भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

अहिले लैङ्गिकताप्रति जागरुक विश्व 'लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान' सञ्चालन गरी त्यसको समीक्षामा व्यस्त रहेको छ ।  सन १९४८ देखि मानव अघिकारका विभिन्न मुद्दाहरूले स्थान पाएता पनि सन १९९१ देखि  लैङ्गिक हिंसा विरुद्धका आवाजहरू बढे र हिंसा विरुद्धको १६ दिने अभियान सुरु भयो । जसकाे बाछिटाले नेपालमा पनि छोयो र विसं २०५८ को नारी दिवसको अवसर पारी नेपालमा हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भयो ।

अभियान सँगसँगै टट्कारो बहसका रूपमा मजबुद भए लैङ्गिकता, लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरू । अहिलेको समयमा लैङ्गिकताकाे बहस सशक्त रूपमा अगाडि बढेको छ । संसरमा रहेका सबै लिङ्गीहरूको आफ्नो व्यवहार हुन्छ सोही व्यावहारिकताका साथ उनीहरूले नागरिकका रूपमा स-सम्मान रूपमा बाँच्न पाउनु पर्ने बहस टट्कारो रूपमा छाएको छ ।

यस्ता बहस नेपालमा पनि भैरहेका छन् । लैङ्गिकता सम्बन्धी विभिन्न प्रकारका बहस चलिरहँदा लैङ्गिता भनेको के हो बुझ्न जरुरी छ । लैङ्गिकता बुझ्नुअघि लिङ्ग भनेकाे के हाे ? बुझ्न जरुरी छ ।  

लिङ्ग भनेको के हो ? 

लिङ्ग जैविक वा जन्मजात रूपमा आएको शारीरिक गुण हो । महिला, पुरुष वा अन्य सिमान्तकृत लिङ्गीको अंग लिएर जन्मिनु सामान्यतः लिङ्ग हो । अर्थात् लिङ्ग भन्नाले प्राकृतिक रूपमा महिला पुरुष वा अन्य लिङ्गीका बीचमा देखिने शारीरिक भिन्नता, परिवर्तन तथा स्वभावको समष्टिगत रूप हो । लिङ्गले महिला पुरुष वा अन्य लिङ्गी भने छुट्टाउने कार्यमा भूमिका खेल्दछ ।

अब कुरा गरौँ के हो लैङ्गिकता ? 

झट्ट हेर्दा लिङ्गको सामूहिक रूप लैङ्गिकता भएको भान हुन सक्दछ । तर त्यसो होइन, लैङ्गिकता लिङ्गका आधारमा कुनै पनि समाज, संस्कृति, परिवेश तथा कानुनले निर्धारण गरेको महिला, पुरुष तथा अन्य लिङ्गीको भूमिका, जिम्मेवारी, कार्यक्षेत्र, व्यवहार तथा आपेक्षाजस्ता पक्षलाई बुझाउदछ । अझ भनौँ लिङ्गका आधारमा समाजले सिकाउँदै आएको निश्चित भूमिका तथा व्यवहार हो लैङ्गिकता ।

लिङ्गका आधारमा समाजले दिएको धारण नै लैङ्गिकता हुन् । सामाजिक मानक तथा धारणाहरू लिङ्गको रुचि, चाहाना, व्यवहार, प्रकृति, आवश्यकता अनुसार परिवर्तन हुन जरुरी छ । समाजमा भएका नकारात्मक र रुढीवादी लैङ्गिक अवधारणका कारण  लैङ्गिक हिंसाहरू घटिरहेका छन् । सम्बन्धित व्यक्तिको स्वतन्त्र, कला, सीप, सृजना, रुचि चाहाना र अधिकारको हनन भएको छ भने उनीहरूमाथि लिङ्गको आधारमा विभिन्न प्रकारका हिंसा भएका छन् । लिङ्ग तथा लैङ्गिकताका आधारमा विभिन्न प्रकारका रुढीवादी तथा नकारात्मक व्यवहार, क्रियाकलाप, अवधारणा (स्टेरियोटाइप), संकेत वा नराम्रा शब्दहरूको प्रयोग गरी विभेद तथा हिंसा हुने गरेको छ । महिला पुरुष हरूमा भएको हिंसाको सामाजिक वकालत हुने हुँदा पर्दामा आइरहन्छन् भने LGBTIQ समुदायमा भएको हिंसाको लेखाजोखा नै छैन । उनीहरू अहिलेको  समयमा पनि अफ्नो स्वरूप अनुसार खुलेर खोल्न नसक्नुको अर्थ  पनि यो हो कि उनीहरूमाथि लैङ्गिकताको आधारमा ठूलो विभेदर हिंसा भएको छ । जसकाे कारण उनीहरू आफ्नो व्यवहार आफ्नो खुसी आफैँमा दमित गर्न बाध्य छन् ।

अब कुरा गरौँ के हो त LGBTIQ भनेको ?

तत्कालीन समयको चिकित्सा विज्ञान तथा विभिन्न विज्ञहरूका अनुसार LGBTIQ एक यौन स्वरूप हो । प्रारम्भ कालमा LG बाट सुरु भएको समूहमा पछि  LGBT भयो । LGBT को अवधारणालाई बृहत् गर्ने प्रक्रिया चल्दा  LGBTI निर्माण भयो र हाल LGBTIQ भनिन थालिएको छ । अहिलेको समयमा Q मा सवाल उठिरहेको छ । तर पनि अहिलेको प्रमुख मुद्दा हो LGBTIQ यौन स्वरूप मात्र नभै LGBTIQ लौङ्गिकता पनि हो । अब कुरा गरौँ LGBTIQ को अर्थ के हो भन्ने बारेः 

LGBTIQ अर्थ के हो ?

यहाँ यौन स्वभावका आधारमा LGBTIQ को अर्थ खुलाइएको छ । 

१.
L= Lesbian (लेस्बियन/समलिङ्गी महिला) : यौन चाहाना अभिवृद्धि हुने समयमा यदि कुनै एक महिला यौनिक रूपमा अर्की महिलासँग आकर्षित हुन्छ र महिलाबाट यौन आनन्द लिन्छिन् भने त्यसलाई लेस्बियन भनिन्छ ।

२.
G: Gay (गे/समलिङ्गी पुरुष) : यौन चाहान अभिवृद्धि हुने समयमा यदि कुनै पुरुष यौनिक रूपमा अर्को पुरुषसँग आकर्षित हुन्छ र यौन चाहाना पूरा गर्ने गर्छन् भने यौनको सो रूपलाई गे भन्ने गरिन्छ । 

३.
B: Bisexual (द्वियोनिक) : यौन आनन्द लिनका लागि पुरुष वा महिला दुवै लिङ्गीप्रति आकर्षित हुने व्यक्तिलाई द्वियोनिक भनिन्छ । यस्तो स्वभाव भएका महिला वा पुरुष दुवै लिङ्गसँग शारीरिक, यौनिक तथा भावनात्मक रूपले जोडिने र आनन्द लिनसक्ने हुने हुन्छन् । 

४.
T: Transexual (ट्रान्ससेक्स्युल) : व्यावहारिक वा प्राकृति रूपमा आफूले पाएको शारिरिक चालढाल र लिङ्गलाई परिवर्तन गरी आफूले पाएको भन्दा विपरीत लिङ्गी बन्ने इच्छा राख्ने र सोही विपरीत लिङ्ग जसरी नै व्यवहार गर्ने महिला वा पुरुषलाई ट्रान्ससेक्स्युल भनिन्छ । 

५.
I: Intersex (इन्टर सेक्स) प्राकृतिक वा जैविक रूपमै जन्मिने क्रममा महिला वा पुरुष के हो भनी नछुट्टिएको अवस्था हो इन्टरसेक्स हो । यस्तो अवस्था हुनुको पछाडि pseudohermaphrodite (स्युडोहर्माफ्रोडाइट्स)को रूपमा व्याख्या गरिएको पनि पाइन्छ । सामान्यतया हाम्रो समाजमा इन्टर सेक्सलाई तेस्रो लिङ्गीको रूपमा वर्णन गर्ने गरिन्छ ।  यस्तो व्यक्तिमा पुरुष वा महिला दुवैको स्वभावअनुसारको कुनै पनि अङ्ग तथा व्यवहार विकास भएको हुँदैन । 

६.
Q: Queer or Questioning (अद्भुत, अनौठो यौन व्यवहार) : आम मानिसहरू भन्दा बिल्कुलै अनौठो यौन स्वभाव तथा व्यवहार भएको व्यक्तिहरू यसअन्तर्गत पर्छन् । यद्यपि क्वियरलाई मानिसहरूले एक विशिष्ट पहिचानको रूपमा प्रयोग गर्न सक्छन्, यसलाई प्रायः गैर/सिजेन्डर वा विषमलिङ्गीहरूका रूपमा व्याख्या गरिएको छ । सामान्यतया LGBTI भन्दा फरक प्रकारको स्वभाव प्रस्तुत गर्ने समुदाय बुझ्न सकिन्छ ।

यसरी हेर्दा LGBTIQ फरक यौनिक विचार व्यवहार र धारणा बोकेका समुदाय हुन् । उनीहरूको लिङ्ग झट्ट हेर्दा एक भएको भएता पनि उनीहरूको यौन व्यवहार तथा अभ्यास फरक छ । एक लिङ्गभित्र फरक यौन व्यवहार प्रस्तुत हुन्छ भने सो व्यवहार फरक लौङ्गिकता हो । यसरी फरक लैङ्गिकता भएका व्यक्तिहरूलाई परिवारिक तथा सामाजिक इज्जत, प्रतिष्ठा तथा व्यवहार जस्ता मूल्य मान्यताले दबाइएको खण्डमा उसमा भएको सृजना, क्षमता तथा सम्भावनाको अन्तर्य हुनुको साथै उसले स्वतन्त्रताका साथ बाँच्न पाउने अधिकार पनि गुमाउँछ । 

लिङ्गका आधारमा वा सोभन्दा फरक रही फरक यौन व्यवहार तथा लैङ्गिकता प्रस्तुत गर्ने समुदायलाई उसकाे इच्छा अनुसार चल्न र बाँच्न दिनु पर्छ । संवैधानिक व्यवस्था अनुसार स्वतन्त्रताको हक, सम्मानपूर्वक बाँच्नुपर्ने हक यो समुदायमा पनि लागू गर्नुका लागि व्यक्ति समाज समुदाय र राष्ट्र सबैले हातेमालो तथा सहकार्य गर्न जरुरी छ । यस सम्बन्धमा राष्ट्रिय स्तरबाट प्रभावकारी नीति नियम तथा कार्यक्रम तर्जुमा गरी LGBTIQ समुदायको अधिकार प्रदान गर्न जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...