इटहरीलाई कर्मक्षेत्र बनाएका कुशल रङ्गकर्मी हुन् प्रज्वल पराजुली । सरल बिम्बबाट असाधारण कविता लेख्न सक्ने कोमल कवि पराजुलीका तीन कविता यहाँ प्रस्तुत गरेका छाैँः
१. परदेश पठाएर छोरो
एउटा बिहानी परदेश पठाएर,
साँझ, घर आइपुगेको छ ।
आफ्नो चन्द्रमा आकाशतिरै गएपछि,
लपक्कै औंसी पोतेर अनुहारमा
हारेको युद्ध सिपाही झैं,
डङ्रङ्ग लडेको छ ओछ्यानमा ।
इन्द्रेणी आँखा,
ढपक्कै ढाकेको छ बादलले ।
सपनाहरू पनि त,
आँखै अघिल्तिरबाट फुत्त निस्किएर
साहुको आँगन छेउबाट,
उसैलाई जिस्क्याइ रहेछन् ।
आफ्नै अनुहारको ओज जसरी
खुम्चिएर,
मैलिएर,
वर्षौंवर्षसम्म पनि
बाँचिरहेछ एउटा युग,
बाँचिरहनेछ एउटा युग,
उसकाे छातीभित्र ।
मनको बजन कति हुन्छ
उस्लाई थाहा छैन,
तर
भारी मानेको छ आज ।
२. जीवन
प्रत्येक बिहान,
खबरै नगरी
मेरो सिरान मै आइपुग्छ एउटा घाम
र,
बिना सोधपुछ,
बिना अनुमति,
मसँग मेरै जीवन लिएर जान्छ !
३. मृत्यु
जसरी,
नाबालक घामको आत्मिक स्पर्शमा,
आफैँ समाहित हुन
शीत,
अध्याँरोसँग रातभर सिँगौरी खेल्छ ।
ठीक !
त्यसै गरी समयसँग,
जुँधिरहेछ एउटा जीवन,
तिमी मै समाहित हुन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...