हेर्दै मुर्झाइसकेको र थकित जस्तो अनुहार लिएर जब उनी त्रिभुवन विमास्थल आइपुगे तब पोहोर साल जस्तो यस पटक उनलाई देख्न श्रीमती र छोराका आँखाहरू एयरपोर्टमा पर्खिरहेका थिएनन् । न आमाको मुस्कानहरू त्यहाँ डुलिरहेको थिए । त्यसो त ती आँखाहरू, ती मुस्कानहरू उभिरहेको हुनेछ भन्ने आशा उति थिएन पनि तर मनको कुनामा साना सास फेरिरहेको मायाले भने खोज्न जोड गर्यो ।

सायद, यसै कारणले पनि होला कतै चिनेकै ठाउँमा पनि यात्रा हराएको यायावर झैँ आज पहिलो पटक उनलाई त्रिभुवन विमानस्थलमा त्यो पल बिरानो लाग्यो, आफ्नो लागेन ।

६ घण्टाको हवाइ यात्रा पहिलो पटक यति पट्यारलाग्दो र लामो लागेको थियो उनलाई । यात्राभर एउटै कुरा मन मस्तिष्कमा खेलिरह्यो उनको ‘के तिमीलाई हाम्रो छोरा र मैलेभन्दा बढी माया उसले गर्यो त ?’

सायद यात्राको थकानभन्दा अक्कर उकालो, आफ्नाले दिएको चोटको थिए । जसको विरुद्ध ऊ भारी मनका पाइला उचालिरहेको थियो । एउटा ट्याक्सी उनलाई लिएर घरको ठेगाना तिर हुइकियो । जति जति घर नजिक हुन्थ्यो त्यति नै छटपटी हुँदै थियो, असीनपसीन हुँदै थिए उनी ।

उनलाई लाग्थ्यो कि ऊ नर्कमा जाँदै छ । घर अगाडि ट्यक्सी रोकियो । केहीबेर ट्याक्सी मै झोक्राइरहे उनी । बाहिरबाट कसैले बोलाउँदै गरेको आवाजले झस्किए । उनको छोराले सामान झार्न मद्दत गरे एउटा लगेज घिस्याउँदै छोरा गेटभित्र छिरे ।

गह्रौँ मन लिएर छोरालाइ पछ्याउदै उनले पाइला सारे । गेट भित्र छिर्दा आँगनभरि पञ्चहरू थिए । उनको श्रीमती नजर झुकाएर उभिरहेकी थिइन् । छेवैमा आमा र छोरा पनि त्यहीँ गएर उभियो ।
 
एकजना पञ्चले सोध्यो, ‘ल कान्छा अब के गर्छेस् त, बुहारी जाने नै भइन् । तेरो केही भन्नु छ ?’ एउटै सपना थियो देखेका, एउटै गन्तव्य थियो पुग्नुपर्ने कसरी भन्नु केही छैन ? उसैको खुसीको लागि म आफैँसँग टाढिएर विदेशिए कसरी भन्नु केही छैन ? म हराएको खबर अझै बेखबरनै छ कसरी भन्नु केही छैन ? भन्नु त धेरै थियो उनलाई तर केही भनेनन्।

भने त केवल श्रीमतीलाई जो केही समयपछि अरूकै श्रीमती हुनेछिन् । ‘ठिक छ जाऊ तिमी, म छोरामै हाम्रो माया देखेर बाँच्ने छु ।’ अनि यो दृष्य चलिरहेको बेला पार्श्वमा बजिरहेको हुन्छ ।

‘प्रिय तिम्रो सम्झना भविष्यको कल्पना,
मुटुमा बोकेर परदेशै जाँदै छु ।’

कुरा २०५३ सालको हो आफ्नो संगीतका विद्यार्थी जसको अभिभावकहरूमा यो घटना घटेको थियो । श्रीमानश्रीमती बीचको यो घटनाका आफू पञ्चको रूपमा पुगेका उनी । त्यो दिनको घटनाले आफूलाई साह्रै नमज्जाले घोच्यो । उनी आफ्नो सोचाइबाट निस्कन सकेनन् । र उनले सोही कुरा गीतमा लेखे ।

आफ्नै शब्द, संगीत र स्वर रहेको गीत यथार्थपरक भएकोले नै अझै सम्म पनि दर्शक स्रोताको मनमा बस्न सफल रहेको उनको बुझाइ छ । सुख, दुःखमा सँगै पाइला चाल्छु भन्ने प्रियसी, एउटै सपनाको सिरानी लगाउने सपनाभन्दा प्यारी श्रीमती, ऐठनहरूमा चस्किरहने गाउँघर छोडेर सुनौलो भविष्यको खोजीमा विदेशिनुको पिडा सायदै उनले भन्दा अरू कसले महसुस गर्नसक्थे होला ?

