भक्तपुर-

घटना–१ 
भक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी मद्यपान गरेरै बित्छ । मद्यपान गरी परिवारको अन्य सदस्यलाई शारीरिक र मानिसक तनाव दिने भएकोले उनलाई छिमेकीको सहयोगमा सुधारगृहमा राखिएको छ। उनको दुई सन्तान र एक श्रीमती छन् । चार दाजुभाईमध्ये उनका एक भाई नेपाल प्रहरीमा कार्यरत छन् । श्रेष्ठले मद्यपान गर्ने भएकै कारण उनको परिवारका अन्य सदस्यलाई समेत छरछिमेकले हेयका दृष्टिले हेर्छन । उनका भाईहरूले पनि जग्गाको साँध सीमाना मिच्ने र मानसिक परिवारका सदस्यलाई तनाव दिने गरेका छन् । यस्तो दुर्व्यवहार सहन नसकेर उनकी श्रीमती प्रहरी कार्यालयमा उजुरी दिन गइन् । तर, त्यहाँ साक्षी बस्ने कोही नभएपछि महानगरीय प्रहरी वृत्त, जगातीले केही कारबाही अघि नै नबढाएको उनले बताइन । अन्तत, उनको सो उजुरी त्यतिकै राखियो । 

घटना–२
दुवाकोटकी सीता थापा (नाम परिवर्तन) ले कृष्ण थापासँग वैवाहिक सम्बन्धमा गाँसिन । उनीहरूको दुई छोरी पनि छन् । तर, पनि कृष्णले दोस्रो विवाह गरे । दोस्रो विवाहपश्चात् कृष्ण सीता र दुई छोरीको जिम्मेवारीबाट पछि हटे । यही कारण सीता श्रीमानसँग छुट्टिएर बसिन । सीतालाई उनका ससुराले करिब एक रोपनी जमिन नामसारी गरिदिए । तर, केही समय नबित्दै सीताको मृत्यु भयो । अहिले उनकी दुई छोरी मामाघरमा बस्दै अध्ययन गर्दै आएका छन् । तर, उनीहरूलाई बुबाले न त नागरिकता नै बनाईदिए न त आमाको नाममा भएको जमिन नामसारी नै । सोही जग्गा नामसारी गर्न पटकपटक उनीहरुको बाबुलाई आग्रह गरे पनि कुनै पहल नभएको उनीहरूको गुनासो छ । तर, कानुनी रुपमा मुद्दा हालेर जग्गा नामसारी गर्न खोज्दा केही आधार नभएको उनीहरूको दुखेसो छ । 

घटना–३
सुडालकी रमिता श्रेष्ठका श्रीमान् दिनहु मद्यपान गर्दै परिवारका सदस्यहरूलाई मानसिक र शारीरिक तनाव दिने गर्थे । पटकपटक प्रहरीमा उजुरी गरेर पक्राउ गर्न लगाए पनि भोलिपल्टै छाड्ने भएकोले  श्रीमानमा प्रहरीप्रतिको डर नै हराइसकेको थियो । श्रीमानलाई मुद्दा हालम नैतिकताले नदिँने । यतिकै राखम सहिसाध्ये छैन । उनले भनिन्, ‘त्यसैले स्थानीय महिला दिदीबहिनीको सहयोगमा उहाँलाई सुधार्ने कोशिश गर्यौ र सफल पनि भयौँ । अहिले पहिलेको जस्तो पीडा सहनु परेको छैन । 

यी त केही मात्रै उदाहरण मात्रै हुन् । भक्तपुरमा यस्ता समस्या पछिल्लो समय बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष जघन्य अपराध, मानवअधिकार हननसम्बन्धी तीन सय ६२ वटा उजुरी परेका छन् । जुन गत वर्षको तुलनामा करिब दुई सयले बढी हो । परिसरको तथ्यांकअनुसार गतवर्ष एक सय ६ वटा घटना दर्ता भएको थियो । 

यस वर्ष भक्तपुरमा मात्रै १७ जना बालिका र २४ जना महिला गरी ४१ जनामाथि बलात्कार भएको छ । यसैगरी, १० बालबालिकामाथि यौनदुर्व्यवहार र नौ जना वहुविवाह गरी १९ जना महिला पीडित भएको प्रहरीले जनाएको छ । तथ्यांकअनुसार ६ जनाको हत्या र ५८ जनाले आत्महत्या गरेका छन् । यसैगरी, दुई सय आठ जना हराउनुका साथै एक सय ९० जना फेला परेका छन् । हराए ८० महिलामध्ये ७६ जनामहिला, ४७ पुरुषमध्ये ३७ जना, ३६ बालिकामध्ये ३३ र ४५ बालकमध्ये ४४ जना फेला गरेका छन् । विभिन्न स्थानबाट १३ व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना उच्च रुपमा बढेको छ। चिनजानका व्यक्ति तथा आफन्तबाट धेरै महिला पीडित भएको र केही घटना त स्थानीयले लुकाउने समेत गरेको उनले बताए  । उनले कुनै पनि अपराधका मुख्य कारण आर्थिक पक्ष जोडिएको बताउँदै मादक पदार्थ तथा लागू पदार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने बताए । उनले पीडितलाई आफन्तले रचनात्मक र मानवीय सहयोग नगर्ने बरु थप पीडा दिन खोज्ने प्रवृत्तिका कारण पनि हिंसा बढेको बताए । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशत हिंसा बढेको बताए । उनले घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको बताए । बहुविवाह र बालवविाहका कारण उनीहरूबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र आफ्नो पहिचान पाउन नसकेको बताए । उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्ने जोड दिए । 

स्थानीय तहको न्यायीक समितिमा पनि महिला हिंसा, यौन हिंसालगायतको उजुरी पर्ने गरेको सूर्यविनायक नगरपालिकका उपप्रमुख तथा न्यायीक समितिका प्रमुख जुना बस्नेतले बताए । उनले मानव अधिकार संरक्षणका लागि स्थानीय तहबाट बालबालिका, महिला तथा आर्थिक रुपमा कमजोर व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरेको बताए । उनले समुदायमा एकल महिला बढी पीडित भएको पनि बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार