वाभाविक छ । नेपालको परिपेक्ष्यमा लैङ्गिक हिंसाको स्वरूप आफ्नै प्रकारको छ । सोहीअनुरूप केही प्रमुख प्रकारहरूलाई यहाँ छलफलमा ल्याइने छ ।

१. घरेलु लैङ्गिक हिंसा

घरभित्र लिङ्गका आधारमा हुने लैङ्गिक हिंसा हो घरेलु हिंसा । छोराछोरीबीच भेदभाव गर्नु, छोरी बुहारीबीच भेदभाव गर्नु, lgbtiq समूहकालाई परिवारबाट विभेद गर्नु र उनीहरूलाई पीडा दिनु । शारीरिक बनावट तथा शारीरिक क्षमतामा निहीत रही भेदभाव गर्नु यी हुन्न घरेलु हिंसा । लैङ्गिक हिंसाको प्रमुख उद्गमस्थल नै घर हुन्छ । छोराछोरी  तथा लैङ्गिक अल्पसंख्यक, बुहारी, काम गर्न राखिएका वा घरमा शरण दिएर राखिएका सन्तानमाथि  गरिने, शारीरिक, मानसिक, संवेगात्मक, व्यावहारिक, सांस्कृतिक, आर्थिक विभेद, पीडा प्रदान गरीनु नै लैङ्गिक हिंसाको पहिलो स्रोत हो ।

२. सार्वजनिक स्थलमा हुने हिंसा

सार्वजनिक स्थलमा लिङ्गका आधारमा हुने हिंसा भन्ने बुझाउँछ । सार्वजनिक स्थल भन्नाले, सार्वजनिक सवारी साधन, बाटो, चोक, विद्यालय, कार्यस्थलमा लिङ्गका आधारमा पीडा दिइन्छ भने त्यो लैङ्गिक हिंसा हो । कार्य स्थलमा जुनियर स्टाफलाई हेप्नु, उसकाे कार्य क्षमतामा दखलअन्दाज गर्नु, बाटो तथा चोकमा असामाजिक व्यवहार प्रस्तुत गर्ने, सिठी बजाउने, अश्लील शब्द उच्चारण गर्ने, अश्लील हाउभाउ प्रस्तुत गर्ने, सार्वजनिक यातायात तथा भिडभाडमा असहज तरिकाले छुने, चिमोट्ने, हान्ने, छुने, यौनजन्य गतिविधि गर्ने, र दाेस्राे व्यक्तिलाई असर पार्ने पीडा दिने काम गर्नु नै सार्वजनिक स्थलमा हुने हिंसा हुन् । लैङ्गिक अल्पसंख्यक र महिलालाई सबैभन्दा बढी हिंसा गर्ने गरेको पाइन्छ । यसरी हिंसा गर्नका लागि कुरा काट्ने, अरूसँग दाँज्ने , सामाजिक सांस्कृतिक रूपमा आएका तुच्छ शब्दको प्रयोग गर्ने र लज्जित बनाउने कार्य गरिन्छ । 

३. साइबर हिंसा 

प्रविधिको विकाससँगै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनको प्रगोग व्यापक बढेको छ । सामाजिक सद्भाव तथा सम्बन्ध विकासका लागि निर्माण गरिएका यस्ता सञ्जालहरू केही कुरूप मानसिकताका कारण हिंसाका स्रोत बनेका छन् । सामाजिक सञ्जाल तथा ईन्टरनेटको माध्यमबाट म्यासेज गरी, अश्लील सामाग्री तथा व्यवहार सम्प्रेषण गरी, व्यक्तिको तस्वीर, भिडियो खिच्ने वा लिने व्यक्तिको इच्छा विपरीत सामाजिक सञ्जालमा राखिएका तस्वीर तथा शब्दको अर्थ गलत लाग्ने गरी पुन: निर्माण तथा वितरण गरी सम्बन्धित व्यक्तिलाई पीडा दिने, उसकाे इज्जतमाथि खेल्ने जस्ता कार्य साइबर वा अनलाइनबाट हुने हिंसा हुन् । पछिल्लो समय साइबरबाट हुने हिंसाको स्वरूप बढेको विभिन्न तथ्यांकले देखाएको छ । यसरी साइबर हमलामा सबैभन्दा किशोरी पर्ने गरेको देखिन्छ । यसरी साइबर हिंसा हुनुको प्रमुख जड यौनजन्य कारण रहेको छ । भने व्यक्तिको चरित्र हत्या गर्ने गरी पनि हिंसा हुने गरेको देखिन्छ ।  साइबरका माध्यमबाट लिङ्गका रूपमा हुने हिंसा हो साइबरबाट हुने हिंसा ।

साथै,

पछिल्लो समय कार्यस्थलमा हुने हिंसालाई पनि प्रमुख लैङ्गिक हिंसाको रूपमा हेर्न थालिएको छ । कार्यस्थलमा लिङ्गका आधारमा कार्य विभाजन गर्ने, विभेद गर्ने, कार्यक्षमतामा असर पार्ने, सहकर्मीद्वारा कुरा छाट्ने, कुरा लगाएर अप्ठ्यारोमा पार्नेजस्ता कार्य पनि कार्यस्थलमा हुने लैङ्गिक हिंसाका रूपमा हेर्ने गरिन्छ । 

लैङ्गिक हिंसा कसरी गरिन्छ ?

लैङ्गिक हिंसा विशेष गरी यौनजन्य दृष्टिकोणले गरेको पाइन्छ । शारीरिक रूपमा कुटपिट गर्ने, जबर्जस्ती गर्ने, चोटपट लगाउने, बलजफ्ती गर्ने, बलपूर्वक बसमा पर्नेजस्ता कार्य गरिन्छ । साथी हिंसा शाब्दिक तथा व्यावहारिक रूपमा पनि हुन्र गर्छ, कुरा काट्ने, अश्लील शब्द बोल्ने, अश्लील शब्द प्रयोग गर्ने, अश्लील हर्कत गर्ने लगायताका कार्य शाब्दिक वा व्यावहारिक हिंसाको भित्र पर्दछन । मानसिक रूपमा पीडा दिने, अप्ठेरोमा परेको अवस्थाको फाइदा उठाउने, ललाइफकाइ गरी गरिने यौनजन्य तथा लैङ्गिक हिंसा हुन् । 

लैङ्गिक हिंसा न्यूनीकरण गर्न के गर्ने ?

लैङ्गिक हिंसा न्यूनीकरणका लागि घर देखिने सुरुवात हुनुपर्छ । स्वास्थ्य शिक्षाका माध्यम बाट ब्याक्तीहरूको अस्तित्वको कदर गर्ने, उनीहरूलाई शारीरिक र लैङ्गिक व्यवहारका आधारमा सम्मान गर्ने कुरा सिकाउनु पर्दछ । 

फरक लिङ्ग र समुदाय पनि आफूजस्तै हो उसकाे भावना मन पनि आफूजस्तै हो भन्ने कुरा नबुझाएसम्म लैङ्गिक हिंसा न्यूनीकरण हुन कठिन हुन्छ । साथै, सामाजिक रूपमा नीति निर्माण गरी लैङ्गिक हिंसा गर्नेलाई कारवाहीको दायरामा ल्याउन जरुरी छ । जसले गर्दा लैङ्गिक हिंसा अपराध हो भन्ने कुराको अवगत होस् । एकअर्काले एकअर्काको लिङ्गको सम्मान गर्ने उनीहरूको व्यवहारको कदर गर्ने । कार्य विभाजन तथा अन्य कदममा समावेशीता अबलम्बन गर्ने । लैङ्गिक हिंसा भएको देखेको खण्डमा त्यसकाे प्रतिकार गरी लैङ्गिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउन सकिएको खण्डमा लैङ्गिक हिंसा न्यूनीकरण हुन सक्दछ । लैङ्गिक हिंसा न्यूनीकरणका लागि व्यक्तिबाट सुरु गर्न जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...

सम्बन्धित समाचार