काठमाडौँ – सुदूरपशिचमका पाँचवटा भाषलाई सरकारी कामकाजी भाषामा राख्दा रानाथारू भाषालाई कामकाजी भाषामा नराखेको भन्दै कैलाली र कञ्चनपुरका रानाथारु आन्दोलनमा उत्रेका छन् ।

भाषा आयोगले गरेको सिफारिसमा रानाथारू भाषा १ नम्बरमै राखिएकोमा सुदूरपशिचम प्रदेश सरकारले सूचीबाट हटाएको  रानाथारु समुदाको आरोप छ । ‘प्रदेशका पाँचवटा भाषालाई सरकारी कामकाजीको भाषामा समावेस गर्दा प्रदेश सरकारले रानाथारूलाई छुटाएको छ,  ‘रानाथारू समाजका अध्यक्ष कृपाराम रानाले भने, ‘सरकारलेनै हामीमाथि अन्याय गरेको छ, न्यायका लागि आन्दोल गर्न बाध्य भएका हौँ ।’

सरकारी कामकाजीको भाषामा कुनै पनि समुदायको भाषा सूचिकृत गर्दा १ प्रतिशत जनसंख्या भएको हुनुपर्ने प्रावधान रहेकोछ । सुदूरपश्चिम प्रदेशको २७ लाख जनसंख्यामा १२ प्रतिशत रानाथारू रहेको उनले बताए ।

 ‘कैलाली, कञ्चनपुरमा करिब साढे ३ लाख रानाथारूको बसोबास रहेको छ’,  उनले भने, ‘यो १२ प्रतिशत बढी हो, हाम्रो भाषा पनि सरकारी कामकाजी भाषा हुनुपर्दछ ।’ सुदूरपश्चिममा अन्य भाषामा पठनपाठन नभएको बताउँदै उनले कैलाली र कञ्चनपुरका सातवटा विद्यालयमा रानाथारू भाषामा अध्यापन हुँदै आएको बताए ।

सुदूरपशिचम प्रदेश सरकारले थारू, डोटेली, बैतडेली, बझाङ्गी र अछामी भाषालाई कामकाजी भाषामा समावेश गरेको छ ।

सरकारी कामकाजी भाषामा आफ्नो भाषा समावेस नगरिएपछि कैलाली कञ्चनपुरका रानाथारू समुदायले आज प्रदेशको अस्थायी सदरमुकाम धनगढीमा विरोध र्‍याली आयोजना गरेको छ ।  

यसैगरी, सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमासमेत रानाथारूको समावेशिता नरहने गरी व्यवस्था गरिएको भन्दै रानाथारू समुदायले विरोध जनाएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...