शाहजहाँले रानी मुमताजको सम्झनामा बनाएको ताजमहल प्रेमको सपाट मिथकीय प्रतीक हो, फेहरिस्त हेर्दाः सुत्केरी व्यथाले रानीको निधन भएको केही दिनमै अर्को निकाह गरेका शाहजहाँलाई लामो समयपछि अचानक मुमताजको याद आउँछ । फलस्वरुप आठ सय  मजदुरको चिहानमाथि ताज खडा गर्न लगाउँछ ।

***

लेखकको कलम भाँचिनु वा मजदुरको हात काटिनु प्रकारान्तरले उस्तै हो । अझ गला काटिनुभन्दा कैयौं गुणा भयानक हुनसक्छ गरिखानेको हात काटिनु ।

नखशिख र अतिशय रतिरागले ग्रस्त राजाको जानलेवा शौखको प्रतिबिम्ब, आठ सय जिउँदा लासमाथिको सिङमरमर महल वर्षौंदेखि प्रेमको प्रतीक कसरी भइरहन सक्यो?
यहाँ प्रश्न उही रहन्छ । कसरी भइरहन सक्यो ?

प्रजातन्त्र प्राप्ति, पुनप्राप्तिदेखि गणतन्त्रसम्मको यात्रामा केही रुमानी सपना हामीलाई शहीद बन्न उद्धत गरिरहे । जसको टेक्ने खुट्टा मात्रै थियो । उसलाई उभिने जमिनका खातिर क्रान्ति गर्न लगाएर खुट्टासमेत गुमाउनुपर्ने पीडाबाट हामीले हाम्रा हरेक क्रान्ति कथित रुपमा सफल पारेका छौं । न्यूनतम जीवनका लागि क्रान्ति गरेर आफ्नो इहलीला समाप्त गरेका हजारौं शहीदको सपनामाथि कुठाराघात भएको यो भूगोल ‘सुन्दर, शान्त र विशाल’ कसरी भइरहन सक्यो?

***

सत्यको आविष्कार हुँदैन । आविष्कार भ्रमको हुनसक्छ, सत्यबारेको एउटा ‘सत्य’, यो उद्घाटित भने हुनसक्छ । तर हामी वर्षौंदेखि उद्घाटित सत्यमा भन्दा आविष्कृत सत्य (भ्रम) सँग छौं ।

हामीले भोगेको सिङ्गो युग ऐजन ऐजन चलेको छ । पितापुर्खाले भोगेको समय र हाम्रो समयबीच तात्त्विक भिन्नता छैन, सामाजिक विसङ्गति र विकृति, राजनीतिक अस्थिरता, भ्रष्टाचार, अपराध, भोकमरी, प्राकृतिक प्रकोप, महामारी आदिले आक्रान्त हाम्रो दर्बिलो इतिहास हामीकहाँ ‘वर्तमान’ भएर उभिएको छ । यसरी हेर्दा व्यवस्था फेरिने तर पात्र प्रवृत्ति कहिल्यै नफेरिने, वा अव्यवस्थाका रखवालाहरू व्यवस्थाका हिमायती भएर आउने यो देशको राजनैतिक तथा समाजिक संस्कारको पूर्वापर गर्तबाट निस्किएको कृति हो – मेरो कवितामा जलिरहेछ मेरो देश ।

कवि कालीप्रसाद रिजाल कृत तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित यो कृति प्रथम पटक वि.सं. २०५४ सालमा प्रकाशित भएको हो । पैंतीस गद्य कविता तथा केही लघु कविताहरू राखिएको यो कृति समाज राजनैतिक कटु सत्यको विश्लेषण हो ।

आफ्नो मन्दिरमा
प्रतिस्थापित भएको छु म
आफुमा प्रकट भएको छु म
म परमब्रह्म, स्वयम्भू
म नै मेरो विधता हुँ
म लय, विलय, प्रलय
म नै मेरो अधिष्ठाता हुँ
म मृत्युञ्जय
तिक्त कालकुटको पान पनि गर्न सक्छु
(पिँजडाबाट कसैले निकालिदिए पछि, पृष्ठ – १)

यो हरेक सफल क्रान्तिको सेलिब्रेसन हो । आत्मविश्वास हो, उत्साह हो, स्वतन्त्रता हो । यद्यपि आर्थिक स्वतन्त्रताविना अन्य स्वतन्त्रता अपाहिज हुन्छन् । यो वास्तविकताले उल्लेखित उत्साहलाई क्षणभङ्गुर गर्दछ, र कवि आफै भन्दछन्ः
केही विष्फोटित हुन्छ सहसा मभित्र
क्षणभरमै जलेर राख हुन्छ
मेरो आशा अभिलाषाको चित्र
हेर्दाहेर्दै विश्वासको हिमश्रृङ्खलालाई
फेरि शंकाको कुहिरोले ढाक्छु
(आवाजः खोइ हाम्रो आवाज, पृष्ठ – ७३०

***

परम आत्मन ओशोले बुद्धदेखि मार्क्ससम्मको दर्शनलाई एउटै ठाउँमा राखेर हेरे । उनले ती सबै दर्शनलाई मानवीय दुःख निवारणका उपायका रुपमा प्रस्तुत गरे । बुद्धले दु:खको कारक तृष्णा भने । मार्क्सले वर्ग विभेदलाई कारणका रुपमा हेरे ।
बाटो जुनसुकै भएपनि यी दुवै लडाइ मानवीय सदाशायिताका लागि हुन् । तर दुनियाँमा यस्तो कहिल्यै भएन, जुन लडाइले साराजहाँ भन्न मिल्ने होस् ।
अगर फिरदौस बरुर–ए–जमीँ अस्त,
हमीं अस्तो हमीं अस्तो हमीं अस्त।
–अमिर खुसरो

अर्थात् धर्तीमा स्वर्ग छ भने त्यो यहीँ छ ।

लामो दुरीसम्म मार गर्न सक्ने
क्षेप्यास्त्रहरू बने
सयौं माइल टाढा देख्न सकिने
यन्त्रहहरू बने
तर इथोपियाका कङ्काल मान्छेहरूलाई
फेरि पनि देख्न सकिएन
करोडौं भोका नाङ्गाहरूको बस्तीमा
अन्न र लुगाफाटो पु–याउन फेरि पनि सकिएन
(युद्ध – युद्ध, पृष्ठ – ६९)

महाभारतको कथामा आधारित ‘कुरुक्षेत्र’ मा हिन्दीका प्रसिद्ध कवि ‘दिनकर’ मानव जातिको युद्ध मनस्थितिको मानक यसरी प्रस्तुत गर्दछन्–
शान्ति नहीं तबतक भूभाग न नर का सम हो,
नहीं किसीको बहुत अधिक हो नहीं किसीको कम हो ।

विश्वमा कण्डम र मेकअपका वस्तुमा जति खर्च हुन्छ, त्यति खर्च पोषणमा हुँदैन । शिक्षामा जति खर्च हुन्छ, त्यो भन्दा बढी खर्च आइसक्रिम र चुइगममा हुन्छ ।

झट्ट सुन्दा पत्यार नलाग्ने यो कुरा वर्तमान विश्वको उदेकलाग्दो नजिर हो । अधिकांश देशहरूको रक्षा बजेट र आम मान्छेको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने बजेट बीचको अन्तर देख्दा लाग्छ उनीहरू कुटुम्बकम होइन, ‘आग लगे बस्ती मै हम रहे मस्ती मे’ चाहन्छन् ।

**

सार्वजनिनता र सार्वकालिकता काव्यका ओज हुन्छ । सार्वजनिनता र सार्वकालिकताले क्रमशः सबै मान्छे र सबै समयका लागि भन्ने अर्थ राख्दछन् । रिजालका कविताले युगको यही मर्मलाई समेट्दछन् । हामीले बाँचेको साझा समयको बोध उनका कविताको आर्तनाद हो ।
वर्तमान मान्छेको विभाजित र खण्डिकृत जीवन यथार्थको उद्बोधन उनका अधिकांश कविताको मूल वस्तु हो ।

हुरी झञ्झावात बोकेको आफूलाई
हुरहुरती भित्र सल्किरहेको आफूलाई
जेनतेन उठाएर घिर्सार्दै
आफ्नै कोठाको बन्दीगृहमा ल्याएर
पछारिदिनू फालिदिनू
अनि एक्लै सुकसुकाइरहेको
बिचरो आफूलाई
दग्ध भएर छपटाइरहेको आफूलाई
निरपेक्ष चित्रवत हेर्नू
विवश लाचार हेरिरहनू ।

कवि भुपिन ‘सुप्लाको हवाईजहाज’ को टु एण्ड फ्रो मोसनमा वासु शशीको कवितांश साभार गर्दछन् । ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ… र पर्खाल सबैभन्दा अप्रिय आवश्यकता हो ।’ वासु शशीको सोही पर्खाल दर्शनलाई साक्ष्य मान्दै कवि रिजालको मोसन कुछ युँ अघि आउँछ…

पर्खाल लगाएपछि
धेरै कुरा बाहिर पर्न सक्छ
पर्खाल भत्काएपछि झन्
सबै कुरा बाहिर पर्न सक्छ
(पर्खाल लगाएपछिःपर्खाल भत्काएपछि, पृष्ठ –६१)
स्वाधीनताको अनिवार्यता सीमा हो, स्वतन्त्रताको शर्त कर्तव्य हो । स्वाधीनता र स्वतन्त्रताको उल्लिखित आधुनिक मानकले यसको मौलिकता वरिपरि पर्खालको काम गरेको छ । विश्व मानव जातिको उत्थान र एकताको आवाज उठेको सन्दर्भमा उल्लिखित मानक अवरोधका रुपमा देखिन सक्छ ।

यो सत्य हो, केही अंशमा पर्खालले
मान्छेलाइ बन्दी बनाइरहेको हुन्छ,
तर सत्य यो पनि हो
मान्छेको स्वतन्त्रता र स्वाधीनतालाई
धेरै अंशमा पर्खालले नै
जोगाइरहेको हुन्छ
(पर्खाल लगाएपछिःपर्खाल भत्काएपछि, पृष्ठ – ६१)

**

पुराणमित्येव न साधु सर्व न चापि काव्यं नवमित्यवद्यम् ।
सन्तः परीक्ष्यान्यतरद् भजन्ते मूढः परप्रत्ययनेयबुद्धिः ।।
–कालिदास

अर्थात् पुरानो भन्दैमा सबै काव्य असल हुने होइनन्, र नयाँ भन्दैमा खराब हुने पनि होइनन् । सज्जनहरू परीक्षण गरिकन दुइटा मध्ये असल ग्रहण गर्दछन् । मुढहरू लहै लहैमा लाग्दछन् ।

**

कविता अनुभूतिको सपाट वर्णन होइन, न त प्रतिभाको ठाडो अभिव्यञ्जन, विस्मयकारी गतिशीलता तथा अक्षय उर्जा कविताको न्यूनतम निजत्व हो । रिजालका कविताको शुरुवात सस्पेन्स विहीन पुरानो हिन्दी फिल्म जसरी हुन्छ । पुराना तथा जीर्ण बिम्बको प्रयोगले अधिकांश कविताहरू बोझिला बनेका छन् ।

अधिकांश कविताले गुढ सामाजिक चित्रण गरेको भएतापनि प्रस्तुतिगत निरसताले कुनै निजात्मक निबन्धजस्ता बन्न पुगेका छन् । मेरो देशको आफ्नै पन छ, के कसैले सोध्यो, यस देशको माटोलाई के भयो, हराएको बालक, कहाँको गोली कसलाई लाग्यो, नयाँ वर्षको शुभकामना, मान्छे बिक्रीमा आदि जस्ता कविताले कविलाई सतही कवेःकर्म सावित गरेको प्रतीत हुन्छ ।

**

व्यङ्ग्यको अक्षुण आधिक्यताले उनका कविता रसिला र कहीं कहीं लक्षणात्मक प्यारोडी जस्ता लाग्न सक्छन्, संग्रहका अन्तिम भागमा रहेका केही छोटा कविताहरू संग्रहका मुखर हुन् । यद्यपि छाेटा कविताहरुले अठारौं शताब्दीका प्रसिद्ध उर्दू शायरहरु ‘मीर तकीमीर, र गालिब’का शेरहरुको झल्काे दिन्छन् । यसरी समग्रमा रिजाल कृत ‘मेराे कवितामा जलिरहेछ मेराे देश’ पठनीय एवं संग्रहणीय रहेकाे देखिन्छ ।

सम्पूर्ण जिन्दगी बित्यो
आफ्नै गोठालो बने

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सन्तोष विष्ट

लेखकबाट थप...

सम्बन्धित समाचार