भक्तपुर - मेघगर्जनसहित पानी पर्न थालेपछि मध्युपर थिमि अधिकांश क्षेत्र जलमग्न हुन्थे । पानी कुलो या सडकमा मात्रै नभई स्थानीयको घरघरमै छिथ्र्यो । घरभित्रको पानी निकाल्न मेसिनको प्रयोग गरी बाहिर ल्याउनु पर्दथ्र्यो । पानी पर्न थालेसँगै स्थानीयको मनमा पनि कालो बादलले डगमगाउन थाल्थे । 

तर यस वर्ष स्थानीयले विगतको जस्तो समस्या भोग्नु परेन । सोमबार उपत्यकासहित देशको मुख्य बजारमा डुबानमा परे पनि मध्यपुर थिमि भने डुबानमा परेन । न त पानी नै जम्यो । वर्षापछि जमेको पानी पनि केही समयपछि नै सुक्यो ।

गत वर्ष पानीको उचित निकासा र व्यवस्था नभएकाले पानी स्थानीयको घरघरमा छिरेको थियो । तर यस वर्ष पानीको उचित निकासा भएकाले थिमि डुबान नपरेको स्थानीय बताउँछन् ।
स्थानीय श्याम श्रेष्ठका अनुसार विगतमा भीषण वर्षा भएपछि बाटो र सँगैका घर जलमग्न हुन्थे । ‘गत वर्ष त सुरक्षाकर्मीले डुंगा ल्याएर उद्धार नै गर्नुपरेको थियो । कति सामान बगाएर लैजान्थ्यो,’ उनले भने, ‘तर यो वर्ष डुबानमा परेन । हामी सुरक्षित भई बस्न पायौँ ।’ 

भक्तपुरको सल्लाघारी चोक हुँदै सृजनानगर, राधेराधे र नयाँ थिमिका अधिकांश क्षेत्र पानी पर्न थालेसँगै डुबानमा पर्ने गर्दथ्ये । तर यस वर्ष खोलामा पर्खाल लगाएकाले डुबानमा नपरेको स्थानीय बताउँछन् । 

निकोसेराका सहदेव कस्तीले विगतको समस्या यस वर्ष भोग्नु नपरेको बताए । निकोसेराको बाटोछेउमै रहेको उनका घरको पहिलो तल्ला विगतको वर्ष जलमग्न भएको थियो । तर यस वर्ष पानी नपसेको उनले बताए । पानी पसेपछि घर सफा गर्नै समस्या हुन्थ्यो । पानीसँगै मिसेर आएको लेदो सफा गर्ने समय लाग्थ्यो । तर यस वर्ष यति धेरै पानी परे पनि डुबानमा नपरेको उनले बताए । 

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार थिमिमा अरनिको राजमार्ग रहेकाले स्थानीयले डुबानमा समस्या भोग्दै आएको स्वीकार गरे । उनले मुख्य सडक निर्माण गर्दा ढल र कुलाको पनि व्यवस्था हुनुपर्ने भए पनि ढलको राम्रो व्यवस्था नभएकाले थिमिका स्थानीयले डुबानको समस्या भोग्न बाध्य भएको बताए । ‘राजमार्गमा धेरै क्षमता भएको कुलो बनाउनुपर्ने हो । तर कम क्षमताको बनाइएको छ । जसले पानीको बहाव थेग्नै सक्दैन,’ उनले भने ।
‘यस वर्ष विगतको समस्या भोग्नुपरेन । केही क्षेत्र डुबानमा त परे । तर विगतको जस्तो ठूलो समस्या भएन,’ उनले भने, ‘थिमि वरिपरिको खोलामा यस वर्ष २० फिट अग्लो पर्खाल लगाएको छौँ । यसले खोलाको बाढी स्थानीयको घरमा पस्न पाएन ।’ डुबानको समस्या अन्त्य गर्न हनुमन्ते खोलामा करिडोर निर्माणका लागि पहल गर्दै आए पनि निर्माण हुन नसकेको उनले बताए । 

भक्तपुरः कतै डुबान, कतै पहिरोको जोखिम

भक्तपुरमामा चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर थिमि गरी चारवटा स्थानीय तह छन् । भौगोलिक रुपमा पहाड र मैदान क्षेत्र रहेको भक्तपुरमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको जोखिम छ भने मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा बाढी र डुबानको जोखिम छ । 

सोमबार चाँगुनारायण नगरपालिकाको अधिकांश क्षेत्रमा पहिरो गयो । पालिकाको अधिकांश क्षेत्रमा भिरालो जमिन भएकाले पहिरोको जोखिम भएको स्थानीयले बताएको छन् । यस्तै, सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ सिरुटारमा डुबानमा जोखिम छ भने अरु केही वडामा पहिरोको जोखिम रहेको वडाध्यक्ष सानुकाजी कायस्थले बताए ।

वर्षाको कारण भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका खोला वरपर क्षेत्रका घर, टहरा, विद्यालयहरु डुबानमा पर्दै आएका छन् । तर गत वर्ष केही खोलामा पर्खाल लगाएकाले विगतको वर्षको तुलनामा यस वर्ष कम क्षेत्र डुबान भएको नगर प्रमुख श्रेष्ठ बताउँछन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...