सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले क्रमश: सिन्धुपाल्चोकको बजारमा  सामग्री बिक्री गर्न सुरु गरेको छ ।

मेसिनरी बजारहरु थप भएसँगै चौताराको निजी विद्यालय जुगल बोर्डिङ हाइस्कुलको ड्रेसयही गार्मेन्टबाट तयार गरिएको छ । विद्यालयका प्रिन्सिपल ओम प्रकास उप्रेतीले स्थानीय स्तरको उद्योगलाई प्रवर्धन गर्न आफूहरुले यसो गरेको बताउँछन् । भन्छन् , 'स्थानीय ठाँउको उद्योगलाई प्रर्वदन गर्नुपर्छ भनेर स्वेटर ,ट्रयाकसुट,टाई, बेल्ट बनाउने कामको अर्डर दिएका हौं ।' विगतका वर्षमा काठमाडौमा अर्डर दिँदा ढिलो आउने, बारम्बार धाउनुपर्ने समस्याबाट छुटकारा मिलेको उप्रेती बताउँछन् ।  

श्री कृष्ण रत्न गंगा माविको  ट्याकसुट सेट निर्माणको काम पनि यही गार्मेन्टबाट भइरहेको छ । गार्मेन्ट उद्योग नयाँ हो तर, उद्योगले दिएको गुणस्तरबाट विद्यालय, क्लबहरु खुसी छन् । उद्योगले अहिले जिल्लाको विद्यालय, क्लबहरुको ड्रेस  यहाँबाटै उत्पादन गरि बिक्री वितरण गर्ने थालेको हो ।  

सिजनको समयमा यहाँ बीस जना भन्दा बढीले रोजगारी पाउने गरेका छन् । मेसिनहरु थप हुँदै गरेको र बजार पनि बढ्दै गरेकाले केही समयमै अन्यले पनि रोजगार पाउँने सञ्चालकहरुको भनाइ छ । यहाँ काठमाडौँबाट कच्चा पदार्थ ल्याइ कपडा उत्पादन गर्ने गरिन्छ । रोल सादा कपडा ल्याइ डिजाइन यही तयार हुन्छ । अहिले यहाँ टिसर्ट, पाइन्ट, ट्राउजरलगायत उत्पादन हुने गर्दछ ।    

विगतका वर्ष राजधानीमात्र बजार केन्द्रित थियो । बजारीकरणको समस्या समाधान हुने हो भने उत्पादन जति पनि दिन सकिने गार्मेन्ट सञ्चालक समितिका संयोजक हरि विश्वकर्माको भनाइ छ । पर्याप्त मेसिनरी बजारहरु भएकाले उत्पादन दिन समस्या छैन । गार्मेन्ट उद्योगमा सिलाइ मेसिन, इन्टरलक, फ्याट लक, रिसकटरहरु छन् । 

सत्तरी लाख रुपैयाँ भन्दा बढी लगानी गरेर स्वाभिमानी बहुउद्धेश्य सहकारीमार्फत सिन्धुपाल्चोकमा पहिलोपटक गार्मेन्ट उद्योग सञ्चालन आएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा सञ्चालित यो गार्मेन्ट उद्योगमा आवद्ध सबै सदस्य दलित समुदायका हुन् । गार्मेन्ट उद्योग सञ्चालनका लागि  भाडामा लिएको जग्गामा पूर्वाधार निर्माण गरिएको छ । गाउँमै काम पाएपछि बेरोजगार बस्न नपरेको उद्योगका व्यवस्थापक बादलराज नेपाली बताउँछन् । गार्मेन्ट उद्योग सञ्चालनमा आएपछि सीप भएका स्थानीयले दैनिक काम अनुसारको ज्याला पाइरहेका छन् ।    

दलित समुदाय आफैं सहकारीमार्फत उद्यमी बन्न अग्रसर भएपछि उद्योगलाई थप व्यवसायिक बनाउन नगरपालिकाले सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले सामान खरिद गर्नका लागि गत वर्षमा २० लाख उपलब्ध गराएको थियो । नगरपालिकालाई आर्थिक अवस्थामा सुधार ल्याउनका लागि युवाहरु एकजुट भएर काम गर्न थालेपछि सहयोग गरिएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । नगरपालिकाको सँगै भवन निर्माणलगायतमा घरेलु तथा साना उद्योग समितिकोसमेत सहयोग रहेको गार्मेन्ट सञ्चालक समितिले जनाएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार