दार्चुला – सुदूरपश्चिमेलीको मुख्य पर्व गोःरा (गौरा) आजदेखि शुरू भएको छ ।

गाेःरा शुरूभएसँगै आज गाेःराकाे पहिलाे दिन गाेःरादेवीको प्रसाद बिरुडा भिजाइँदै छ । गाेःरा पर्वको पहिलाे दिनमा सुदूरपश्चिमका विवाहित महिलाले नजिकैको धारा तथा पँधेरामा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउछन् । 

गौरापर्व मनाउने समुदायका महिलाले निरहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात पाँच थरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गाेःराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने चलन रहेको पाइन्छ ।

गाेःरा पर्व अर्थात भाद्र महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाले सौभाग्यका रूपमा मनाउने चलन रहेको छ । भदौ महिना हरियालीसहित शुभ महिना मानिन्छ, यो महिना विवाहित महिलाको सौभाग्य महिनाका रूपमा हेरिन्छ ।

भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गाेःरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिककार्य आयोजना गरेर मनाइने चलन रहेको सायल गाउँपालिकाका ज्योतिष (पण्डित) चेतराज उपाध्यायले बताए ।

उनका अनुसार गाेःरा पर्व विशेषगरी छिमेकी मुलुक भारत कुमाउँ तथा यहाँ परापूर्वकालदेखि नै मनाइँदै आएको छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निरहार रही गरेका उपासनाको फलस्वरुप तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी त्यही सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती रहेको यहाँका बूढापाका बताउँछन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याइन्छ ।

गाेःरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गाैरी (गाेःरा)को पूजाआजा गर्ने परम्परा रहेको छ ।

गाेःरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

ठाउँअनुसार गाेःरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने चलन छ । मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट कुलदेवता प्रशन्न हुने र परिवारमा सुख, शान्ति हुने जनविश्वास रहेको छ ।

गाेःरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् ।

त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ ।

गाेःरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्वकालदेखि नै मनाइँदै आएको पर्व हो । यस वर्ष भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...