उनी पनि त संगीतमा आफूलाई खोज्दै सपनाको रागहरू आलाप्दै आफ्नो गाउँ ठाँउ दार्जेलिङ र आफ्नालाई छोडेरै आएकै हुन परदेश । उनले विदेशी भूमिको रूपमा २०४१ सालमा कलंकीमा पाइला टेकेका थिए । घण्टाघरस्थित सेम्फोनिक रेकर्डिङ स्टुडियोमा यो गित रेकर्ड गराउन जादाँ एकजना भाइले ‘यो बुढोले के गाउला’ भन्दै रेकर्डिङ रुममा सुन्न बसेका थिए ।

तर जब उनी गीत सकाएर निस्किए उनको सबैले तारिफ गरे र ती बुढा भन्ने भाइले माफी मागेको रमाइलो अनुभव छ उनीसँग । भन्छन्, ‘त्यतिबेला म ३५ वर्षको थिए होला तर त्यति बेलादेखि नै मेरो कपाल कम थियो त्यै भएर त्यो भाइलाई म बुढा लागे हुँला’, उनी हाँस्छन् ।

जीवन रङ्गाउन सबैको एक न एकदिन टर्निङ पोइन्ट आउँछ भन्छन्, ‘सायद उनको लागि यो गीत नै जीवनको सुनौलो अवसर बनेर आयो । होला कसै एक व्यक्तिको दुःखले छोएर लेखिएको थियो गीत । तर घरबाट टाढिनुको दुःख त सबैको छ नि ? विदेशीनुको दुःख त हरेकको छ नि ? चाहे म होस या तपाईं ? ती हरेक व्यक्ति जो यो गीतका पात्र हुन् । उनीहरूले गीतमा आफूलाई पाए । यसरी हरेकको मनमा बसेर, ती चोटहरूमा मह्लम लगाउँदै उनले विभिन्न देशको भ्रमण गरे । ‘नमार है माया मेरो जीवन मेरो समसान बन्छ, पसिना र त्याग सबै व्यर्थै एउटा श्राप बन्छ ।’

यसरी यो गीत अझै पनि जताततै गुञ्जयमान छ । चाहे त्यो दर्शक स्रोताको मनमा होस । या टेलिभिजनका रियालिटि सो मा । गत साल ‘भ्वाइस अफ नेपाल’ को स्टेजमा पनि गुञ्जिएकै थियो र यो साल पनि गुञ्जिएकै छ ।

कभरको रूपमा गाउनेहरूको पनि लामै लिस्ट पाउन सकिन्छ युट्युवतिर । सुरेशका हरेक गीत संगीत सुनेपछि जो कोही मन्त्रमुग्ध हुन्छ । ध्यानको गहिराइमा पुग्छन् । तब त चिठीपत्रका चाङ लाग्थे उनका फ्यानहरूको । रेडियोतिर फरमाइ अनि कार्यक्रममा दर्शक स्रोताको खचाखच उपस्थिति । त्यसो त अहिले पनि उनको क्रेज त्यति नै पाउछौँ ।

‘नझार है आँसु तिम्रो बिदाइमा विव्हल बन्छु, इश्वरको कृपा भए घर चाँडै फर्की आउँछु ।’ 

गाउँदै ‘भ्वाइस अफ नेपाल’ सिजन ३ को ब्लाइण्ड अडिसनमा प्रस्तुत भएका इशान राई पनि संगीतप्रतिको फिल र छुट्टै किसिमको मिठास भएकै कारण यो गीत आफूले रोजेको उनी बताउँछन् । यो गीत गाएपछि उनलाई धेरैबाट माया सम्मान मिलेको अनुभव सुनाउँछन् । त्यसो त इसानलाई उनका ‘गाजलुले आँखै छोप्नेु, पर्खिरहन्थ्यौ पधेँरीमा’, ‘आइ मिस यु’ लगायत सबै गीतहरू मन पर्छ । त्यस्तै बल बहादुर राजवंशीले पनि गत साल भ्वाइस अफ नेपालको लाइभ राउण्डमा र रबि ओडले नेपाल आइडल सिजन– २ मा यो गीत मार्फत आफ्नो प्रस्तुति दिएका थिए । 

नेपाली सुगम संगीतकाे एक दरिलो स्तम्भ हो सुरेश कुमार क्षेत्री । उनलाई टाढाबाट हेर्दा र सुन्दा जति मिठो लाग्छ नजिकबाट उनी त्यति नै रसिक छन् । मिठो संगीत जस्तै नबिझाउने छन् । सबैसँग मिजासिलो र रमाइलो स्वभाव अनि जादु देखाएर अपनत्व अनुभव गराउन सक्नु उनको अर्को खुबी हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार