झ्याप्प आँखा खुल्यो । आँखा खुल्दा घाम झ्याबाट कोठासम्मै पसिसकेको थियो । गाउँका घरमा अगेना नजिकै हुन्छ । अगेनाको तापमा मान्छेहरू ताप लिन्छन् र छेउमै निदाउँछन् न्यानो निद्रा । निद्रा खुल्दा त्यही अगेनाबाट मधुर धुवाँसहितको तातो कोठाभरि फैलिएको थियो ।
त्यो दिन अँगेना नजिकै थालमा मकै र भट्ट भुटेर राखिएको थियो । कोर्कामा आलु थियो – उसिनिएको । अँगेनामा ठूलो मुढा जोडेको हुनाले राप अझै दिइरहेकै थियो । बहिनी उठेकै थिइन, निदाएकै थिई । कैलोमैलो परिसकेको फ्रकमा खाजा राखें । आलु टिपेँ र आँखा मिच्दै लागेँ मैरा (बार्दली) तिर । एकछिनमा बैनी पनि उठिछ । सर्याकसुरुक गर्दै मेरो छेउमा आई ।
०००
घरमा कोही थिएनन् । गाउँमा अभावले घाँटी नाप्न थालेपछि केही महिनाअघिमात्रै बाबाले निधो गर्नुभएको थियो, ‘अब म विदेश जान्छु ।’ बाबा खाडीका लागि भिसा ‘हान्न’ मधेश झर्नुभएको थियो । रोल्पालीका लागि टाढाको मधेश भन्नु नै त्यही दाङ त हो । बाजे पनि घरमा हुनुहुन्थेन । उहाँ कालापार (भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिमला)मा हुनुहुन्थ्यो । गाउँमा घर रुँगेर बसेका हामी केवल ३ जना थियौं – बैनी, आबै (आमा) र म । भाइ आमाकोपेटमा ३ महिनाको हुँर्किदो अवस्थामा थियो ।
आमाको एउटा निश्चित दैनिकी थियो – बिहान ३ बजे उठ्नु, चाँखी (जाँतो)मा पिठो पिस्नु, मकै र भट्ट मिश्रित खाजा भुट्नु, आलु उसिन्नु, तयार पारेका सबै खाजा एउटा ठूलो रेशमी रुमालमा पोको पार्नु र झिसमिसेमै लाग्नु टाढाको जंगलमा मेलापात गर्न । बहिनी र म सानै थियौं । हामीलाई बिहानै मेलापात गर्न जंगल जानु पर्थेन । आबैलाई हामीलाई अँगेनाको तातामै न्यानो पारेर छोडिदिनुहुन्थ्यो । त्यहाँ सधैं झैं एउटा ठूलो मुढो टिलपिल टिल्पिलाइरहेको हुन्थ्यो र हामी २ बैनी त्यही टिलपिलमा न्यानो खोज्थ्यौं । गाउँका आमाहरूको हातमा घडी हुँदैन थियो । रातमा चन्द्रमा, बिहानमा भाले र दिउँसो घामको रफ्तार नै अत्याधुनिक घडीको काम गर्दथ्यो । आबै त्यही ८/९ बजेको आसपासमा जंगलबाट घर फर्किनुहुन्थ्यो । दिनभरिको कामको थकानले विश्राम लिने बेला मधुर टुकी धिपधिप गर्दथ्यो सिरानमा ।
२०५३ फागुन ११
त्यो दिन अझै याद छ मलाई । आबै सदाझैं बिहानै स्याउलापात गर्न जंगल छिर्नुभएको थियो । जंगलबाट फर्किनु भयो । खाना खायौं । आबै आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । बैनी र म बाहिर खेल्न निस्कियौँ । छिमेकमा एक नाता पर्ने बाजे हुनुहुन्थ्यो । प्राय हामी उहाँकै वरिपरि खेलिरहेका हुन्थ्यौं । बाजे कहिले कथा सुनाउनुहहन्थ्यो कहिले गीत सुनाउनुहुन्थ्यो । बालापनमा त्यो भन्दा अर्थाक सुन्दर क्षण कुन हुन सक्ला र ? ती बाजे कस्ता थिए भन्ने अहिले सम्झनामा छैन । तर, उनले सुनाएका केही कथाका कथांश बाँकी छन् ।
त्यो दिन पनि हामी ती बुढो बाजेकै वरिपरि थियौँ । पारिलो घाममा बसेर बाजे हामीलाई कथा सुनाइरहनु भएको थियो । करिब मध्यान्हको समय हुनुपर्छ – एक हुल तत्कालीन शाही सेनाको जत्था गाउँमा पस्यो । हातमा बन्दुक र लामोलामो दाह्री जुंगा मुसार्दै बुढो बाजेलाई नेपाली भाषामा खै के सोधे । बाजेलाई केरकार पारेपछि बैनी र ममाथि उनीहरूको आँखा सोझियो । के के प्रश्न गरे । आँखा तरे । रिसाए । तर, हामी अमूक बसिरह्यौँ । सायद त्यतिबेला हामीलाई नेपाली भाषा आउँदो हो त जान्दो हुँ, ‘आखिर के चैं सोधेछन्, त्यसरी ?’
बन्दुक बोकेका सेनाको जवाफ फर्काउन नजानेपछि उनीहरू हामीलाई समाउन आए । तर, डरले गर्दा बेसरी रुन थालेपछि भने छोडिदिए । त्यो दिनभरि बुढो बाजेको हात छोड्दै छोडेनौँ । प्रहरी कहिले तल कहिले माथि गरिरहेकै थिए ।
साँझ पर्न थालेपछि उनीहरू खै के हतारले हो त्यहाँबाट आफ्नो बाटो तताए । उनीहरू गइसकेपछि पनि हामीमा डर अझै ज्यूँदो थियो । बाजेले ‘घर जाऊ’ भनेपछि पनि लगलग कामेका खुट्टा लिएरमात्रै कोठामा छिर्यौँ । तर, कोठाको अवस्था झनै डरलाग्दो थियो । घरभित्रको जुन दृश्य थियो त्यो दृश्यले म झन् आत्तिएँ । झ्याल ढोका सबै खुल्लै थिए । धन्सारभरिको अन्न भूइँभरी रेल्लिएको थियो । बाकस र आल्मारीमा राखिएका लुगा सामानहरू छरपस्ट छरिएको थियो । गाग्री, जर्किनका पानी सबै पोखिएको थियो । अँध्यारो भइसकेको थियो । अत्तालिएर चिच्याएछु, ‘आबै !’
०००
आमा त्यहाँ हुनुहुन्छ भन्ने थाहा थिएन । तर, मेरो चिच्याइले आमाले बिस्तारै प्रत्युत्तर दिनुभयो – ‘है !’ मुटु एक्कासी चिसो भयो । आमाको नजिक गएँ । आमाले लामो सुस्केरा तान्दै बल्लबल्ल भन्नु भयो, ‘पा....नी......पानी ले मलाई ।’ आमा घोप्टो परेर रुँदै हुनुहुन्थ्यो ।
आबैको कपाल लुछिएको थियो । कपडा च्यातिएका थिए । आबैको त्यो देखेर मेरा हातखुट्टा लगलगी काँप्न थाले । घन्टौं हिँडेर टाढाबाट बोकिल्याएको पानी पनि सेनाको जत्थाले सबै घोप्ट्याइसकेछन् । परको कुनामा एउटा सानो जर्किनमा थोरै पानी रहेछ । त्यही पानी खुवाएँ । सुकेको घाँटीमा पानीको चिस्यानले भिज्दै गएपछि बल्ल उहाँको श्वर बाहिर
निस्किन थाल्यो । सबैभन्दा कठिन क्षण आमाको आँखामा आशु देख्नु हो रहेछ भन्ने त्यतिबेलै अनुभूत गरेकी थिएँ ।
‘मलाई छोडेर कहाँ गाको तिमीहरू ?’ आमा लामो श्वास तान्दै बोल्न थाल्नुभयो, ‘मलाई उनीहरूले बेस्सरी कुटेर गए । तिमीहरू भएको भए पुलिसले कुट्ने थिएन कि !’ रुँदै बुढो बाजेलाई बोलाउन भनेपछि कुदेरै म बाजेलाई बोलाउन गएँ ।
बाजे पनि एकछिन त्यो परिवेशलाई हेरेर निशब्द हुनुभयो । केही समयपछि मात्रै उहाँको बोली फुट्यो, ‘जा ओछ्यान मिलाएर आमालाई सुता ।’ जब आमाको ओछ्यान मिलाएर मैले उठाउन खोजें, त्यसपछि झनै सबै चकित पर्यौं । उनीहरूले त आमालाई उठ्नै नसक्ने गरी पो कुटेका रहेछन् !
०००
देशमा जनयुद्ध भर्खरै उकालो लाग्दै थियो । गाउँमा तत्कालीन विद्रोही पक्ष माओवादी र सरकार पक्ष आउने जाने क्रम बढिरहेको थियो । बाजेले कालापारबाट ल्याएको ठूलो रेडियो सेटमा रेडियो नेपाल टिप्थ्यो । त्यसैमा माओवादी गतिविधि सुन्थ्यौँ ।
शाही सेनाबाट निर्घात कुटिनु भएकी आबै अचेत अवस्थामा हाँहाँहूँहूँ गर्न थालिसक्नु भएको थियो । उहाँको गह्रौ शरीरलाई बैनी र मेरा साना बलले उठाउन सक्ने कुरै थिएन । केही समयपछि छिमेकीको जमघटले बल्ल उहाँलाई ओछ्यानमा लैजान सक्यौँ ।
‘उनीहरूले किन कुटेको ?’ केही बेरको आरामपछि बुढो बाजेले सकसपूर्ण आवाजमा सोध्नु भएको थियो । लागेको थियो, ‘गाउँले आमा नेपाली भाषा नबुझेर कुनै उल्टो सुल्टो पो बोल्नु भयो कि या कुनै शब्दै पो बोल्नु भएन कि !’ तर, उत्तर त्यो थिएन । सोचभन्दा बिल्कुल फरक थियो ।
‘उनीहरूले मलाई माउवादी भनेर कुटे,’ आबै बिस्तारै बोल्नु भयो । रेडियोमामात्रै सुनेको माओबादीको नाममा आफ्नै आमा कुटिनु भएको त्यो दृश्य अझै पनि रातरातभर तर्साउँछ ।‘उनीहरूले मलाई माओवादी होस् भनेर सोधे । मैले होइन भन्दा पनि मानेनन् । झूठ बोल्छस् भन्दै राइफलले खुट्टाखुट्टामामा हानिदिए,’ आफ्ना सुन्निएका खुट्टा देखाउँदै रुन थाल्नुभयो, ‘उनीहरूले माओवादी कहाँ लुकाको छेस्, देखा नत्र जिउँदै जलाउँछौं पनि भने । नचिनेको माउवादी काँबाट देखाउने ?’
०००
बाहिर बाजेसँग खेलिरहेका हामीलाई हप्काइदप्काइ गरिसकेपछि शाही सेनाको टोली हाम्रो घरमा छिरेको रहेछ । कोठाको पश्चिमतिर भएको पुरानो आल्मारी खोतल्दा कुनै अञ्जान व्यक्तिको फोटो र टर्चलाइट भेटाएछन् । त्यसपछि उनीहरूलाई के चाहियो र ? आफ्नै दैनिकीमा मस्त रहेकी आबैमाथि जाइलागेछन् ।
आल्मारीमा अँध्यारोमा बाल्ने २ वटा टर्चलाइट थियो । शाही सेनाले शुरूआत नै त्यसबाट गरेछन्, ‘यो टर्चलाइट कसकाे हो ? के कामले यहाँ राखेको ?’ आबैलाई भन्न मन हुँदो हो –‘अँध्यारोभित्र उज्यालो खोज्न त टर्च बालिन्छ । रातमा पनि त उज्याले दिन जुन उदाउँछ । तिमीहरूलाई यत्ति पनि थाहा छैन ? कि गाउँलाई उज्यालो खोज्न पनि अधिकार छैन ?’
तर, आबैले केही भनिन् । न उनी राम्रोसँग नेपाली बोल्न जान्दथिन् । न त अपरिचत आएका ती शाही सेनासँगै टाडो बोल्ने ल्याकत राख्दथिन् । उनी चुपचाप थिइन्, मौन थिइन् । ‘बोल्दैनेस् अझ ? तँ माओवादी होइनस् भने यी सामान कस्का हुन् ?’ उनीहरूकै झुन्डमध्ये एउटा बोली नसक्दै गह्रौं बुटले आबैको तिघ्रातिघ्रामा लात्ताले भकुर्न थाल्यो ।
टर्च लाइट र एउटा फोटो पछि उनीहरू अरू सामानको खोजीमा लागे । त्यहीबेला पोखाएछन्, धन्सारका धान । जर्किनका पानी । दिनौँ हिँडेर सुलिचौर बजारबाट बोकिल्याएका नुनतेल । ‘अरु सामान कता लुकाएकी छेस् निकाल ....’अपशब्द बोल्दै आबैको कपाल लुछ्दै कहिले यो कुना पु¥याएका रहेछन् त कहिले अर्को कुना ।
दिनभरि कुट्दा आबै बेहोस हुनु भएछ । तर, पानी छम्किँदै होस्मा ल्याउँदै केरकार पार्न भने छोडेनछन् । मुखमा बगिरहेको रगत पुछ्दै हामी तिर नजरर तेस्र्यार भन्नुभएथ्यो, ‘त्यसरी पिटाइखाँदा त तिमीहरू कोठामा आइदिए पनि मलाई कुट्न छाड्थे कि भन्ने लाग्यो ।’ साँच्चै त्यो समय आमाको मुखबाट त्यो दुखको शब्द सुन्नु कति दर्दनाक थियो । उहाँलाई एकछिन् त लागेछ, ‘छोरीहरूको मुख नहेरेरै मलाई मार्ने भए ।’
आमाको गला अवरुद्ध भएको थियो । घटना सुनाइसक्दा उहाँको मात्रै होइन वरिपरि बसेका सबै छिमेकीका आँखा रसाएको प्रष्ट देख्न सक्थें । आमाको अनुहारभरि दामैदाम, शरीरैभरि हेर्न नसकिने राइफलले डामेका डाम थियो । कुनै ठूलै अपराध गर्दा दिइएको सजाय भन्दा कम थिएन आमाको अवस्था त्यो दिन ।
साँझ प¥यो । साँझ परेपनि फेरि उनीहरू आउँदैनन् भन्ने कुनै ग्यारेन्टी थिएन । डरले मनभित्र डेरा जमाइसकेको थियो । त्यही दिन करिब मध्यरातको समय हुँदो हो । ढोका कसैले ढक्ढक्यायो ।
‘ढोका खोल् !’ बाहिरबाट चर्को श्वरसहित ढोकामाथि केही चिज प्रहार भइरहेको थियो भन्ने अनुभव भइरहेकै थियो । दिउँसोको कुटाइले आमा उठ्न सक्ने अवस्थामा हुनुहुन्थेन । पछि हामी कोही ढोका खोल्न नगएपछि उनीहरूले ढोका खोले फेरि उनै शाही सेना फर्किएर आएका रहेछन् ।
फेरि दोस्रो पटक कोठाको खानतलासी लिए । त्यो समय बाल मस्तिष्कमा डरको आकार कत्रो बस्यो होला ? सायदैले अनुमान लगाउन सक्लान् । केही नभेटेपछि मुमुर्रिंदै त्यहाँबाट बाहिरिए । तर, यसपटक भने उनीहरूले केही गरेनन् ।
०००
शाही सेनाको कुटाइले आबै थला पर्नु भएको थियो । बैनी सानै थिई । घरको कामकाज मेरो जिम्मामा आएको थियो । आगो बाल्नै सक्दिनँ थिएँ । धुवाँ कोठाभरि फैलिएर त्यसले झनै आक्रान्त बनाउँथ्यो । कुनै उपाय नभएपछि आबै आफैंले सजिलो उपाय सिकाउनु भएको थियो – ‘मट्टितेल हालेर आगो बाल्ने ।’
तत्कालीन विद्रोही पक्ष माओवादी र सरकार पक्षबीच युद्ध चर्किंदै गएपछि गाउँमा पुरुषको अनुहार देखिनै छाड्यो । हामी केटाकेटी र आइमाईमात्रै हुन थाल्यौं । केटाहरू भटाभट कालापार, विदेश या माओवादीमै जान थाले । अधिकांश मधेश झरे । घरका वस्तुभाउ भोकै हुन थालेपछि थला परेकी आबे सकीनसकी जंगल घाँसपात गर्न जान थाल्नु भयो । अचेल लाग्छ – आमाले आफ्नै हिम्मतले जबर्जस्ती शरीरको पीडा बिर्सेर कसरी काम उठाउनु भएथ्यो होला त्यो जिम्मेवारीको भारी ?
०००
घटना घटेको अहिले २ दशक भइसकेको छ । तर, त्यो दुखद भोगाइको पराकम्पन अझै ताजा छ । अचेल आमा गह्रौं काम गर्न सक्नुहुन्न । धेरै हिँड्यो कि उहाँमा घाउ बल्झिन शुरू गरिहाल्छ । तत्कालीन समयमा शाही सेनाले कुटेको ढाड, कम्मर, पाखुरा दुख्न थाल्छ । खासमा त्यो टर्चलाइट काकाको थियो । त्यहाँ रहेको फोटो पनि काकाले नै राख्नु भएको रहेछ । उहाँहरू त्यतिबेला तत्कालीन माओवादी पक्षधरमा लागेर गाउँलेका लागि शंकास्पद व्यक्तिमा पर्नुहुन्थ्यो भन्ने धेरैपछि थाहा पायौं । अचेल लाग्छ – सिआइडीले घर त चिनायो । तर, मान्छे चिनाएन ।
त्यो दिन उनीहरूले मेरी आमालाई ‘यो माओवादी होइन’ भनेरमात्रै चिनाइदिएको भए, उहाँले जिन्दगीभर यो पीडा सहेर बस्नुपर्दैन थियो होला । यसरी मैरा नजरमा पनि जिन्दगीभर सत्ता सधैं अपराधी हुँदैन थियो होला !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...