गोरखा - ‘बुढीगण्डकी सभ्यता र सेरोफेरो’ विषयमा निर्माण गर्न लागिएको वृत्तचित्र निर्माणमा भिमसेन थापा गाँउपालिकाले सहयोग गर्ने भएको छ ।

राष्ट्रिय गौरवको रूपमा हेरिएको बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जलविद्युत परियोजनाबाट स्थानीय स्तरमा पर्ने प्रभाव र जनजीवनमा पर्ने असरलाई समेटेर ग्लोरी मिडियाको ब्यानरमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको वृत्तचित्रका लागि गाउँपालिकाले समन्वयात्मक भूमिका सहित सहयोग गर्न लागेको हो ।

त्यसका लागि गाँउपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा योजना तय गरिसकेको  छ । भिमसेन थापा गाँऊपालिकाका अध्यक्ष ईश्वर पाण्डेले वृत्तचित्र निर्माण बारे जानकारी  दिँदै भने, 'यही असार २९ गते हुने दोस्रो चरणको गाउँ सभाबाट नै वृत्तचित्र निर्माणका लागि गाँउपालिकाले निर्णय गर्नेछ ।' 

प्रभावित क्षेत्रभित्रका स्थानीय युवाहरूको संयुक्त पहलमा निर्माण गर्न लागिएको वृत्तचित्रका लागि गोरखा र धादिङका स्थानीय निकाय, राजनीतिक दलहरूसँग लामो समयदेखि छुट्टाछुट्टै बैठक सम्पन्न भएको थियो । स्थानीय तहहरूकै संयुक्त लगानीमा यो वृत्तचित्र निर्माण कार्य सफल हुने वृत्तचित्र निर्माण टिमका प्रोजेक्ट कोर्डिनेटर विराट बाबु खनालले जानकारी दिएका छन् । ’वृत्तचित्रमा बुढीगण्डकी जलविद्युत आयोजनाले स्थानीय स्तरमा पार्ने प्रभावलाई उजागर गर्ने तथा भावी पुस्ताका लागि पनि पुर्खाको थातथलो र प्रचलनमा रहेका सांस्कृतिक पक्ष आदिको विषयमा जानकारी दिलाउन सकिने भएकाले हामीले यो प्रयास गर्न लागेका हौँ', खनालले भने ।  

ग्लोरी मिडियाका सञ्चालक समेत रहेका प्रोजेक्ट निर्देशक किरण खनालको निर्देशनमा बन्ने वृत्तचित्रमा प्रभावित क्षेत्रहरूको हालको वस्तुस्थिति, बसोबास, धार्मिक, ऐतिहासिक धरोहर, मठ, मन्दिर, ऐतिहासिक बगैँचा, ऐतिहासिक बजार, धर्म, कला, संस्कृति, रितिरिवाज, सो क्षेत्रका बासिन्दाले मान्दै आएका चार्डपर्व, जात्रा लगायत सो क्षेत्रमा १ वर्षभरि उत्पादन हुने बालिनालीलाई समेटिनेछ । श्रव्यदृष्य सामाग्री वृत्तचित्र निर्माण गर्दै विकासका लागि पुर्वाधारको तयारी गर्ने र पुर्खाको थलो भावी पुस्तासम्मलाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारीलाई पूरा गर्ने अभिलाषा सहित परियोजना सञ्चालन गर्न लागिएको प्रोजेक्ट निर्देशक किरण खनालले बताए ।  

‘ऐतिहासिकताको संरक्षण गर्ने र सम्पदा संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तासम्मलाई धरोहरबारे अवगत गराउनुपर्ने  दायित्व बोधका साथ हामीले यस परियोजना सञ्चालनमा ल्याएका हौँ’ खनालले आफ्नो धारणा राख्दै भने । 

वृत्तचित्र निर्माण टिमले करिब ७/८ महिना देखि गोरखा र धादिङ जिल्लाका स्थानिय निकायहरूसँग वृत्तचित्र निर्माण कार्यका लागि प्रपोजल सहित पेश गरेको भएपनि आधिकारिक निर्णय गर्ने पहिलो स्थानीय निकाय भिमसेन थापा गाँउपालिका हुन आएको खनालले बताए । निर्माण टिमले छिट्टै अन्य स्थानीय निकायहरूसँग छलफल गरिसकेको छ ।  विगतका दिनमा हाम्रो टिमसँग भएका प्रतिबद्धता र डुबान प्रभावित क्षेत्रको सुरक्षित अभिलेखिकरण गर्ने कार्यमा आवश्यक निर्णय आउने अपेक्षा रहेको छ’,  प्रोजेक्ट कोर्डिनेटर खनालले भने ।

निर्माण टिमले कोभिड(१९ को दोस्रो लहरलाई मध्यनजर गर्दै र बर्षातको समयलाई समेत ख्याल गर्दै भर्चुअल माध्यमबाट दुवै जिल्लाका स्थानीय निकायका प्रतिनिधिहरूबीच बैठक गराउने अन्तिम तयारीमा जुटिसकेको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।  सहकार्यका लागि हाम्रो पहिलो प्राथमिकता प्रभावित स्थानीय  तहहरू नै हुन, स्थानीय हामीसँग अन्य विकल्प हुँदाहुँदै पनि यस परियोजनामा अरू इन्ट्रेस्ट ग्रुपलाई नमिसाउने योजना लिएका छौँ, उनले भने ।  

निर्माण टिमले हरेक स्थानीय निकायमा रहेका प्रभावित क्षेत्रका वडा अध्यक्ष, टोल सुधार समिति, स्थानीय क्लब, स्थानीय सामाजिक क्षेत्रमा क्रियाशील युवाहरू बीच समेत आवश्यक कोर्डिनेशन, छलफल गरी रहेको र सो क्षेत्रका विभिन्न  समुदायका रीतिरिवाज, कला, संस्कृतिका बारेमा जानकारहरूसँग समेत आवश्यक परामर्श लिने कामहरू भइरहेको परियोजना निर्देशक किरण खनालले जानकारी दिएका छन् ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...