किनकिन आज पटक्कै निद्रा पर्दैन । छट्पटिन्छु । घरी यता, घरि उता । कोल्टे फेर्छु । निद्रा आँखाको आकाशबाट दूर क्षितिजको दूरीमा कतै हराए जस्तो छ । बेलाबेलामा यस्तो त भइ नै रहन्छ मलाई ।
सायद आज कफीको डोज धेरै भएको छ । चिनी बिनाको तितो कफी मन पर्छ मलाई । त्यो पनि डबल डोजमा । यही कालो कफी पिउने बानीले मेरो निद्राको आयु त्यसैत्यसै घटाइ रहेको छ आजभोलि दिनप्रतिदिन । त्यसो त निदाउनुमा भन्दा जाग्नुमा बढी आनन्द लाग्छ मलाई । एक्कासी चुरोटको पो तलतल लागे जस्तो हुन्छ । बिस्तराबाट उठ्छु । छाम छुम गर्दै बत्ती बाल्छु । त्यसो त औंलाहरूलाई आदत लागिसकेको छ, बत्तीको स्वीच ठम्याउन ।
बट्टाबाट एक खिल्ली चुरोट निकाल्छु, लाइटरले सल्काउँछु । अनि बिस्तारै ओठको बिचमा च्याँप्छु । उकुसमुकुस भए जस्तो लाग्छ, झ्याल खोल्छु । नजिकै अडेसिन्छु र पर्दा खोल्दै मस्तसँग तान्न थाल्छु । धुँवैधुँवाले छिनमै कुइरी मण्डल बनाउँछ कोठा । धुँवामा रमाउने आदत जो लागेको छ । औधी मन पर्छ मलाई धुँवा उडाउन । त्यसो त चुरोटको होस् या अरू कुनै धुँवा । धुँवामा हराउन मन लाग्छ । जिन्दगी पनि त एउटा धुँवा नै हो आखिर । एकदिन फुस्स उड्छ अनि सकिन्छ धँवा बनेर । धुँवा उडाउनुको मज्जा बेग्लै हुन्छ । सायद धुँवा उडाउनेहरूले राम्रोसँग अनुभव गर्न सक्छन् मेरा धुँवामा रुमल्लिएका धुँवादार अनुभूतिहरू । झ्यालको चेपबाट बाहिर चिहाउँछु । शून्य आकाश, शान्त धर्तीमा भ्यागुताको एकनासको ट्वारट्वार आवाज अनि चकमन्न अँधेरी रात । कतैकतै दूर क्षितिजमा पिलिक्कपिलिक्क गर्ने ताराहरूको मुस्कानले यतिबेला धर्तीलाई त्यसैत्यसै मादक बनाइरहेको छ ।
कति रोमान्टिक हो यो समय अनि यो मौसम । त्यसैत्यसै थामिदिउँ जस्तो लाग्छ मलाई । त्यो पनि मेरै खुसीको लागि अनि मेरै निहीत स्वार्थका लागि । किनकिन मनमनै मुसुक्क मुस्कुराउन मन लाग्छ । सायद यतिखेर मेरा ओठहरू मुस्कुराइरहेका होलान् । मेरो अनुहार हाँसिरहेको हुनुपर्छ । काश! यतिबेला हेरिदिने कोही मन मिल्ने मान्छे हुन्थ्यो मसँग । देख्थ्यो होला मेरा मुस्कुराइरहेका मौन ओठहरू र पढथ्यो होला मेरो मन्दमुस्कानको अलौकिक रहस्य । अनि सुनाउँथ्यो होला अरू कसैलाई मेरा पागलपनका कथा जस्ताको तस्तै ।
कोही नहुनु पनि आफैँलाई एक्लै मार्नु रहेछ ।
कोही नभएपनि मोबाइल त छ नि साथीजस्तै
मोबाइल खोजेँ, सिरानीमै रहेछ । श्वास जत्तिकै प्यारो जो बनेको छ आजकल । किनकिन कविता कोर्न मन लाग्यो ।एक टुक्रा कोरी पनि हालेँ ।
......
यो एक्लो निशब्द रात
यो निस्पट्ट शून्यता
यी
ताराहरूको मादक प्रेम
दिलमा तरङ्ग ल्याउने
तिम्रा रुमानी यादहरू
यो चुरोटको मृत्युमा उत्सव मनाइ रहेको धुँवाको रङ्गमङ्गाइ
अनि,
तिम्रो र मेरो अलौकिक प्रेमको अधुरो प्रेमकथा..........
.......
फेसबुकमा पोस्टयाउँछु । समयको पर्वाह लाग्दैन मलाई । बेपर्वाह मान्छे जो परेँ । खासमा आफ्नै खुसीमा हिँड्ने मान्छे म आफैँमा आफैँ रमाउन मन पराउछु । बिन्दास बाँच्न मन पर्छ मलाई । निर्वाधरूपमा जिउनुको बेग्लै मजा हुन्छ । सायद म जस्तै गरी बाँच्नेलाई थाहा होला । जसरी रूखहरू हरियाभरिया भएर लहलहाउँदै जिउँछन् । जसरी छहराहरू निर्बन्ध भएर पहाडको टुप्पोबाट हाम फाल्दै बहन्छ्न् । जसरी चराहरू आकाशको साम्राज्यमा उचाईको बेग हानेर स्वतन्त्र उड्छन् । जसरी फूलहरू बगैँचामा उन्मुक्त भएर फुल्छन् । हो त्यसरी नै स्वतन्त्र भएर फुल्न चाहन्छु म । त्यसरी नै उन्मुक्त भएर जीवनको आकाशमा उडन मन पराउँछु म । करिबकरिब मध्यरात काटेर पनि अर्को नयाँ बिहानीको १ बज्न लागि सकेको हुन्छ ।
सारा दुनियाँ मस्तसँग निद्रा देवीको काखमा लुट्पुटिँदै, सपनाको दुनियाँमा आ-आफ्नो उडान भर्दै होलान । म भने आमाले सानो छँदा सुनाएका भूतप्रेतका दन्त्य कथाको पात्रजस्तै भूत बनेर जागराम बसेको हुन्छु त्यो पनि मस्तसँग धुँवा उडाउँदै आफ्नै फोक्सो भर्दै । पूरा रात बित्नै लागिसक्यो । यसरी आफ्नै तरिकाले जिउनुको पनि बेग्लै मजा हुन्छ लाइफमा ।
कविता फेसबुकमा पोस्टाएको पनि केही समय बितिसकेको हुन्छ । लाइक आउँछन् फाट्टफुट्ट । यो मध्यरातमा बसेर लाइक र कमेन्ट गर्ने म जस्तो पागल सायद अरू को नै पो भूत बनेर जागेको होला र यतिबेला । हाँसो उठ्छ मनमनै आफैँलाई देखेर । मुस्कुराउँछु ।
सोँची नसक्दै फ्याट्टै पहिलो कमेन्ट आइहाल्छ, 'वाह ! क्या लेख्नु भयो ।' अनि लभ रियाक्ट पनि । लभको रियाक्टको प्रतिक्रिया गरें मैले पनि रिप्लाईमा । कहिले रिप्लाई गर्न जरुरी नठान्ने मैले आज भने धन्यवाद लेखेँ पहिलोचोटि । खोइ किन हो आज आफ्नै औँलाहरू आफ्नै अनुमतिविना नै कुद्दै थिए अक्षरको दौडमा नि । अरोमा नाम गरेकी अनचिनारु युवतीबाट पहिलो कमेन्ट सायद पहिलोपटक नै आएको थियो जहाँ सम्म मलाई याद छ । किनकिन उसकाे प्रोफाइल चेक गर्न मन लाग्यो । आँखामा निद छैन, मन बेचैन छ । समय कटाउनु जो छ ।
उसकाे प्रोफाइलमा क्लिक गरेँ । सुन्दर मुहार, मन्द मुस्कान ओठमा, स्वस्थ छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एक एक गर्दै स्क्रोल गर्दै हेर्न थालेँ सबै तस्वीरहरू । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो यो ? साँच्चिकै मान्छे नै हो कि म जस्तै पागल हो । या दन्त्य कथा कि भूत नै हो आखिर । फोटो बाहेक अरू केही देखिन उसकाे फेसबुकभरि । फोटो खिच्न मन पराउने देखियो सबै तस्वीरहरू हेर्दा । फरकफरक पोजमा, फरकफरक ठाँउ र परिवेशमा थुप्रैथुप्रै फोटोहरू खिचेर पोस्टाएकि रहिछ । साह्रै राम्री लाग्यो मलाई उसकाे बाहिरी बनावट ।
लगभग २ घण्टा लगाएर सबैजसो फोटो हेरेँ । जब सबै हेरेर सकियो निद्रा त हराएकै थियो । झन् अनौठो छ्ट्पटी पनि शुरू भाे । मन कौतुहल भो । बेचैनी छुट्यो, कस्तो-कस्तो ! किन किन उसकाे बारेमा झन् धेरै जान्ने उत्सुकता जाग्यो । उसँग बोल्न मन लाग्यो एकाएक । यति राति यो समय के हुँदै छ मलाई, म ठम्याउन सक्दिनँ । मनलाई सम्झाउन खोज्छु तर दिमागको चल्दैन केही । भाषा बुझ्दैन दिलले दिमागको आजभोलि ।
हाइ भन्न मन लाग्यो एकपटक । जेसुकै सोचोस् । जे सुकै बुझोस् । जेसुकै नै भनोस् आखिर मलाई केही फरक पर्दैन । यसो हेरेँ अनलाइन छ कि छैन भनेर । अनलाइन नै देखेँ । 'हाइ' लेखी हालेँ । छिन् मै रिप्लाई आयो, 'हजुर' भन्ने । हजुर भन्दा मन भित्रैसम्म छोयो । मलाई किनकिन केटीहरूले हजुर भनेको साह्रै मीठो लाग्छ । 'कति मीठो लेख्नु हुन्छ हजुर ।' म आफ्नै काल्पनिक दुनियाँमा हराउँदै गर्दा उताबाट उसकाे म्यासेज आइसक्छ । 'धन्यवाद' भनेँ । म हजुरको ठूलो फ्यान हो भन्ने म्यासेज आयो । खुसी लाग्यो 'धन्यवाद' भनेँ । म हजुरको कविताहरू सधैँ र सबैजसो पढ्ने गर्छु तर हजुरले चिन्नुहुन्न मलाईचाहिँ भनी । 'ए हो र ? माफ गर्नु होला, आजदेखि चिनेँ नि त' भनें अनि हाँसेको एमोजी सेन्ड गरेँ । यसरी हाइबाट शुरू भएको हाम्रो च्याटगफ करिबकरिब बिहानीको छ बजेसम्म चल्यो ।
यति लामो च्याट गफ सायद कसैसँग भएको थिएन मेरो । त्यो पनि एउटी युवतीसँग यस्तो मध्यरातमा । छुट्टिनै मन लागेको थिएन, गफ गरिरहुँ जस्तो लाग्ने । खोइ के कुराले तानेको थियो मलाई उप्रति ? के कुराले यसरी मध्यरातमा जोडेको थियो हामी दुबैलाई थाहा थिएन । अर्को दिन पनि उसँग सामान्य कुराकानी भो, हिजो जस्तै । मेरो नियमित पाठक भएको र मेरो किताब पढ्न इच्छुक भएको कुरा बताइ । मलाई भेट्ने तीव्र इच्छा चाहना प्रकट गरिन् । त्यसो त मलाई पनि उनीसँग भेट्ने रहर जो थियो ।
मेरो त के थियो र ? फुर्सद नै फुर्सद थियो जीवनमा । दिनभरि सुत्नु र साँझ परेपछि एकान्तमा डुल्नु बाहेक केही काम थिएन । प्रायः रातिमा लेख्ने गर्थें । 'भोलि नै भेटौँ न त तपाईंलाई फुर्सद छ भने । तपाईंलाई पायक पर्ने ठाउँमा', म्यासेज पठाएँ । 'हुन्छ' भन्ने रिप्लाइ आयो तुरुन्तै । मलाई किनकिन उसलाई अहिले भेटिहालौँ जस्तो भएको थियो । उसकाे उत्तर सुन्दा मन त्यसैत्यसै फुरुङ्ग बन्यो । भमराजस्तै उड्न खोज्यो खुसीले । यो भन्दा अगाडि पनि त धेरै पाठकहरूसँग भेटेको छु तर यति धेरै कौतुहल र बेचैनी कहिले भएको थिएन मलाई । तर आज यो के भैरहेको छ । मलाई नै थाहा छैन । खोइ किन किन काल्पनिक प्रेमिका भेट्न जान लागेको जस्तो भान भयो । त्यो रात निदाउनै सकिनँ । हेरेँ, अनलाइन देखिन । फेरि उसका तस्वीरहरू नियाल्न थालेँ । जसोतसो एक शताब्दी जस्तो रात ननिदाई गुजारेँ ।
उज्यालो भयो । घामले पृथ्वीलाई स्पर्श गर्यो । बिहानको ९ बजेको समय दिएको थिएँ आफैँले । उसकै घर नजिकको रेस्टुरेन्टमा भेट्न आग्रह गरेको थिएँ ।
छिटोछिटो तयार भएँ । तयार त के हुनु थियो र, हातमुख धोएँ, लुगा घुसारेँ शरीरमा अनि मोबाइल समातेर बाटो लागेँ ।
९ नबज्दै पुगेँ, मैले नै दिएको ठेगानामा । सिमसिम पानी पर्न शुरू भयो । वर्खामासको मौसमको केही ठेगान हुन्न । कतिबेला आकाश रुन शुरू गर्छ । ऊ भने अझै आइपुगेकी थिइन । फोन गरुँगरुँ जस्तो लाग्यो, एक तमासको छट्पटी छुट्यो । यता हेरेँ उता हेरेँ । अहँ ! कतै अत्तोपत्तो छैन उसकाे । फोन गर्न आँट पनि आएन । नम्बर त थियो हिजै आदानप्रदान गरेका थियौँ तर फोन गर्न सकिन । के छ र आउँदै होली । कुर्नुमा रमाउनु पर्छ । आखिर मैले पनि त कति जनालाई जानअन्जान कुराएकै छु नि ! वेटर आयो, दुई खिल्ली चुरोट र एउटा ब्ल्याक कफी विथ आउट सुगर अडर गरेँ । त्यो पनि डबल डोजमा । मलाई तीतोभित्रको मिठोपना मन पर्छ धेरै । डार्क कोलरहरूमा रमाउछु म ।
चुरोट लिएर आयो हँसिलो मुहार बोकेर वेटर, स्ट्रे सहित । मुस्कानसहित टक्राएर गयो । मुस्कानको प्रतिउत्तर दिएँ देखावटी मुस्कान जोडेर । उधारो राख्न मन पर्दैन मलाई । चुरोट सल्काएँ अनि निस्फिक्री उडाउन थालेँ । सिमसिम पानी परिरहेको छ । तपतप बलेनी चुहिरहेको छ । मौसम रोमान्टिक बनिरहेको छ । तर उ भने अझै आइपुगिन । २० मिनेट बितिसक्यो, अहँ! उसकाे अत्तोपत्तो छैन, कफी पनि आइपुग्यो । वाफ उडेको हेर्छु । यो चिसो चिसो मौसममा तातो कफी र चुरोटको न्यानो धुवाँले मन मुटु न्यानो बनाइरहेको छ । चुरोटको धुँवामा तितो कफिले निभाउन थालेँ अत्मिक तृप्ति ।
तितोपनाभित्रको मिठास खोज्दै उसकै बाटो हेरिरहेँ । अहँ ! अझै आइपुगिन । २ खिल्ली चुरोटको आधा धुवाँ फोक्सोमा भरिसकेँ । आधा आकाशमै उडाइसकेँ । घरि यता घरि उता हेर्छन् आँखाहरू । सेता फूलहरू पानीमा भिजेको देख्दा कविता कोर्न मन लाग्यो । माथिबाट तल झुन्डिएका लतिकाहरूबाट तपतप खसेका पानीका बुँदहरू . आहा ! कति सुन्दर लाग्ने । मनमोहक छ दृश्य । त्यही दृश्य हेरेर आफैँलाई सान्त्वना दिँदै मन बुझाउँदै थिएँ । फूलहरू, पानीका थोपाहरूसँग रमाउन कोसिस गर्दैगर्दा । हस्याङ्गफस्याङ गर्दै ऊ आइ मेरो अगाडि, म झस्केँ । डराएँ कि लजाएँ अहँ थाहा छैन । तर ऊ मभन्दा झन् धेरै लजाएकी हो कि डराएकी हो उसकाे अनुहारमा प्रष्ट देखिन्थ्यो ।
