काठमाडौं - बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विनोद चालिसेले आफ्नो पार्टीले जित्ने आधार भएको दाबी गरेका छन् । चालिसेले भने, “व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानीलकण्ठ हाम्रो रहर भन्ने नाराका साथ हामी जनताको घरदैलो अभियानमा छौं । हाम्रो नमुना बूढानीलकण्ठ अभियानमा जनलहर देखिएको छ ।”

चालिसेले बूढानीलकण्ठमा प्रशस्त समस्या भए पनि त्यसलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, “कर प्रणाली व्यवस्थित छैन, जग्गा प्लटिङका नाममा जथाभाबी भइरहेको छ । हामी यहाँ रहेका हरेक चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्नुपर्छ । विगतको स्थानीय सरकार प्रक्रियामुखी भयो तर परिणाममुखी भएन । सडक कालोपत्रे गर्नु, ढल हाल्नु मात्र विकास होइन । विकासका बहुआयाम हुन्छन् । सामाजिक, आर्थिक, मानवीय विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सरकारले बुझेन ।”

बूढानीलकण्ठमा गठबन्धन नभए पनि कांग्रेसले जित्ने आधारहरु भएको उनले बताए । उनले भने, “स्थानीय आवश्यकता हेरेर गठबन्धन गर्ने केन्द्रको नीति हो । बूढानीलकण्ठका केही वडामा मात्र गठबन्धन भएको छ । गठबन्धन नभए पनि जनताको बीचमा आफ्ना एजेन्डा लगेर जित्न सक्षम छौं । हामीले यस पटक जित्ने आधारहरु प्रशस्तै छन् । कोभिडका बेला हामीले साथ दिएका थियौं । सदैव जनताको सुखदुःखमा साथै छौं ।”

बूढानीलकण्ठका मतदातासमक्ष ९ प्रतिबद्धता गरेको पनि उनले औंल्याए । उनले भने, “सेवा प्रवाहमा सुधार र सुशासनयुक्त नगर प्रशासन, बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण, धर्म संस्कृति, कला, भाषा, साहित्य, शिक्षा तथा स्वास्थ्य, स्वच्छ वातावरण, सफा र सुन्दर नगर, रोजगारी र उद्यमशीलताः आर्थिक रूपले नमुना नगर, आफ्नै पानी आफैँले खानी, सबल र सशक्त समाज निर्माण र सूचना र सञ्चार, समृद्धिको आधार कांग्रेसको प्रतिबद्धता हुन् ।”

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार