तिमी महान् होइनौ मूर्ख हौ
देवी होइनौ दासी हौ
मध्येरातमा घर छेउकै सडकपेटीमा पुगेर
शरीरमा जाँड मुतेर पल्टिन्छ एक लोग्ने मान्छे
चिच्चाई चिच्चाई गाली गर्छ तिमीलाई
तिमी काँध हालेर ल्याउँछौ घर
ऊ दैलोमा बजार्छ लात्ती
उखेल्छ तिम्रा रौंहरू
तिम्रै मुखमा फालिदिन्छ तिमीले प्रेमले पस्किएको भात
अगुल्टोले हिर्काउँछ तिमीलाई
चिथोर्छ, लुच्छ, थिलथिलो पार्छ
खेल्छ तिम्रो शरीरसित
तिमी सृष्टि हैनौ
स्वास्नी हौ
फगत स्वास्नी
केबल एक आइमाई मान्छे
तिमीले सपना देख्न छाडिदियौ
सहादता दियौ प्रेमको
हत्या गर्यौ रहरहरूको
आगो लगायौ आफ्ना सपनाहरूमा
तिमीसँग तिम्रो आवाज छैन
तिमीसँग तिम्रा सपनाहरु छैनन्
तिमीसँग तिमी हुनुको पहिचान छैन
तिमीसँग तिम्रै जिन्दगी पनि छैन
तिमी माटो हौ
पोखरीको डिलबाट झिकिएको एक डल्लो माटो
जसलाई जसले जसरी पनि खेलाउन सक्छ
प्रतिकारका लागि छैनन् तिमीसँग मुठ्ठीहरू
बोक्सी भनेर मलमुत्र खुवाउन होस्
वा कपाल मुडेर गाउँ डुलाउन
वेश्या भनेर नाङ्गै लखेट्न होस्
वा दाइजोमा जोखेर जिउँदै जलाउन
तिमीभन्दा सस्तो खेलौना नै के छ अरु?
एक चोटा भान्साघर,
एक थान वासिङ मेसिन,
एक टिफिनको डिब्बा,
एक अञ्जुली पँधेरो,
एक दाना खेत,
एक कोसा करेसाबारी,
एक भारी वन,
एक बटुका तेल,
अनि एक ओछ्यान रात
यो भन्दा बढ्ता के हौ तिमी?
म सराप्छु तिम्रो ममतालाई
धिक्कार तिम्रो सहनशीलता
मलाई घृणा छ तिम्रो जिन्दगीसित
मलाई थुक्न मन छ तिम्रो देवताको मुखमा
सक्थें भने म,
मेटाईदिन्थे म भित्रको तिम्रो दासत्वको अंश
तिम्रो स्वाँठ ममताको वात्सल्य
यो सुन्निएको आँखा
यो तेजाब भरिएको अनुहार
यी कलेटी परेका ओठ
यी पट्पटी फुटेका हत्केला
सडेका पैताला
घाउले भरिएको पिठ्युँ
यो सबलाई तिमी महान् भन्छौ?
धर्तीको सहनशीलता भन्छौ ?
र भन्छौ आफू बाँच्नुको धर्म ?
तिम्रो त जन्मै पनि दुर्घटना हो
तिमी नचाहिएकी हौ
तिमी नरुचाइएकी हौ
यी हजार अत्याचारहरु साक्षी छन्
यी हजार उत्पीडनहरू साक्षी छन्
तिमी महान् हेइनौ मूर्ख हौ
देवी होइनौ दासी हौ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...