भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

लैङ्गिक हिंसा भनेको प्राकृतिक रूपमा जन्म जात प्राप्त गरेको लिङ्गका आधारमा व्यक्तिलाई शारीरिक, मानसिक, संवेगात्मकता, भावनात्मक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक वा विविध पक्षबाट आघात पुर्‍याउने कार्य हो । (लैङ्गिक हिंसा बारे यस पत्रीकामा अघिल्लो स्तम्भमा लेखेको छु ।)  कार्यक्षेत्र भन्नाले सामान्य अर्थमा आर्थिक उपार्जन गर्नका लागि श्रम गर्ने क्षेत्र भन्ने बुझिन्छ । अध्ययनको तह, व्यक्तिको रुचि, प्राप्त अवसर जस्ता थुप्रै पक्षहरूको आधारमा कार्यक्षेत्रहरू निर्धारण गरिएको हुन्छ ।

कार्य क्षेत्रमा हुने कामका प्रकार:

कार्यक्षेत्रलाई  कामका आधारमा विभिन्न तरिकाले विभाजन गर्ने गरेको पाइन्छ । यसरी हेर्दा सामान्यतया कार्यक्षेत्रमा चार प्रकारका कार्य/ काम प्रकृति रहने गरेको पाइन्छ । जस्तै: विचारक, निर्माणकर्ता, सुधारकर्ता र उत्पादकहरू ।  विचारक प्रकृतिको कार्यमा विचार, ज्ञानहरूको संश्लेषण, विश्लेषण र आदानप्रदान गरिन्छ- जस्तै शिक्षक, लेखक, दार्शनिक, डक्टर । त्यस्तै निर्माणकर्ताहरूमा कुनै पनि सेवा तथा वस्तुको निर्माण गर्छ ।  सुधारकर्ता कुनै पनि काम वा सेवाको बारेमा अध्ययन गरि सो काम वा सेवाको कमी कमजोरी पत्ता लगाइ सुधार गर्ने काम गर्छन् भने उत्पादकहरू सामाग्री तथा सेवाको उत्पादन गर्छन् । ग्राहकहरूलाई सामान र सेवाहरू प्रदान गर्न दोहोर्‍याउने तरिकामा काम गर्छन् ।

सम्बन्धित कार्यक्षेत्रमा उपलब्ध भएको वा प्रदान गरिनु पर्ने  स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारलाई लिङ्गको आधारमा छुट्टाई असमान वितरण गरि व्यक्तिलाई कमजोर बनाइनु, व्यक्तिको कार्यको कम मूल्याङ्कन गरिनु वा ऊ माथि हिंसा गरिनु कार्यक्षेत्र वा कार्यालयमा हुने लैङ्गिक हिंसा हुन् । कार्यक्षेत्रमा लैङ्गिकताका आधारमा श्रम शोषण समेत बढेको देखिन्छ । 

 अब कुरा गरौँ कार्यक्षेत्रमा सामान्यतया कस्ता प्रकारका लैङ्गिक हिंसा हुन्छन् त?

 कार्यक्षेत्रमा कार्यक्षेत्रको नीति तथा कार्यक्रम, कार्यक्षेत्रका हाकिम तथा कर्मचारी , कार्यक्षेत्रमा भएका सहकर्मीहरूद्वारा लैङ्गिक हिंसा हुने गर्छ । यसरी लैङ्गिक हिंसा निम्न क्षेत्रमा विशेष देखिन्छ ।

१. कार्य विभाजन: 

सामान्यतया कामको प्रकृति अनुसार सो काम फत्ते गर्न सक्ने वा सो क्षेत्रलाई सम्हाल्न सक्ने योग्यताको आधारमा कामको बाँडफाँड गरिएको हुन्छ । यसरी कामको बाँडफाँड गर्ने क्रममा कतिपय अवस्थामा क्षमता र योग्यता हुँदा हुँदै पनि लिङ्गको आधारमा कार्य विभाजन गरिन्छ । उदाहरणका लागी: कुनै पनि प्रोजेक्ट वा विभागको प्रमुख पुरुष बनाइनु, सुन्दर महिलाहरूलाई रिसेप्सनमा राखिनु । महिलाहरूलाई हाकिमको सहयोगीको रूपमा राखिनु आदि । झट्ट हेर्दा रिसेप्सनमा महिला सुन्दर राखिनुको एक मनोविज्ञान यो होकि सुन्दर महिला देखेपछि कामका लागि आएका पुरुषहरू रोकिउन् । पुरुषलाई प्रमुख तोकिनुको अर्थ महिलाहरू नेतृत्वको भूमिकामा रहेर काम गर्न सक्दैनन् भन्ने मानसिकताबाट ग्रसित हुनु हो । कार्यक्षेत्रमा कार्य विभाजन  लिङ्गको आधारमा हुने उदाहरणहरू धेरै छन् । विशेषसरि पुँजीवादी बजारमा यस्ता प्रकृतिका विभाजन बढी हुन्छन् । 

२. कार्य अवधि :

 कार्यक्षेत्रमा व्यक्तिले व्यतीत गर्नु पर्ने समयको निर्धारण गरिएको हुन्छ । अझ भनौँ, अन्तर्राष्ट्रिय मजदुर सङ्गठनले कार्य अवधि ८ घण्टा भनेर प्रस्ट तोकेको छ । नेपालको अवधारणा अनुसार कार्यालय समय विशेष गरि १०-४/५ को समय हो । तर पनि कार्यक्षेत्रको कामको प्रकृति हेरि कार्यालय समय निर्धारण गरिएको हुन्छ । यसरी निर्धारण गरिएको कार्यअवधी लिङ्गको आधार फरक पार्ने काम गरिन्छ । विशेष गरि प्राइभेट सेक्टरहरूमा कर्मचारीलाई लामो समय काम गराउने । महिला कर्मचारीहरूलाई धेरै समय अफिसमा रहनु पर्ने अवस्था निर्माण गर्ने  जस्ता प्रकृतिहरू देखिन्छ । ८ घण्टा भन्दा बढी समय काममा लगाएर व्यक्तिको श्रम शोषण गरिन्छ । यसरी अधिक समय काम गर्नेहरूमा अधिकांश महिला हुने गरेको विभिन्न तथ्याङ्क र अध्ययनले देखाएको छ । महिला कर्मचारीलाई फकाउन, नियन्त्रण गर्न अधीनमा राख्न पुरुष कर्मचारीको तुलनामा सजिलो हुने भएकाले महिला कर्मचारीको कार्य अवधि लामो हुन जान्छ भने कतिपय समयमा कार्यालय समय सकिएर घर आउँदा पनि अफिसको काम गर्नुपर्ने अवस्था सृजना भएको देखिन्छ । यसरी हेर्दा लिङ्गको आधारमा कार्यअवधि निर्धारण गरिनु पनि कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा हो ।

३. पारिश्रमिक:

कुनै पनि काम गरि सकेपछि सो काम गरेबापत पाउने नगद वा जिन्सी सामान पारिश्रमिक हो । कामको प्रकृति अनुसार पारिश्रमिक फरक हुनु स्वाभाविक हो तर योग्यता अनुसारको पारिश्रमिक नपाउनु दुखद हो । सामान्यतया निजी क्षेत्रका कार्यस्थलहरूमा एकै प्रकृतिका काममा प्रदान गर्ने पारिश्रमिक फरक फरक हुने गरेको पाइन्छ । उदाहरणका लागि निजी क्षेत्रका अपवाद बाहेकका प्राइमरी लेभलका पुरुष शिक्षकको तुलनामा महिला शिक्षकको पारिश्रमिक कम भएको गुनासो उठिरहन्छ । इसिडीका महिला शिक्षकहरू पारिश्रमिक कम भएको गुनासो गर्छन् । स्टाफ नर्सहरूले कम पारिश्रमिक पाउने र त्यो पनि समयमा नपाउने गुनासो पढ्न र सुन्न धेरै पाइन्छ । पुरुष ज्यामीको तुलनामा महिला ज्यामीको पारिश्रमिक कम हुने कुरा गाउँ घर तथा कार्यस्थलमा प्रस्ट देखिन्छ । यसरी भन्नूपर्दा कामको प्रकृति अनुसार पाउनु पर्ने पारिश्रमिक लिङ्गको आधारमा छुट्टाई कम दिनु र समयमा नदिनु लैङ्गिक हिंसा हो । पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीले कम पारिश्रमिक पाउने र पारिश्रमिक समयमा नपाउने गरेको कुरा विभिन्न अध्ययनहरूले देखाएको छ । 

४. सेवा सुविधा 

कार्यालयको नियम अनुसार प्रदान गरिनु पर्ने सेवा सुविधाहरू निर्धारण गरिएको हुन्छ । यसरी  निर्धारण गरिएका सेवा सुविधाहरू जस्तै: तालिम, बिदा, भ्रमण आदि लिङ्गको आधारमा छुट्टाई तय गरिन्छ भने सो कार्यक्षेत्र हुने लैङ्गिक हिंसा हो ।

५. अन्य

कार्यक्षेत्रमा सहकर्मी, सरोकारवाला पक्ष तथा सहकर्मीद्वारा लिङ्गको आधारमा हुने विभिन्न खालका विभेदहरू यस अन्तर्गत पर्छन् । उदाहरणको लागि पुरुष सहकर्मीले महिला सहकर्मीलाई कुदृष्टिले हेर्नू, महिला कर्मचारीप्रति नकारात्मक सोच (negative comment) राख्नु/पास गर्नु, सहकर्मीका विरुद्ध हाकिम लाई कुरा लगाउनु, सहकर्मीकी बारेमा समूहमा नकारात्मक टीका टिप्पणी गर्नु तथा सुन्दर महिलाहरू ले सुन्दरताको प्रयोग गरि पुरुष कर्मचारीलाई काम गराउनु । सरोकारवाला पक्ष वा सेवा ग्राह्रीले  लिङ्गको आधारमा कर्मचारी प्रति व्यवहार गर्नु आदि, यी सम्पूर्ण कुरा लिङ्गको आधारमा कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसा हुन् । 

कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा कम गर्न के गर्ने ?

कार्यक्षेत्र सामूहिक ठाउँ हो । उक्त क्षेत्रमा काम गर्ने हरेक व्यक्ति क्षमतावान् छ र उसको आफ्नै महत्त्व छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । साथै काम गर्ने व्यक्तिले आफूले काम गर्नुपर्ने कार्यालयको काम कारबाही तथा नीतिनियम बुझी सोही नीति नियम अनुसार पाउने सेवा सुविधा तथा पारिश्रमिकबारे सचेत हुन जरुरी छ । कार्यक्षेत्रमा हुने विभिन्न प्रकारका हिंसा जस्तै: श्रम शोषण, यौन शोषण तथा हिंसा, लैङ्गिक हिंसाबारे बुझ्नु र सचेत ( बुझाउनु/ सचेत गराउनु) पर्दछ । कार्यक्षेत्रमा हुने हिंसाबाट बच्ने सबैभन्दा ठूलो माध्यम भनेको आफू सचेत हुनु हो । साथै आफूमा भएको हिंसाको आवाज उठाउन सक्नु हो । कार्यालयमा जाम गर्ने व्यक्तिले हिंसा सहेर काम गर्दा कामको प्रभाकारिता घट्ने र सेवाग्राही ले कम सेवा सुविधा पाउने, उत्पादनमा ह्रास आउने कुरामा सरोकारवाला पक्ष सचेत हुन जरुरी छ, साथै सरोकार वाला पक्षले आफ्ना कर्मचारीलाई हिंसा र सोबाट बच्ने उपायबारे विभिन्न प्रकारका तालिम तथा अनौपचारिक कक्षाहरू सञ्चालन गर्ने गर्नु पर्दछ । यसरी, विभिन्न तरिकाबाट हुने हिंसा विरुद्ध बोल्नुका साथै आफूमा भएको हिंसाको कानुनी उपचार खोज्नु हिंसाबाट बच्ने उपाय हो ।

कार्यक्षेत्रमा रहेका सम्पूर्ण कर्मचारीहरू एकै परिवारको सदस्य जस्तो भएकाले एकअर्कालाई सम्मान सहयोग गर्ने र अप्ठेरोमा सहयोग गर्ने साथ दिने गरेको खण्डमा कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा कम हुँदै जान्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...

सम्बन्धित समाचार