मुसुक्क मुस्कान छोड्दै दुवै हात जोडेर नमस्ते गरी । हात जोडेरै फर्काएँ मैले पनि । सेतो कुर्तासुरुवालमा सेतो गुलाफ जस्ती देखिन्थी ऊ । आधा सलले छाती छोपेकी आधा सलले आधा टाउको छोपेकी । बस्ने इसारा गरेँ हातले । सल मिलाउँदै मेरो अगाडिको कुर्सीमा बसी । आधा भिजेकी नजिकै गमलामा भिजेको सेतो गुलाफ जस्तै देखिन्थी ऊ । हावाले बोकेर ल्याउने सुगन्धमा पनि फूलको जस्तै अनौठो सुगन्ध बगिरहेको थियो तर त्यो क्षण फुल सम्झिएर खेर फाल्न चाहन्थेन म ।
उसलाई नै एक ट्कले हेरिरहेका थिए मेरा आँखाहरू । लाम्चाे अनुहार, आँखामा गाजलको पुल बनेको, मिलेका आँखी भाै, झपक्क परेका परेला, गुलाफी ओठ, निकै नै राम्री लाग्थ्यो, मानाैँ भर्खर स्वर्गबाट झरेकी अप्सरा हो, कुनै नयाँ उपन्यास कि अद्भूत पात्र जस्ती लाग्यो मलाई ऊ । संसारको उत्कृष्ट नशालु पदार्थ भन्दा मादक दिने खालका नशालु थिए उसका समुद्रको गहिराई भन्दा गहिरा लाग्ने आँखाहरू । लामो बिदामा बनाएको होला भगवानले सायद । मेरो कविताका सुन्दर हरफभन्दा सुन्दर थियाे उसकाे मुस्कान । शालिनता, गाम्भीर्यता अनि रूपरङ्ग । मेरो काल्पनिक दुनियाँकी प्रेमिका सायद यस्तै थिइन् होला मेरो सधै कल्पनामा आउने मेरो प्रेमिका तर उसलाई वास्तविक जीवनमा कहिल्यै ल्याउन खोजिन मैले । आज पहिलोचाेटि त्यसकै प्रतिरूप पाउँदै छु म यी आँखाहरूमा, मेरै अगाडि ।
संसारमा सुन्दरताको परिभाषा दिन यो जत्तिको गतिलो सायद अरू कुनै उदाहरण छैन होला । उसलाई प्रेमिका भन्न पनि मन लागेन । ऊ त मेरो पाठक थिई । म त टोलाइ रहेछु । उसलाई नै हेरर । उसले टेबल ठोक्दा पो झसङ्ग भएँ म । म त तर्से जस्तो पो भएँ । के बोलुम के बोलुम भयो । 'हेल्लो' भनेँ । हात हल्लाएर, इसाराले 'हाइ' भनी । उसकाे आवाज सुन्न उत्सुक थिए मेरा कानहरू । यति शालिन, यति सुन्दर मान्छेको अवाज कस्तो होला ? तर ऊ भने केही बोलेकी छैन । केही त बोल न, आफैँ बोल्न आग्रह गरेँ । अहँ! केही बोल्दिन अझै । खाली मुस्कुराउछे मात्र । मलाई भने उसकाे माैनताले सताइरहेको छ ।
वेटरलाई बोलाएँ, उसकाे लागि एउटा मिल्क कफी अर्डर गरेँ । अरू केही लिन्छौ तिमी ? ऊ अझै केही बोल्दिन । इसाराले त्यति भए पुग्छ भनी । टाउको र हात हल्लाइ मात्र । म अचम्म परेँ, झस्केँ । कतै यो बोल्न नसक्ने त होइन ? मन त्यसै त्यसै डरायो, अताल्लियो । शरीर थरथर काँपेजस्तो भयो । धत ! म पनि के के सोंच्छु, धेरै कल्पनामा डुब्ने भएर होला यति धेरै सोंचेको । के ऊ साँच्चै बोल्न सक्दिन त ?
'तिमी किन केही बोल्दिनौ ?' साहस बटुलेर सोधें । ऊ मुसुक्क मुस्कुराइ मात्र । मोबाइलको नोटमा केही लेखेजस्तो गरी । झुकेका नजरले मलाई हेर्दै मोबाइल देखाइ । 'म बोल्न सक्दिन ।' त्यो पढी नसक्दै म आकाशबाट खसे जस्तो भएँ । मेरो पैताला मुनिको धर्ती फाटे जस्तो भयो । मेरा आँखामा अँध्यारो छायो एक्कैछिनको लागि । अब मसँग बोल्ने कुनै शब्द छैनन् । मैले व्यक्त गर्ने कुनै भाव छैन । म यो समय एउटा निर्जीव मुर्ति जस्तो भएको छु । मेरो प्राण पनि मसँग छैन जस्तो भएको छ यतिबेला । मैले उसलाई व्यक्त गर्ने कुनै माध्यम छैन आफूसँग । म कुन अवस्थामा छु ? म आफैँले छुट्टाउन सकिरहेको छैन । यो के भैरहेको छ ? सपना हो कि विपना हो ? म कहाँ छु, कस्तो छु केही अत्तो पत्तो पाउन सकिरहेको छैन ।
वेटरले कफी ल्याइदियो । उसकाे आवाजले म एक्कासी सपनाबाट बिउँझे जस्तो भएर बिउँझिएँ । के बोलुम भयो, के नबोलु भयो अब । के भन्नुपर्थ्यो मैले उसलाई ? या केही नबोल्नु पर्थ्यो मैले ? म के प्रतिक्रिया दिउँ अब ? अनगिन्ती प्रश्नहरू बाहेक अरू केही भएन मसँग यो समय । सरि ! मलाई माफ गर मात्र भन्न सकेँ । उसले प्रतिउत्तरमा केही छैन भन्ने भाव सहित मुसुक्क मुस्कुराइ । तर आँखामा समुद्र थियो । मसँग डुब्न सक्ने सामर्थ्य थिएन तर त्यसको गहिराइ अनुमान गर्न सक्थेँ ।
के कुरा गरुम या केही नगरुम अन्यौलतामा उल्झिएको छु म ।
अरोमा, अति मिठो छ तिम्रो नाम भनेँ । इसारा र भावमै धन्यवाद भनी । यसकाे अर्थ के हो थाह छ तिमीलाई ? नजिकै गमलामा मुस्कुराइरहेको गुलाफको फूल देखाउँदै टेबलमा पानीको थोपाले 'सुगन्ध' लेखी । आहा ! कति सुन्दर, कति मीठो । जस्तो सुन्दरता उस्तै सुगन्धित अर्थ भनेँ । लेखेर नसक्दै मेरो दिमागबाट उसकाे कल्पना उडे जस्तै पानीको मसीले लेखिएको उसकाे नाम पनि उड्यो टेबलबाट ।
मेरो किताबमा साइन गरेर दिएँ । 'प्रिय पाठक अरोमालाई सप्रेम भेट' लेखेर । मुस्कुराउँदै धन्यवाद भनी । कफी पियौँ दुबैले । सोध्ने शब्द थिएनन् मसँग या सोध्न जरुरी ठानिन् मैले थाहा छैन । तर नसोधेका भावहरू, शब्दहरू र उसका मौन कथाका हरफहरू आफैँ बोल्थे उसका ओठहरू र उसकाे मुहारको शालिनताले ।
तीतो कफीको अन्तिम घुट्की सँगै पिएँ । उसकाे वास्तविक जीवनको तीतो सत्य पनि । उसकाे फूल जस्तो अनुहारमा खुलेको क्षणिक खुसी पनि हेरिरहन मन लाग्यो । हेरिरहेँ निशब्दतामै धेरै बेर । तीतो कफीजस्तै मीठो दाग छोडेर हिँडी ऊ आफ्नै मौन संसारको मौन बाटो भएर । म भने उसलाई कफीको तितोपनाभित्रको मिठास जस्तै मनको कुनामा बोकेर, चुरोटको चिहानबाट उसकाे चित्राकृति बनाउँदै आफ्नै काल्पनिक दुनियाँतिर लागेँ..... ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...