पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।
‘है ........ए, है .........ए,
छन्छन्लो, छन्छन्लो
आरी खर्बा फुरुरु छन्छन्लो
खर्बाक लाक्पा फुरुरु छन्छन्लो
छन्छन्लो, छन्छन्लो ।।’
लयमा कोःक्माहिम् देवारीले चाम्ब्रिक्पुङ्गेको घरमा सालबसाल नेवाङ्गीका देउदेउताहरूलाई बुझाउँथे, नयाँ धानको र कोदोको बालाहरू राखेर । फसल पाकेपछि तँछाडमछाड भएपनि चाम्ब्रिक्पुङ्गेको घर पहिलो रोजाइ हुन्थे । चाम्ब्रिक्पुङ्गे र कोक्माहिम् देवारी नजिकका छिमेकी थिए ।
चाम्ब्रिक्पुङ्गेको ए्रक्लो छोरा जवान पुग्दैजाँदा घाँटिमा अलिक सुन्निए जस्तो देखिए । जोखना हेराए, थालमा अक्षता राखेर र खुट्यो पनि । ‘आक्कोहो, योता उभोलुङ् तेउले फेटेछ । एस्को हेनेमेने कर्नु’ भने । भाले र एकजोर परेवाले उभोलुङ्को हेनेमेने गरे । घाँटी निको भएन ।
‘चाम्ब्रिक्पुङ्गेले नेवाङ्गी नगरी नयाँ धान खाएकाले उनको छोराकोमा गाँड आयो ।’ गाइँगुइँ हल्ला सुन्नासाथ चाम्ब्रिक्पुङ्गे रिसाएर कोःक्माहिम् देवारीलाई बेस्सरी भक्कुर्याए ।
देवारीले आगेसुब्बाकोमा मौखिक उजुर गरे र तुरुन्त प्यादाहरू पठाई चाम्ब्रिक्पुङ्गेलाई झिकाए र कछाड बसाए ।
’त्यो ज्याँठा कोःक्माहिम्, नेवाङ्गी बिगार्दै छोराकोमा गाँड आउने बनाउने ? ज्याँ...ठो कुटिदिएँ’ कड्किए चाम्ब्रिक्पुङ्गे ।
‘हना मुइले कासोरी नेवाङ्गी पिगारेङ् हाउ, चाम्ब्रिक्पुङ्गे । एसोरी आन्जानवश आएर मुलाई चात्तासुक्कै फेङ्किफेङ् गुट्ने ?’ देवारी अलिक साम्यले बोले ।
‘गाउभरी हल्ला छ, ज्याँ ...ठा’ औंला ठड्याएर चाम्ब्रिक्पुङ्गे उफ्रे ।
‘हाउ हाल्ला फएपिनि पिगारेको मुइले हैना, तेउताले ह । चाँठा, तेरो छोराकोमा आभ्नेक् काँड आयो । आबो के कार्छस् । मुलाई ओखति कार्’ आयाया भन्दै आगेसुब्बाको छेउमा बसे ।
‘हेर् कोःक्माहिम्, मेरैमा पैले नेवाङ्गी गर्ने, एकाबिहानै पूजा बिगारेर मेरो छोराकोमा गाँड झुण्ड्याउने ? मेरो छोरा जिम्मा लिहै ज्याँठा । म मान्दिन ।’ अलिक नरम भो चाम्ब्रिक्पुङ्गे । आगेसुब्बाले यत्ताउत्ता गरेर कारबारी, बुढ्यौली र तुम्म्याहाङ्हरूको सहाराले फैसला गरे ।
‘कोःक्माहिम् देवारीले नेवाङ्गी अर्पण नजानेकाले बक्साउनी मोहर २ र चाम्ब्रिक्पुङ्गेलाई अन्न डालो ६ दण्ड भर्नुपर्ने र चाम्ब्रिक्पुङ्गेले एक्कासी गएर रगतपक्षे हुनेगरी पिटेकाले कोःक्माहिम् देवारीलाई शिर उठाउनी एकपाथी चामल, एकचौंठो रक्सी र एउटाभाले अनि ओखतीमुलोको लागि मोहर ४ दण्ड दिनुपर्ने ।’ र मेलमिलाप भए । चाम्ब्रिक्पुङ्गेको छोरा धाननाच्न दिनमा नगई रातमा मात्र फेटा बेरेर जान्थे ।
एकदिन स्वास्थ्य चौकीले गलगाँड लगत संकलन गर्दा चाम्ब्रिक्पुङ्गे पनि पर्यो र स्वास्थ्य चाैकी गए । डाक्टरले गाँडबारे बुझाए । गाँड आयोडिन कमीले निस्कने, रोडे नूनमा आयोडिन नहुने र दोष नेवाङ्गीमा होइन थाहा पाए । आत्मग्लानी भएछ चाम्ब्रिक्पुङ्गे, चौरको छेउमा गए र भत्भत्याए ।
‘थुक्का, केना केपो कोःक्माहिम् देवारीलाई कुटेछु, ज्याँ...... ठा ।’
प्याच्च भुइँमा थुकेर घर हिँडे ।
(युक्ना साहित्यबाट)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...