विसं २०२८ मा जन्मेकी जनताकी कवि निभा शाह सशक्त प्रगतिवादी हस्ताक्षर हुन् । शाहका  ‘मनसरा’, ‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ कवितासंग्रहहरू प्रकाशित छन् । 

तल–तल तहखाना बनायो
वेश्यालय चलायो
माथि-माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश
क्या गजब भो देश
मुलुकको मुखिया पनि आफैँ
वेश्यालयको दलाल पनि आफैँ
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश।

तल–तल तहखाना बनायो
रामनामी चलायो
माथि-माथि हँसिया(हथौडा बनायो
मार्क्सवाद चलायो
क्या गजबको देश
क्या गजब भो देश
रामको हनुमान पनि आफैँ
मार्क्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश

तल-तल तहखाना बनायो
लेन्डुपवाद चलायो
माथि-माथि भीमसेनको मृर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश
क्या गजब भो देश
लेन्डुप पनि आफैँ
भीमसेन पनि आफैँ
भीमसेन र लेन्डुपको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश

तल-तल तहखाना बनायो
पुँजीवाद चलायो
माथि-माथि हँसिया-हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश
क्या गजब भो देश
सर्वहाराको मार्क्स पनि आफैँ
पुँजीवादको मार्सल पनि आफैँ
मार्क्स र मार्सलको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश

गानधारीको पट्टी खुल्ने
एक दिन होला देश।

(शाहको कवितासङ्ग्रह ‘मनसरा’ बाट साभार)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

निभा शाह

लेखकबाट थप...