काठमाडौँ- किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने माग गरेको छ ।

बुधबार किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आज उक्त विषयको माग गरिएको हो ।

अहिले देशभर भईरहेको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।

 घोषणापत्रमार्फत जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किराँत विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि माग गरिएको छ ।  

भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको किराँत राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरुको संरक्षणका लागि तत्काल पहल गरिनुपर्ने समेत उल्लेख गरिएको छ ।  

घोषणापत्र किराँत राई जातिको महान चाड साकेलाउभौली/उद्यौलीमा देशव्यापीरूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाडपर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ । 
समितिको आयोजनामा कात्तिक २७, २८ र २९ गते काठमाडौँमा भएको सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । 

 सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको छ।    

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...